काठमाडौं – तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन् । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कठ्ठा जग्गा भाडामा लिएर व्यावसाियक कागती खेती गरेका हुन् । बार्षिक रु ५० हजारका दरले जग्गा लिई व्यवसाय सुरु गरेका खड्कालाई सुरु सुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् । चार वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेका खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भईरहेको खड्का बताउँछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार/पाँच कामदार लगाउनुपरेको उनले बताए । 

कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउँछन् । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरक–फरक नाम भन्ने गरेको उनले बताए । रोजगारीका लागि दुईपटक मलेसिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय सुरु गरेका हुन् । छ बर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय सुरु गरेका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेका बताए । विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । नेपाली बजारमा सँधै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँदै, खड्काले भने । 

स्वदेशमा काम गर्दाको आनन्द

खड्काले विदेशमा गरेका दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेका थिए । नेपाली बजारमा सधै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ, खड्काले भने । व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । बैँकको ऋण लिन पनि धितो चाहिने तर आफुसँग जग्गा जमिन नभएकाले साथीभाईसँग महँगोमा ऋण लिनुपरेको छ, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपानाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाई छ ।