काठमाडौं – नेपाल रहेका बहुसंख्यक जनताको मुख्य पेशा भनेकै कृषि हो । जसमा कृषिले अर्थतन्त्र र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई समष्टि रूपमा हेर्ने हो भने देशको लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेशामा संलग्न छन् । जसबाट राष्ट्रको कूल गार्हस्थ उत्पादनको एक तिहाइ योगदान प्राप्त हुने सम्बन्धित क्षेत्रले आंकलन गरेको पाइन्छ । तर, नेपालले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न, उत्पादकत्व र उत्पादनमा बृद्धि गर्न र जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग अनुकूलन गर्न धेरै चुनौतीको सामना गरिरहेको छ । त्यस माथि झन रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या दिनानुदिन बढेसँगै स्वदेशमा कृषि कर्ममा आबद्ध युवाको संख्या ह्वात्तै घटेको छ भने महिला र प्रौढले आंशिक रूपमा धानिरहेको एक सरकारी तथ्यांकले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना–०७८ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको छ । कृषिमा युवाको संख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाको दाबी छ । ५० लाख भन्दा बढी नेपाली विदेशमा छन् । तीमध्ये २६ लाख श्रम स्वीकृति लिएका छन्, रायाले भने, युवाहरू विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो । युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको संख्या बढ्नु बाध्यात्मक परिस्थिति रहेको विश्लेषण छ ।

सामाजिक तथा आर्थिक रूपमा आएको परिवर्तनसँगसँगै नेपालको कृषि क्षेत्रमा दिनप्रतिदिन महिलाकरण बढ्दो छ । परम्परागत रूपमा रहेको पुरुषप्रधान कृषि कामको जिम्मा एकाएक महिलाको काँधमा आइपुगेको छ । तर महिलामैत्री नीति, संस्थागत संरचना र अनुकूल प्रविधि नहुँदा यो कृषि कर्मको भूमिकामा आएको फेरबदल महिला किसानका लागि अवसरको रूपमा भन्दा पनि झन बोझिलो हुँदै गएको देखिन्छ । सामाजिक तथा आर्थिक परिवेशमा आएको फेरबदलसँगै खेतीपातीमा महिलाको बढ्दो संलग्नतालाई रणनैतिक तवरमा सम्बोधन गर्दै महत्वपूर्ण निर्णयमा उनीहरुको सहभागिता र पहुँच बढाउन सकिएमा कृषिकर्ममा समर्पित महिलाको उद्यमशीलता साथै समग्र सामाजिक र आर्थिक विकासका लागि कृषिकर्मको महिलाकरण महत्वपूर्ण अवसर हुन सक्ने देखिन्छ ।

नेपालको ग्रामीण क्षेत्रमा व्यापक रूपमा भइरहेको सामाजिक तथा आर्थिक परिवर्तनसँगै आएको फेरबदलका विविध कारणमध्ये बढ्दो सहरीकरण, घट्दो उत्पादनशील जमिन, कृषिबाट अर्थ तथा श्रमको लगानी भन्दा कम उत्पादन र बढ्दो नगदको आवश्यकता आदि पर्दछन् । प्रत्येक परिवारलाई दैनिक उपभोग्य वस्तु विशेषगरी खाद्य लगायत शिक्षा र स्वास्थ्यमा नगदको आवश्यकता पर्दछ । यस्तो नगद व्यवस्थापन गर्न प्रायजसो परिवारले वैदेशिक रोजगारीलाई मुख्य स्रोत बनाएका छन् । वि.सं. २०६८ को तथ्यांकअनुसार वैदेशिक रोजगारीको आम्दानीको लगभग ७९ प्रतिशत रकम खाद्यमा जाने गरेको छ । श्रमको हिसाबले योग्य मुख्यगरी पुरुषहरू सहरी र वैदेशिक रोजगारीको खोजीमा बाहिरिने क्रमसँगै जोडिएको वैदेशिक भुक्तानी, ग्रामीण जनजीवन र जीविकोपार्जनको परिवर्तनको मुख्य कारकका रूपमा देखा परेको छ । वैदेशिक भुक्तानी घरले प्राप्त गर्दछ तर यसको मोटो हिस्सा उपभोग्य वस्तुहरूः खाना, लत्ताकपडा र अन्य उपभोग्य वस्तुमा जाने गरेको छ । वैदेशिक भुक्तानीले ग्रामीण समुदायको नगद तथा उपभोग्य वस्तुमा परनिर्भरता, शहर र बजारमाथि पहुँच तथा भौतिक विकासमा वृद्धि गराएको छ ।

पुरुषहरू विशेषगरी युवा रोजगारीका लागि शहर पस्ने तथा बिदेसिने क्रम बढेको छ विश्वव्यापी रूपमा नै बढेको छ । नेपालबाट पनि यसरी बिदेसिनेको संख्यामा वृद्धि हुँदा युवावर्ग विशेषगरी पुरुषको जनसंख्या ग्रामीण क्षेत्रमा दिनप्रतिदिन घटिरहेको छ । यसको प्रभाव मुख्यतः खेतीपातीमा परेको छ । अहिले पनि ग्रामीण क्षेत्रका धेरै घरपरिवारको घरायसी आम्दानी र रोजगारीको मुख्य स्रोत भनेको कृषि नै हो । कुल जनसंख्याको ६५.७ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । तर हालको बढ्दो युवा बाहिरिने क्रमले कृषि पेशामा संलग्न हुनेको संख्या दिनप्रतिदिन घट्दै गएको छ– जसले गर्दा महिलामा कृषि कर्मको थप जिम्मेवारी थपिएको छ । एक दशक लामो माओवादी जनयुद्धमा युवाको सहभागिता या गाउँबाट द्वन्द्वको डरले भाग्नुले पनि नेपाली कृषि कर्मको महिलाकरण हुनुमा थप भूमिका खेलेको छ । हुन त इतिहासदेखि नै कृषिमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ । आफ्नो घरवरिपरि अन्न तथा अन्य बोटबिरुवाको रेखदेख तथा व्यवस्थापन गर्दै सुरु भएको खेती प्रणाली आधुनिक कृषि विकासको अवधारणामा परिणत भएको हो । 

यो परम्परागत मानवश्रममा आधारित कृषिबाट रूपान्तरण हुँदै औद्योगिक कृषिको रूपमा विकसित हुँदैछ । महिलाबाट सुरु भएको कृषि बिस्तारै विभिन्न जनावर र कृषि औजार, मेसिन, प्रविधिको विकाससँगै पुरुषको भूमिका महत्वपूर्ण बन्दै गयो । अहिले त कृषि कर्मको स्वामित्व र अधिकार पुरुष केन्द्रित मात्र हुन पुगेको छ यसको अर्थ महिलाले थोरैमात्र काम गर्दछन् या उनीहरूको भूमिका छैन भन्ने भने पक्कै हैन । झन्डै तीन दशकअघि गरिएको अध्ययनले नेपाली महिलाको भूमिका कृषि उत्पादनका श्रम तथा व्यवस्थापनका दुवै काममा महत्वपूर्ण रहेको देखाएको छ । ९० प्रतिशत नेपालीको मुख्य पेशा नै पूर्ण रूपमा कृषि रहेको अवस्थामा र अहिले कृषि पेशामा संलग्न हुनेको संख्या घटेर (६५.६) प्रतिशत पुग्दा समेत कृषि उत्पादन सम्बन्धी काममा महिलाको भूमिका महत्वपूर्ण रहेको र अझै बढ्दै गएको छ । कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा सन २०१० मा ७२.८% महिला र ६०.२% पुरुष कृषि कार्यमा संलग्न थिए । पुरुष बाहिरिएको घरपरिवारको हकमा भने कृषि पूर्ण रूपमा परिवारको महिला सदस्यमा निर्भर बनिसकेको छ– जसले महिलालाई पहिले गरिरहेभन्दा बढी भूमिका निर्वाह गर्न बाध्य गराएको छ ।

खेतीपातीबाट आम्दानीको तुलनामा लागत बढेपछि आजभोलि जीविकोपार्जनका अन्य अवसरको खोजी गर्ने क्रम निरन्तर बढिरहेको छ । यसरी बाहिरिने क्रममा अझै बढावा दिने कारणमा कृषिबाट हुने आम्दानी घरायसी खर्च चलाउन पर्याप्त नहुनु पनि हो । यो क्रम नेपाल लगायत अन्य देश जस्तै भारत, चीन, बंगलादेश, थाइल्याण्ड आदि देशमा पनि बढिरहेको छ । परम्परागत रूपमा रहेको जमिनमा आधारित जीविकोपार्जन बिस्तारै उद्योग, सेवा तथा व्यापारिक क्षेत्रमा बिस्तार भइरहेको छ । मुलुकमा ५० प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले किसान परिवार बढेको र कृषियोग्य जमिन घटेको कृषिविज्ञ कृष्ण पौडेलले जनाए । जमिनको कित्ताकाट र किसान परिवार बढेको देखिएको हो । ‘बुढापाकाले मात्रै खेती गरिरहेका छन्, नयाँ पुस्ता यसतर्फ आकर्षित हुन सकेको छैन,’ उनले भने, ‘उनीहरूलाई कसरी कृषिमा आकर्षित गर्ने भन्नेबारे योजना बनाउन यो कृषि गणनाले सघाउँदैन ।’ २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो भने ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा झरेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको गणनाले देखाउँछ । ०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६.७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने दस वर्षको अवधिमा १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशतमा पुगेको छ । ६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ ।

कृषि गणना ०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत मात्रै थियो । १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत अर्थात् ३ लाख ३८ हजारमा पुगेको छ । महिला र प्रौढ कृषकको संख्यामा बढोत्तरी भए पनि कृषिमा उपयोग गरिएको जग्गा भने घटेको तथ्यांकले देखाएको छ । राष्ट्रिय कृषि गणना ०७८ अनुसार मुलुकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको हो । हिमाली क्षेत्रमा ०.२ प्रतिशत किसान परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको छ भने पहाडमा किसान परिवार ७.७ प्रतिशतले बढे पनि कृषि हुने जग्गा १२ प्रतिशतले घटेको देखिएको छ । तराईमा किसान परिवार ९.४ प्रतिशतले बढ्दा कृषि हुने जमिन भने ११ प्रतिशतले घटेको छ । अस्थायी बाँझो जग्गा पनि ०६८ को ३० हजार हेक्टर भन्दा १० वर्षमा दोब्बरले बढेर ६० हजार हेक्टरमा पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम ठकुरी कृषि गणनाबारे अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने भन्दै पन्छिइन । कृषिमा आबद्ध परिवार बढे पनि कृषियोग्य जग्गा घटेको र बाँझो जग्गा बढेकामा मन्त्रालयले अध्ययन गरेर कार्यक्रम बनाइरहेको उनको भनाइ छ । पछिल्लो १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या भने ५१ हजार १ सय ५७ ले बढेर ३४ लाख ५ हजार १४ पुगेको छ । भूमण्डलीकरण र यातायात तथा सञ्चारमा भएको विकासले मानिसलाई उत्तम जीविकाको खोजीमा आफ्नो देशभन्दा बाहिर अस्थायी र स्थायी दुवै रूपमा जान सहज बनाएको छ । 

विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए । अध्ययन र श्रमका लागि विदेशिएपछि त्यसको प्रत्यक्ष प्रभाव कृषिमा परेको जानकारहरु बताउँछन् ।

नेपालबाट ४० लाखभन्दा बढी युवा बाहिरिएको र दैनिक १५०० युवा खाडी मुलुकमा जाने गरेका छन् । बसाइ–सराइसँगै विश्वभरि नै बदलिदो सामाजिक र आर्थिक परिवेशमा वैदेशिक रोजगारीबाट प्राप्त हुने भुक्तानीले महत्वपूर्ण भूमिका खेलेको छ । यसरी प्राप्त रकमले मुख्यतया विकासोन्मुख देशको शिक्षा, स्वास्थ्य र विकासका कामलाई बढावा दिएको छ । स्थानीय रूपमा काम गर्नु भन्दा वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । एक तथ्यांक अनुसार ५६ % घरले वैदेशिक रोजगारबाट भुक्तानी प्राप्त गर्दछ । त्यसैगरी राष्ट्रिय स्तरमा पनि वैदेशिक भुक्तानीको कुल गार्हस्थ्य उत्पादनमा हिस्सा एक तिहाइभन्दा बढी छ । त्यसैगरी दक्षिण एसियामा नेपाल नै सबैभन्दा बढी वैदेशिक भुक्तानी भित्र्याउने देश हो भने विश्वमा तेस्रो ठूलो वैदेशिक भुक्तानीको कुल गार्हस्थ्य उत्पादनमा योगदान रहेको मुलुकमा पर्दछ । समग्रमा माथि उल्लेखित विभिन्न अध्ययनले कृषिमा महिलाकरणका कारण र प्रभावको मोटामोटी लेखाजोखा गर्दछ । 

कृषि गणना ०७८ अनुसार नेपालमा गाईगोरुको संख्या ४६ लाख, राँगाभैंसी २९ लाख, बाख्रा÷खसी÷बोका÷च्यांग्रा १ करोड ४२ लाख, सुँगुर÷बंगुर÷बँदेल १४ लाख र कुखुराको संख्या ४ करोड ५१ लाख रहेको तथ्यांकले देखाएको छ । उन्नत गाई र भैंसीको संख्यामा भने उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै १० हजार ३ सय ७५ किसान परिवारले झन्डै ५ सय ९८ हेक्टर जग्गामा पुष्प/नर्सरी खेती गरेको देखिएको छ । कृषि गणना ०७८ अनुसार ४ लाख ८३ हजार २ सय ८ अर्थात् ११.७ प्रतिशत परिवारले कृषि प्रयोजनका लागि ऋण लिएको बताएका छन् । ०६८ को गणनामा यस्तो ऋण लिएका किसान ८ लाख ३५ हजार ९ सय २१ अर्थात् २१.८ प्रतिशत थिए । कृषि गणना ०७८ अनुसार मुलुकमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ किसान परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । 

अघिल्लो गणनाअनुसार भने ३८ लाख ३१ हजार ९३ परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । नेपालमा ६२ प्रतिशत परिवार कृषिमा रहेको उल्लेख छ । अघिल्लो कृषि गणनाअनुसार यस्ता किसान परिवार ७१ प्रतिशत थिए । किसान परिवारको १२ लाख ९ हजार २ सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको उल्लेख छ । जुन ५४.५ प्रतिशत हो । अघिल्लो गणनामा यो ५२ प्रतिशत मात्र थियो । बाह्रै महिना सिँचाइ उपयोग भएको जग्गाको क्षेत्रफल ७२.७ प्रतिशत छ । विगतका गणनामा जस्तै यस पटक पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको पाइएको छ । कुल २५ लाख ८६ हजार १ सय ८३ हेक्टर जग्गामा खाद्यान्न बाली लगाएको कृषि गणनामा उल्लेख छ । १ लाख ९९ हजार ८ सय ४४ हेक्टरमा कोसे÷दाल, १ लाख ८० हजार १ सय ४१ हेक्टरमा तेल, १ लाख ७ हजार ४ सय २४ हेक्टरमा तरकारी, १ लाख ४ हजार ७ सय ३७ हेक्टरमा कन्दमूल, ५ लाख ६ लाख ८ सय ९३ हेक्टरमा मसला र ४४ हजार ६ सय ९ हेक्टरमा नगदे बाली लगाइएको पाइएको छ । १२ लाख १६ हजार ३ सय ८७ हेक्टरमा धान बाली लगाइएको कृषि गणना ०७८ मा उल्लेख छ । कृषिका लागि ट्र्याक्टर प्रयोग गर्ने किसानको संख्या बढेको देखाएको छ भने फलामे हलोको प्रयोग घट्दै गएको देखिएको छ ।

कृषि गणना ०७८ अनुसार ४.४ प्रतिशत किसानले कृषि बिमा गरेका छन् । यसरी बिमा गरेकामध्ये सबैभन्दा बढी ८४.४ प्रतिशत परिवारले पशुपालनका लागि बिमा गरेको देखिएको छ । यस गणनाअनुसार ३ लाख ८ हजार ५ सय १२ अर्थात् ७.५ प्रतिशत किसानले सरकारी अनुदान पाएको कृषि गणनामा उल्लेख छ । सबैभन्दा बढी रासायनिक मल खरिदमा अनुदान पाएका हुन् । मुलुकका ६८.८ प्रतिशत किसानले घरायसी उपभोगका लागि मात्रै कृषि कार्य गर्ने गणनाले देखाएको छ । सबै कृषि उत्पादन बिक्रीका लागि १.१ प्रतिशतले मात्र खेती गर्छन् । घरायसी उपभोगसहित बिक्रीका लागि उत्पादन गर्ने २४.७ प्रतिशत छन् । कुल किसानमध्ये २६ प्रतिशतले कृषिका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि गरेका छन् ।

अघिल्लो वर्ष यो १६ प्रतिशत थियो । आम्दानीको मुख्य स्रोत कृषिकार्यलाई बनाउनेको संख्या ७०.४ प्रतिशत छ । जुन अघिल्लो गणनामा ८३.१ प्रतिशत थियो । कुल किसानमध्ये ४५ प्रतिशतलाई मात्र आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभर खान पुग्ने बताएका छन् । अघिल्लो वर्ष यस्तो ४० प्रतिशत थियो । जे होस महिलाको जिम्मामा साना तथा धेरै समय लाग्ने विभिन्न काम जस्तै प्रशोधन, अन्न तथा बीउ भण्डारण र जमिन तयार गर्ने काम पर्दछ । घरायसी रूपमा विभिन्न किसिमका दैनिक रूपमा गर्नुपर्ने काम महिलाका जिम्मामा हुन्छन् तर प्रायःजसो पुरुषले यस काममा सहयोग नगर्ने हँुदा महिलालाई खेतीको समयमा अझै बढी कामको बोझ रहिरहने छ ।