सुनिल अर्याल,

नेपालको पशुपालन क्षेत्रमा बाख्रापालनको स्थान महत्वपूर्ण रहेको छ । नेपालमा मुख्य स्पमा मासु मल, पश्मिना, बाख्रापालन आदिका लागि बाख्रापालन पालिने गरिन्छ । यसको साथै हिमाली क्षेत्रमा मालसामान ढुवानी कार्यमा समेत संलग्न गराईन्छ । त्यस्तै बाख्राको छाला, रौं र हाडबाट विभिन्न किसिमका सामानहरु बनाउने गरेको पाईन्छ । यस बाहेक बाख्राको दुध दैनिक प्रयोगमा प्रचलित नभए तापनि रोगी तथा बालबालिकाहरुलाई विभिन्न रोग लाग्दा सेवन गराउने चलन छ । हाल नेपाल चित्लांगमा बाख्राको दुधबाट चिज बनाएर बिक्री वितरण गरिएको छ । यस्तै भिरकोट नपा वडा नं. ८ ओकादी स्याङजामा बाख्राको दुधबाट साबुन तथा चिज बनाउने तयारी भएको छ । त्यैसेले पनि बाख्रालाई बहुउद्देश्यीय जनावर भन्नमा दुईमत नहोला । 

नेपालमा हालको बाख्राको अवस्था कस्तो छ ?

पशु सेवा विभागको जानकारी अनुसार नेपालका पशु चौपायाको कुन संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात् १ करोड ८४ लाख रहेको छ । संसारमा जम्मा ३५१ प्रकारका बाख्राका प्रजाती पाइन्छन् । ति बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रकारका बाख्राका प्रजाती पाइन्छन् भने नेपालमा च्याङ्ग्रा, सिन्हाल, खरी, तराई गरी ४ प्रजातिका रैथाने बाख्रा रहेका छन् । नेपालमा विगत केही बर्षदेखि व्यावसायिक रुपमा बोयर जातको बाख्रालाई अभियानकै रुपमा पाल्ने गरीएको छ । यो जातको बाख्राबाट बढी फाइदा हुने भएकोले व्यावसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । विश्वको कुल बाख्राको संख्याको करीब ९२.छ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइन्छन् विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ । पहिलो स्थानमा चीन, दोश्रोमा भारत पर्दछन् । नेपाल सरकारको व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको आव २०७४÷७५ को तथ्याङक अनुुसार नेपालमा त्यस आव मा मात्र भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्यान्ड, जर्मनी लगायतका देशबाट करिब ५ अर्ब बराबरको जिवित बाख्रा र मासु आयात भएको छ । नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि परम्परागत पालन प्रणाली, बाख्रा विशेष दानाको अभाव, उन्नत घाँस खेती नहुनु आदि कारणले समस्या देखिन्छ । युवाहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्न नसक्नु, नश्ल सुधार हुन नसक्नु, मुल्य श्रृङखला विकास, उत्पादन विविधीकरण, दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौं । बाख्रापालन एउटा नबिन पेशाको रुपमा विकास भैरहेको छ । 

हालका केहि तथ्याङकहरु हेर्दा पछिल्लो १०÷१२ बर्षको अवस्था हेर्दा बाख्राको संख्यामा ३७ प्रतिशत भन्दा बढी बृद्धि भएको पाइन्छ । सन् २००७÷००८ मा बाख्राको सङख्या ८१,३५,८८० वटा थियो । हाल १,८७,६५,००९ वटा रहेका छन् । स्याङजा जिल्लामा मात्र २ लाख ३४ हजार ६५९ वटा बाख्रा रहेका छन् । देशव्यापी मासु उत्पादन तथा खपतको अवस्था हेर्दा बाख्राको मासुले राष्ट्रिय उत्पादनको १९ प्रतिशत भाग ओगटेको छ । हालसम्मको अवस्था हेर्दा धेरैजसो किसानहरुले परम्परागत हिसाबले नै बाख्रापालन गरेका देखिन्छ । व्यावसायिक किसानहरु बिस्तारै बाख्रापालनतिर आकर्षित भएको अवस्था छ । 

नेपालमा पाईने स्थानीय जातका बाख्राहरु

तराई बाख्रा

यो जातको बाख्रा प्रायः तराई क्षेत्रमा पालिन्छ । यो नेपालको तराई क्षेत्र ५०० देखी ५५० मिटरसम्म अर्थात ५५० मिटरभन्दा कम उचाई भएको क्षेत्रमा पाइने बाख्रा हो । यो जातको बाख्रा जमुनापारी भन्दासानो हुन्छ तर झट्ट हेर्दा जमुनपारी जस्तै देखिन्छ । विभिन्न किसिमको रंग कालो–खैरो, सेतो र कालोमा सेतो धर्का मिसिएको आदि रंगमा यि बाख्राहरु पाईन्छ । बाख्राको तौल तथा उत्पादन खरी बाख्रा जस्तै हुन्छ । बाख्राको तौल ३० देखि ३५ केजीसम्म हुन्छ । यि बाख्राले पनि जुम्ल्याहा पाठापाठी जन्माउछन् । त्यसैले भित्रि मधेस तथा तराईको लागी यो नै सबै भन्दा उत्तम बाख्रा हो । 

खरी बाख्रा

यो जातको बाख्रा करिब ३०० देखि १५०० मिटरसम्मको मध्य पहाडी भेगमा यो जातको बाख्रा पालीन्छ । यसलाई नेपाली पहाडी बाख्रा भनेर पनि चिनिन्छ । नेपालमा कुल बाख्रा सङख्याको ५७ प्रतिशत खरी बाख्रा छन् । सानो शरीरिक तौल फुर्तिलो शरीर भएका मुसेखरी भन्ने भुँइ घाँस मनपराएर खाने भएकोले यो जातलाई खरी भनिएको हो भन्ने पनि कथन छ । 
यो बाख्रा सानो कालो खैरो रङगको हुन्छ । बोकाको शरीरिक तौल २८ देखि ४ण् केजी सम्म हुन्छ । करिब ५७ प्रतिशत खरी बाख्राले जुम्ल्याहा जन्माउदछन् । राम्रो व्यवस्थापनमा पालेमा २ वर्षमा ३ पटक ब्याउन सक्ने र ब्याएका पाठापाठी ९० प्रतिशत सम्म हुर्काउने कुरा अनुसन्धानबाट थाहा हुन आएको छ । पहिलो पटक ७ महिनाको उमेरमा बाली जाने सरदर १२ देखि १४ महिनाको उमेरमा ब्याउछन् । उत्पादनको दृष्टिकोणले यो बाख्रा हाम्रो हावापानीमा सबै भन्दा उत्तम मानिन्छ । यो बाख्रा संसारको असल आमामा गनिन्छ । हाल हाडनाता प्रजननको समस्याले यो बाख्रा खिँइदै गएको पाइन्छ । नेपालमा भएको खरी बाख्रा मध्ये सबैभन्दा राम्रो सल्यान जिल्लामा पाउन सकिन्छ । 

सिन्हाल

यो बाख्रा नेपालको उच्च पहाड तथा पर्बतिय भागमा पाइन्छ । यो बाख्रा घुम्ती गोठ प्रणलीमा पालीन्छ । यो बाख्रा नेपालमा भएका कुल बाख्राको २५ प्रतिशत छ । यो बाख्रा बरुवाल तथा भ्याङलुङ जातका भेँडा सँगसँगै पालिने तथा घुम्ती गोठमा भेँडाको बथानको पथ पर्दशकको काम पनि गर्दछ । नेपाली बाख्रा मध्ये यो जातको बाख्रा छोटो टाउको, सिधा नाक, कालो, सेतो र खैरो रङ भएका हुन्छन् । बयस्क बोकाको औषत तौल ४२ केजी र बाख्रीको ३४ केजी हुन्छ । ठूलो खालको सिन्हाल बाख्रा ५० केजी तौल सम्मको हुन्छ । करिब २५ प्रतिशत बाख्राले मात्र जुम्ल्याहा पाठापाठी जन्माउछन् । 

च्याङग्रा

यो जातको बाख्रा राम्रो व्यवस्थापन गरी अनुसन्धान गरेर पस्मिनाको बारेमा थप अनुसन्धान आवश्यक छ । यो जात संसारको राम्रो पस्मिना उत्पादन गर्ने जातको बाख्रा हो । यो जातको बाख्रा हिमाल श्रृङखलाको पहाडी सुख्खा चिसो हावा चल्ने अर्ध मरुभुमी जस्तो ठण्डा ठाउँमा पाइन्छ । हिन्दुकुश पर्वतिय क्षेत्रको पछाडी पट्टीको भाग यो जातको बाख्राको प्रमुख पालन स्थान भएको हुनाले भारतको कश्मिर तथा चिनको तिब्बत क्षेत्रमा यो बाख्रा बढी सङख्यामा पालीन्छ । नेपालमा यो बाख्रा कुल बाख्रा सङख्याको १ प्रतिशत मात्रै छ । च्याङग्राको शरिर बाक्लो लामो रौंले झपक्क ढाकेको हुन्छ रौं को भित्र मसिनो रौंले झपक्क ढाकेको हुन्छ रौ को भित्र मसिनो रौ हुन्छ । जसलाई पश्मिना भनिन्छ । यो जातको बाख्रा सानो तर अली लामो टाउको चम्किलो आँखा, सिधा नाक, साँघुरो थुतुनो, गोलो घाँटी र कसीलो शरीर भएको हुन्छ । च्याङग्रा खास गरि काला सेता हुन्छन् टाउकोमा पनि कालो सेतो हुन्छ । बोका र बाख्रा दुवैको १७ देखि २८ सेमी सिङ हुन्छ । बाख्राको वयस्क तौल २७ देखि ३० केजी हुन्छ भने बोकाको ३५ देखि ४० केजी हुन्छ । यो बाख्रा प्रति दिन ३० देखि ५० ग्रामका दरले बढ्ने गर्छ । बर्षमा एक पटक ब्याउने र एक दम कमले मात्र दुईवटा जन्माउने हुन्छ । जन्मेको लगभग ८०० दिनमा पहिलो पटक बाली जान्छ । यो बाख्राले आफ्नो तौलको ३० प्रतिशत भारी बोक्न सक्छ । यो बाख्राले हिमाली भेगमा जंगली जडीबुटी खाएर आफ्नो जिबिका गर्ने हुनाले यसको मासु औषधिको रुपमा खाने धारण भएकोले यसको बजार मुल्य समेत बढी छ । अब यसको व्यावसायिक पालनको लागि थप अनुसन्धान हुनु जरुरी देखिन्छ । च्याङग्राको लागि रुख नहुने यसको लागि सोहि अनुसारको क्षेत्र रोज्नु पर्छ ।