कुटकीको बैज्ञानिक नाम (ल्याटिन नाम) नियोपिक्रोराइजा स्क्रोफूलेरीफोलीया हो भने संस्कृत नाम अशोक रोहिणी, मत्स्य पित्ता, कटु रोहिणी हो । कुटकीको बनस्पति परिवार स्क्रोफूलारिएसी हो । 

यो बिरुवा नेपालको २,७०० देखि ४,५०० मि. सम्म उचाईको हिमाली भेगमा खुला तथा सेपिलो, ढुङ्गै ढुङ्गा भएको, झ्याउ उम्रेको, हिमाली चिमाल भएको जंगल नजिकै उत्तरपट्टि फर्केको पाखाहरुमा पाइन्छ । यी विरुवाहरु बर्षा ऋतुको आगमन अघि फुलेको पाइन्छ । 

यसको मूल जरा तथा डाँठ बलियो, लामो र केही खैरो र कालो रंगको हुन्छ । यसको स्वाद तितो र पकाएपछि पीरो हुन्छ । यसको बोटमा स–साना झुस पनि पाइन्छ । यसको पात ५ मि.मि. देखि ४ से.मि. सम्म लामो र ४ देखि १५ मि.मि. सम्म चौडा हुन्छ । पातको किनारा करौती जस्तो दाँते हुन्छ । फूलहरु एउटै डाँठमा धेरै फुलेका हुन्छन् । फूलका रङ्ग फिक्का नीलो प्याजी हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुबै योनी पाइन्छन् । यसको जरा अत्यन्त तितो हुन्छ ।

नर्सरी ब्याडमा काण्डबाट यसको विरुवा उमारिन्छ । बीजबाट पनि यसको बिरुवा उमार्न सकिन्छ । निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ्ग (धनपोखरा), कास्की, पर्वत, बाग्लुङ्ग (ढोरपाटन), म्याग्दी, रुकुम, दैलेख, जाजरकोट आदि स्थान ।

जरा र जमिनमुनि रहने डाँठहरु शरद ऋतुमा संकलन गरिन्छ । संकलन गर्दा यसको केही भाग जमिनभित्र छोड्नु पर्दछ । 
सुकाउने तथा संरक्षण
संकलन गरिएका जरा र काण्डलाई पानीमा राम्ररी धोएर घाममा सुकाइन्छ । सुकेका जरा र काण्डलाई बोरामा हाली ओवानो ठाउँमा थन्क्याइन्छ ।

आयुर्वेदिक पद्धति अनुसार यसको प्रयोग जुलाफ गराउनमा, पेट दुखेको, ज्वरो, उजीर्ण आदिमा गरिन्छ । यो सर्प वा बिच्छिले डसेमा पनि प्रयोग गरिन्छ । छालाको रोग विशेष गरी दादलाई यसले फाईदा गर्दछ । हृदयरोग, रक्त विकार, फियो बढेको, प्रमेह, श्वास, धातु र कुष्ठरोगमा पनि अति उपयोगी मानिन्छ ।