हरि चौधरी,

काठमाडौं – नेपालको कृषि प्रणाली मूलतः पहाडी भूभाग, पर्यावरण र हावापानीमा आधारित छ । यसका आफ्नै सम्भावना र सीमाहरु छन् । हिमाली क्षेत्र हाम्रो मात्र हैन दक्षिण एसियाकै पानीको मुख्य स्रोत हो । सँगै यो उच्चकोटीका औषधीजन्य जडिबुटीको अपार भण्डार र पशुपालनका लागि उपयुक्त क्षेत्र पनि हो । जैविक विविधताको भण्डार पहाड र चुरेक्षेत्र फलफुल, तरकारी, बीउ तथा उच्चमूल्यका कृषि उपजको सम्भावना बोकेको क्षेत्र हो ।

भनिन्छ, नेपालको जैविक तथा पर्यावरणीय विविधताले भरिपूर्ण पहाडी क्षेत्रमा बागवानी मात्र प्रवद्र्धन गर्न सके एसियाका लागि पुग्ने फलफुल उत्पादन गर्न सकिन्छ । साथै नेपालको तराई अन्नको भण्डारको रुपमा परिचित छ । यी तिनै क्षेत्रको समुचित विविध भौगोलिक र पर्यावरणीय विशेषता रहेको यो भूभाग सयौ कृषि उपजको भण्डार हो । तर यसको प्रतिस्पर्धा मैदानी भूभागको कृषिसँग भने हुन सक्दैन । किनकि जैविक तथा पर्यावरणीय विविधताले गर्दा ठूलो परिणामको खेतिपाती हुन सक्दैन भने भिरालो भूबनौट र भौगोलिक विकटताले समथर मैदानमा जस्तो यान्त्रिकीकरणको सम्भावना न्यून हुन्छ । त्यसो त खनिज तेलमा आधारित यान्त्रिकीकरण आफैमा दिगो छैन तर पनि आहिलेलाई यी नै हाम्रो कृषि उपजलाई प्रतिस्पर्धी बनाउने कुराका मुख्य सीमाहरु हुन् । सँगै हामीले अहिलेसम्म राम्ररी आत्मसात गर्न नसकेको तुलनात्मक लाभका उपजको उत्पादन भने अतुलनीय छ । यो कुरालाई आत्मसात् गर्न सके मात्र नेपालको कृषिको मूल ढाँचा सार्थक बहस गर्दै उपयुक्त सम्भावना पहिल्याउन सकिन्छ । 

अहिले कृषिमा विविध समस्याहरु देखिए तापनि यी समस्याहरुको बीचमा केही केही सम्भावनाहरु अझै पनि जीवितै रहेको छ । जीवितै रहेका सम्भावनाहरु के के हुन सक्छन् । हाम्रो प्रकृति अझै तहसनहस नभइसकेको अवस्थामा अझै पनि पर्यावरणीय कृषिको प्रचुर सम्भावना रहेको छ । स्थानीय हावापानी अनुसार स्थानीय स्रोत साधनको प्रयोगबाट पर्यावरणलाई प्रतिकूल असर नपर्ने गरी पर्यावरणीय खेती अवलम्बन गर्न सकिन्छ । पहाडी र हिमाली क्षेत्रका विविधतायुक्त, जटिल र जोखिमपूर्ण कृषि पर्यावरण हरित क्रान्ति ढाँचाको विकासका लागि उपयुक्त छैनन् साथै, खेती प्रणाली परिवारिक श्रममा आधारित र एकीकृत प्रकृतिको छ । अर्को कुरा, एक चौथाइभन्दा बढी (८ लाख हेक्टर अर्थात २६ प्रतिशत) कृषि भूमि अजैविक विषादी, मलखाद र बाह्य प्रविधिको पहँुचबाट अलग छन् । अहिले प्राङ्गरिक उत्पादनले स्वदेश तथा विदेशी बजारमा प्रतिस्पर्धात्मक लाभ लिन सकिने प्रचुर सम्भावना बढेको छ । कृषिको लागि उपयोगी भूगोल र प्राकृतिक स्रोत भएकाले मौसम अनुसारको खेतीपातीलाई अपनाएर अघि बढ्न सकिने सम्भावना प्रशस्त रहेको छ ।