काठमाडौं – कुनै पनि जीवको कोष निश्चित अवधिसम्म जीवित रहन्छ र समयको अन्तरालमा त्यसको मृत्यु हुन्छ । त्यसैले मानिस लगायत अन्य जुनसुकै जीव तथा वनस्पतिहरु निश्चित समयपछि मर्ने गर्छन् । कुनै पनि जीव वा वनस्पति मृत्युसँग कुहिने प्रक्रियाको सुरुवात हुन जान्छ । विज्ञानको भाषामा कुनै पनि जीवित प्राणीको कोष तथा तन्तुहरुमा रहेका जटिल पदार्थहरु टुक्रिएर सरल पदार्थहरु बन्ने प्रक्रियालाई “कुहिनु” भनिन्छ । प्रायः जसो जीवजन्तु तथा मानिसको शरीरको कुनै पनि अङ्ग शरीरबाट अलग्याउँदा त्यस अङ्गमा रहेका कोषहरु मर्छन् । तर फलफुल तथा सागसब्जीहरुलाई बोटबाट टिपिसकेपछि पनि केहि दिनसम्म तिनका कोषहरु जीवितै हुन्छन् । यस्ता जीवित कोषहरुले जैविक क्रियाकलाप कायम राख्नको लागि कोषमा सञ्चित खानेकुराहरुलाई खाने गर्छन् । 

यसरी जीवित कोषहरुले जैविक प्रणालीलाई निरन्तरता दिने क्रमसँगै टिपिसकेका फलफुलहरु पनि पाक्ने गर्छन् । यसरी पाकेका फलफुलहरुमा इथाइलिन नामक ग्याँस उत्पन्न हुन्छ र यही ग्याँसले फलफुलका कोषहरुलार्ई मार्न र कुहाउन थाल्छ । कोष मरेपछि त्यस कोषभित्र रहेका विभिन्न जैविक रसायन तथा इन्जाइमहरुले सबैभन्दा पहिले कुहाउने प्रक्रिया सुरु गर्छमन् । यस्ता रसायनले टुक्रयएका पदार्थहरुलाई पुनः व्याक्टेरियाहरुले टुक्रयाउने काम गर्छन् । यसरी जटील पदार्थहरु सरल पदार्थमा टुक्रिने क्रममा, एमोनिया, हाइड्रोजन सल्फाइड जस्ता ग्याँसहरु  निस्कन थाल्छन्, जसको कारण कुहिएका वस्तुहरुम गन्हाउन थाल्दछन् ।