काठमाडौं – टिमुरको बैज्ञानिक नाम (ल्याटिन नाम) जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क हो । रुटेसी बनस्पति परिवारमा पर्ने यो बिरुवा तामाङ्गमा ‘प्रुमो’ नेवारीमा ‘टेबू’ भनिन्छ । 

यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २५०० मि. सम्मको उचाईका खुला पाखोमा पाइन्छ ।
अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म (टुप्पोको पालबाहेक) पातहरु एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन् । पातहरुमा टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरु हुन्छन् । प्रायः एक विरुवामा भाले तथा पोथी दुवै फूल पाईदैन । झुप्पाका फूलहरु फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन् । 

यसका फलहरु स–साना, राता, ४ देखि ५ मि.मि. व्यासका हुन्छन् । फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट बास्ना पनि आउँदछ । बीउ गोलो र सानो हुन्छ ।

टिमुरको बिरुवा बीउबाट उमारिन्छ । बोट ठूलो नै हुने भएकोले करिब १.५ देखि ३ मि. को दूरीमा ठाउँ अनुसार आइन मिलाएर ३० से.मि. को खाल्डोमा गाई बस्तुको मल हाली यसलाई रोपिन्छ । 

यसको गेडा अर्थात् फलहरु पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ ।

संकलन गरिएका गेडाहरुलाई राम्ररी सुकाई बोरामा कसेर ओवानो गोदाममा राखिन्छ ।

आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजिर्ण र हैजा इत्यादि रोगहरुमा प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ ।