काठमाडौं – लम्की स्किन रोगले यसपटक गोठ मात्रै रित्याएन, खेतसमेत बाँझै बनायो । जोत्ने गरुहरु मरे जस्ले गर्दा किसानहरुलाई पिडा माथि पिडा थपियो । दुधालु गाई र बाच्छाबाच्छी मर्दा किसानका गोठ रित्तिए । मानो रोपेर मुरी उब्जाउने बेला जोत्ने गोरु मर्दा र बिरामी हुँदा किसान छटपटाउनु पर्‍यो । सरकारी तथ्यांकअनुसार साउन ३ गते सम्ममा देशभर लम्पी स्किनले गर्दा ४८ हजार १ सय ३३ पशु मरेका छन् ।

नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ । ७७ मध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन । 

पछिल्लो अवस्थामा जनावरमा फैलँदै गएको यो लम्पी स्किनविरुद्धको भ्याक्सिन “अटल फाउन्डेसनको पहलमा” पहिलो पटक नेपालमा उपलब्ध हुने भएको छ । चौपायामा देखिने लम्पी स्किन भाइरसको विरुद्ध दिइने भ्याक्सिन मेडिकल कन्सल्टेन्ट चितौरगढ भारतका डा. सुशील मेहताले उपलब्ध गराउने फाउन्डेसनकी अध्यक्ष टीका डाँगीले जानकारी दिनु भएको छ । 

उहाँलु भन्नुभयो, “यस रोगको उपचारका लागि भारतमा रहेका प्रथम पहल मेडिकल कन्सल्टेन्ट चितौरगढका डा. सुशील मेहतालाई अनुरोध गर्‍यौँ । उहाँ सकारात्मक देखिनुभएको छ । जतिसक्दो चाँडो भ्याक्सिन नेपाल ल्याउने पहलमा हामी तयार रहेका छौँ । यसका प्रक्रियाका लागि हामीले सरकारसँग पनि पहल गरिरहेका छौँ । भ्याक्सिन भारतको समस्त महाजन संस्थानले निःशुल्क उपलब्ध गराउनेछ । यसको लागि डा मेहताले पहल गर्नुभएको छ ।”

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिन्छ।  

यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ । पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार हालसम्म संक्रमित १० लाख ५४ हजार ५५ पशु छन् । यसमध्ये ७ लाख ६८ हजार ६४१ निको भइसकेको विभागको दाबी छ । तर, अझै २ लाख ३७ हजार २ सय ८१ पशु सक्रिय संक्रमित छन् । ३ लाख १ हजार २ सय ४६ पशुमा खोप लगाइसकेको डा. ढकालले जानकारी दिए । तर, संक्रमण संख्या भने अझै बढ्दै गएको तथ्यांकमा देखिन्छ । 

यो एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस) बाट गाईभैंसीहरूमा लाग्ने रोग हो । यो रोग भैंसीहरूमा भन्दा गाईहरूमा बढी देखिन्छ । पहिला अफ्रिकामा सीमीत यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, काजकस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाहि देखा परेको थियो । अहिले नेपालको ७६ जिल्लामा यो रोगको संक्रमण फैलिएको र सयौं गाईहरू बिरामी परेको / मरेको जानकारी आइरहेको हुँदा यस प्रति नेपाल सरकारले चासो दिन अत्यन्त जरुरी छ ।  

नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो । तर, अहिले यसले बिकराल रूप लिएर मुलुकभर आतंक मच्चिएको छ । पछिल्लो समय देशभर ७६ जिल्लाका गाईभैंसीमा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन् ।