काठमाडौं - पछिल्लो एक सातामा देशमा ७ हजार टन रासायनिक मल भित्रिएको छ।

कृषकलाई मल अभाव हुन नदिन उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्र्याउन सुरु गरिएको हो। तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार नाकाबाट दैनिक ६/७ वटा मलका कन्टेनर आइरहेका छन्। भन्सार कार्यालयमा भण्डारण गर्ने क्षमता कम भएकाले यहाँ भएका मल राजधानी पठाइसकेपछि आयात अनुपात बढ्छ। भन्सार कार्यालयमा रहेको मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने गरिएको छ। सडकमार्ग स्तरोन्नति हुन सके नाकाबाट आयात बढ्ने देखिन्छ। 

साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि मल ल्याउने जिम्मा पाएको सिल्क ट्रान्सपोर्ट कम्पनीले गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन रासायनिक मल ल्याएर साल्ट ट्रेडिङलाई बुझाइसकेको जनाएको छ। अब ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको छ। सम्झौताअनुसार यो मल हिउँदमै आउनुपर्थ्यो। तर, कोभिड र नाका पूर्ण सुचारु हुन नसक्दा ल्याउन सकिएको थिएन।

रासायनिक मल चीनको सिगात्सेसम्म रेलबाट र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत ल्याइएको सिल्क कम्पनीले जनाएको छ। सडक राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिन्छ। चीनबाट ५ दिनमा नाकामा र ७ दिनभित्र काठमाडौंसम्म मल पुर्‍याउन र्।

चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो। भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो। भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा एकतर्फ रूपमा सञ्चालनमा आइरहेको थियो। तर गत वैशाख १८ गतेदेखि दुईतर्फी रुपमा आयात निर्यात हुन थालेको छ।