काठमाडौं – नेपालको सामाजिक तथा आर्थिक परिवर्तनसँगै कृषि क्षेत्रमा पनि व्यापक फेरबदल आएको छ । बढ्दो बजार र सहरीकरणको प्रभाव, जलबायु, परिवर्तन र पर्यावरणीय ह्रासले घट्दो उत्पादनशीलता, कृषिमा गरिएको श्रम तथा अन्य लगानीभन्दा कम आम्दानी जस्ता कारणहरुले साना किसानहरु कृषि क्षेत्रबाट निरन्तर पलायन हुने क्रम बढेको छ । दैनिक उपभोग्य बस्तु विशेषगरी खाद्य लगायत शिक्षा र स्वास्थ्यमा नगदको अवश्यकता दिनदिनै बढिरहेको छ । यस्तो नगद व्यवस्थापन गर्न सहर र बैदेशिक रोजगारीमा जाने चलन व्यापक भएको छ । अहिले नेपालका खासगरी ग्रामीण भेगमा बस्ने चालिस लाखभन्दा बढी युवा पुरुष बैदेशिक रोजगारीमा छन् । अहिले गाउँघरमा करिब दुईतिहाई घरले बैदेशिक रोजगारबाट भुक्तानी प्राप्त गर्ने गरेका छन् भने रोजगारीबाट आउने विप्रेषण अहिले नौ अर्बभन्दा बढी छ । यो कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाइ हो । 

बसाईसराइको कारणले नेपाली युवा वर्ग विशेष गरी पुरुषको जनसङ्ख्या ग्रामीण क्षेत्रमा दिनप्रतिदिन घटिरहेको छ । यसको प्रभाव मुख्यगरी खेतिपातीमा परेको छ । श्रमको हिसाबले योग्य मुख्यगरी पुरुषहरु सहरी र बैदेशिक रोजगारीको खोजीमा बाहिरिने क्रमसँगै जोडिएको विप्रेषण, ग्रामीण जनजीवन र जीविकोपार्जनको पद्धतिमा फेरबदल मुख्य कारकका रुपमा देखा परेको छ । यसले आममानिसहरु नगदमुखी, उपभोगमुखी र सहरमुखी बन्दै गएका छन् भने जीवन पद्धतिको रुपमा रहेको नेपाली कृषि र त्यसमा आश्रित किसान परिवारको जनजीवन बजारको नियन्त्रणमा पुगेको छ । नेपाल अहिले दक्षिण एसियामा नै सबैभन्दा बढी बैदेशिक भुक्तानी भित्र्याउने देश र विश्वमा चौथो ठूलो बैदेशिक भुक्तानी भित्र्याउने मुलुकमा पर्दछ । कूल ग्राहस्थ उत्पादनमा यसको योगदान ३४ प्रतिशत रहेको छ । 

हाम्रो परम्परागत कृषि कर्म एकाएक महिला र बृद्धबृद्धाहरु मात्रको काँधमा आइपुगेको छ । तर महिला मैत्री नीति, संस्थागत संरचना र प्रविधि अनुकुल नहुँदा यो फेरबदल महिलाका लागि अवसर बढाउने भन्दा पनि झन् बोझिलो हुँदै गएको देखिएको छ । हिजोआज गाउँमा प्रायजसो महिला, बालबालिका, बृद्धबृद्धा र शारीरिक रुपले अशक्त व्यक्तिहरु बाँकी छन् । खेतीयोग्य जमिन बाँझो छोड्ने क्रम हालका बर्षहरुमा निकै तीब्र हुँदै गइरहेको छ । मुख्य रुपमा पछिल्लो एक दशकमा जमिन बाँझो रहने दर बसाइँसराइको क्रम सँगसँगै बढेको छ । उनीहरु खाद्य उत्पादक उपभोक्ताबाट कोरा उपभोक्ता भएका छन् । 

अहिले विशेष गरेर जिल्ला सदरमुकाम आसपास उत्पादनको साधन जमिनलाई व्यक्तिगत सम्पत्तिको रुपमा खरिद बिक्री गरी क्षणिक नाफा कमाउने नाममा प्लटिङ गर्ने होड चलेको पलायन सँगसँगै महिलाहरु केटाकेटी पढाउन सदरमुकाम तिर बसाइँसराइ गर्ने परिपाटीले पनि जमिन बाँझो छोड्नुपर्ने स्थिति आएको देखिन्छ । यो परिस्थितिले नेपाली किसान पलायनको चक्रीय भुमरीमा फस्न बाध्य छन् । नेपालको कृषिक्षेत्रको रुपान्तरण बिना यो पलायन रोकिने कुने सक्भावना देखिदैन । 

यी सबै कारणहरुले स्थानीय उत्पादनमा व्यापक कमी आएको छ र खाद्यान्न आयात निरन्तर बढिरहेको छ । यस्तो आयातित खाद्यान्नले एकातिर नगदको माग बढेको छ भने अर्कोतर्फ यी खाद्यान्नहरु स्वास्थ्यबद्र्धक र पोषिला छैनन् विविधता र पोषणयुक्त स्थानीय उत्पादनमा कमी आउनाले ग्रामीण भेगमा बसोवास गर्ने विपन्न समुदायको पोषिलो खानेकुरामा पहँुच घटेको छ भने महिला र केटाकेटीको खाद्य तथा पोषण असुरक्षा दिनदिनै बढ्दो छ ।