काठमाडौं –  अँडीरका जस्ता पात हुने, काला बियाँ भएको ठुलो र लाम्चो फल फल्ने एक बोटलाई मेवा भनिन्छ । फारसीमा मेवा भनिन्छ भने हिन्दीमा पपिता भनिन्छ । यसको वैज्ञानिक नाम क्यारिका पपाय (Caricapapaya) हो । यो वनस्पति क्यरिकेसी (Caricaceae) परिवार समूहमा पर्दछ । मेवा उष्ण र उपोष्ण जलवायुमा हुने बहुवर्षिय वनस्पति हो । समुद्री सतहदेखि करिब ३०० फिटको उचाई सम्मको हवापानीमा यसको खेती सफलता पुर्वक गर्न सकिन्छ । राम्रो निकास भएको मलिलो माटोमा यसको खेती गर्दा राम्रो हुन्छ । पानीको निकास नभएमा मेवा मर्न सक्छ । 

मेवा नेपाली संस्कृति तथा धार्मिक कार्यक्रमहरूमा अत्याधिक प्रयोग हुने फल हो । मेवा उष्ण तथा उपोष्ण हावापानी भएका स्थानहरूका कृषक र मेवा पारखीहरूले रोप्न रुचाउने फल हो । भूमध्य रेखा वरिपरिको गर्मी र उच्च आद्रदा भएका मुलुकहरूमा मेवाका बोटहरु प्राकृतिक रूपमा पाइन्छन् वा बृहत रूपमा रोपिन्छन् । 
मध्य अमेरिका, अफ्रिका, हिन्द–प्रशान्त क्षेत्र, भारत हुँदै करिब पाँच सय वर्ष पहिले नेपाल भित्राइएको हो । मेवा किरा धपाउने तथा कीटनाशक विषादीको निम्ति प्रख्यात बहू उपयोगी वनस्पति हो । यो नौ देखि बाह्र महिनाको छोटो समयमा फल उत्पादन हुने फल हो । नेपालमा समथर तराई देखि तुसारो नपर्ने मध्य पहाड सम्ममा रोपिँदै आएको भएता पनि हालका केही दशक देखि नविन प्रविधि प्रयोग गरेर पहाडी क्षेत्रका उपत्यकाहरूमा सफलताका साथ रोपिने गरिँदैछ ।

पहिले घरायसी र सांस्कृतिक प्रयोजनका निम्ति रोपिने वा फल खाएर फालिएका बीयाबाट प्राकृतिक रूपमा जतासुकै उम्रने र फल्ने भएपनि हाल तराईका केही जिल्लाहरूमा मेवाको व्यवसायिक रूपमा खेती गर्न शुरू गरिएको छ । नेपालमा मेवाको आन्तरिक उत्पादनमा क्रमशः वृद्धि भएपनि माग र आपूर्ति बीचको खाडल पुरा गर्न भारतबाट मेवा फल आयात गर्ने क्रम पनि जारी छ। हाल व्यवसायीक उत्पादनको निम्ति भारत, चिन, थाईलेण्ड र श्रीलङकाबाट उच्च उत्पादन दिने मेवाका जातका बीउहरू आयात गर्ने परिपाटी बढ्दैछ । 

मेवा खेतीमा आवश्यक कुराहरू

हावापानी मेवा उष्ण क्षेत्रमा हुने बाली हो, तर यसले हल्का उष्णर समशीतोष्ण मौसममा राम्रो उत्पादन दिन्छ । यो समुद्री सतहबाट १००० मिटरको उचाइसम्म राम्रोसँग बढ्छ र बढी उत्पादन दिन्छ । मेवा तेज, तातो वा सुक्खा बतास लाग्ने क्षेत्रमा रोप्नु हुँदैन। फल पाक्ने समयमा मौसम सुक्खा भएमा फल स्वादिलो हुन्छ । फल बढ्नको लागि उपयुक्त तापक्रम २५ देखि ३० डिग्री सेन्टिग्रेडको बीचमा हो भने १० डिग्री सेन्टिग्रेड भन्दा कम तापमानमा फल ढिलो बढ्ने र पाक्ने हुन्छ । सिचाइ पर्याप्त चाहिन्छ भने धेरै समय पानी जम्ने ठाउँमा विभिन्न रोगले सताउँछ र अन्तिममा बिरुवा मर्छ । मेवाको बोटले तुसारो सहन सक्दैन । लामो समयसम्म चिसो ठाँउमा बिना छहारी र सिँचाई मेवाका बिरुवा मर्छन् । अधिक र न्युन तापक्रम भए परागसेचनमा नकारात्मक असर पर्छ र उत्पादन घट्छ । चिसो, ओसिलो हावापानी वा सुख्खा र असिञ्चित स्थान वा धेरै हुरीबतास चल्ने स्थान मेवा खेतीका लागि उपयुक्त हुँदैनन् । माटो मेवा खेतीको लागि उपयुक्त पीएच ५.५ देखि ७ सम्मका मानिन्छ । अम्लीय माटो भए माटो परीक्षण गरि कृषि चुना २ देखि ४ टन प्रति हेक्टर प्रयोग गरि माटोको पीएच सुधार्न सकिन्छ । जैविक पदार्थले समृद्ध हल्का झरझराउने माटोमा उत्तम मानिन्छ जुन माटोमा मेवा चाँढो बढ्छ र गुणस्तरीय फल फल्छ । मेवा खेतीका लागि पीएच ६ देखि ७ सम्म भएको, पानी नजम्ने, गहिरो र प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो सबभन्दा राम्रो हुन्छ । 

यदि कम पीएच भएको अम्लीय माटो छ भने कृषि चुनको प्रयोग गरी माटोको पीएच बढाउनु पर्छ । कम प्राङ्गारिक पदार्थ भएको चिम्टाइलो माटो मेवाको लागि राम्रो मानिँदैन । फेदमा एक दिन भन्दा बढी समय पानी जमेमा मेवाका बोट मर्दछन् । त्यसैले पानी जम्ने स्थान मेवा खेतीका लागि उपयुक्त हुँदैनन् । सुख्खा समयमा मेवालाई प्रशस्त पानीको आवश्यकता पर्ने भएकोले व्यवसायिक खेतीका लागि सिचाई सुविधा हुनु पर्दछ । 

मेवाका जातहरु 

नेपालमा स्थानीय जातको प्रधानता छ । यी जातको उत्पादकत्व सामान्य भए पनि उच्च गुणस्तर र रोग प्रतिरोधात्मक क्षमता भएका छन् । व्यवसायिक खेती गर्न स्थानीय जातहरू प्रयोग भएका छैनन् । आयातित उन्नत जातका बीउ प्रयोग गरेर व्यवसायिक खेती गर्ने परिपाटी बढ्दैछ । भूगोल, हावापानी, उपभोक्ताको रुचि र बीउको उपलब्धता अनुसारका मेवा जातको छनौट गरिन्छ । विश्वमा खेती गरिने मेवाका विकासित जातहरू धेरै छन् । जस मध्ये यस प्रकार छन् । 

१. हनिडयू

यो जात नेपालमा राम्रो मानिन्छ । उत्तर भारतमा पनि यो जात राम्रो मानिन्छ । बोटमा घना फल लाग्ने गर्छ । फल भित्र बिउको मात्र कम हुन्छ । यसको पाकेको फल गुलियो हुन्छ । 

२. कुर्ग हनिडयू

यो जात हनिडयूबाट विकसित गरिएको हो । फलहरु उभयलिङ्गी हुन्छन् । पोयी फूलको मात्र बढी हुन्छ । बोट होचो हुन्छ । धेरै फल फल्छ । फलको गुदी बाक्लो र स्वादिष्ट हुन्छ । 

३. को–१

यो जात राँची भन्ने जातबाट छानिएर निकालिएको हो बोट होचो हुन्छ । फल अण्डाकार हुन्छ । गुदीको रंगको सुन्ताला जस्तो हुन्छ र यो स्वादिष्ट पनी हुन्छ । पपेनका लागि यो जात उत्तम मानिन्छ । 

४. पुष डेलिसियस

यो जातबाट उभयलिङ्गी बिरुवाहरु तयार गरिन्छ । फलको आकार मझौंला हुन्छ । 

५. पुसा मजेस्टि 

यसको फल बाटुला मझौंला हुन्छ । फलका गुदी कडा किसिमको हुन्छ । ढुवानीका लागि यो सजिलो हुन्छ । 

६. पुसा जायन्ट

यसको फल ठूलो र आकर्षक हुन्छ । तरकारी खान र डिम्बाबन्दी गर्न राम्रो हुन्छ । बोट बलियो, सानो कडा र हवाहुरी सहन सक्ने किसिमको हुन्छ । 

७. पुषा ड्वार्फ

यो झन सानो बोट हुने जात हो । जमिनको नजिकै फल्न थाल्छ र एक–दुई किलोको फल हुन्छ । बोट हाचो भएकोले नजिक लगाएर थोरै जमिनबाट धेरै उत्पादन लिन सकिन्छ । 

बिरुवा रोपण 

मेवाका बिरुवा मौससमले साथ दिए साल भरि रोप्न सकिन्छ, अधिक जाडो हुने महिना बाहेक, फागुन, असार, असोज महिनाहरु उत्तम समय मानिन्छ । नर्सरीमा तयार गरिएका बिरुवालाई जरा नचुँडिने गरी उखेलेर एउटा खाल्डामा रोप्नु पर्दछ । आफैले उत्पादन गरेको बीउबाट उमारिएका बिरुवाहरु ३ बिरुवाप्रति खाडल रोप्नु पर्दछ । लिङ्ग परीक्षण गरिएको भनि मान्यता प्राप्त वा विश्वासिलो निकायबाट प्राप्त बीउबाट उमारिएका बिरुवाहरूको हकमा एक खाडलमा एक बिरुवाको दरले रोप्न हुन्छ । प्लास्टिक थैलामा तयार गरेका बिरुवालाई प्लास्टिक हटाई माटो सहित रोप्नु पर्छ । प्लास्टिकको साटो माटोमा सजिलै कुहिने अर्गा्निक थैलो प्रयोग गरेको भए थैलोसँगै रोप्न मिल्छ। बिरुवा रोपेपछि बोट सोझो राखेर वरिपरिबाट माटोले राम्ररी थिच्नुपर्छ र रोपेको एक घण्टा भित्रै पहिलो सिँचाई दिनु पर्दछ । 

मल–जल र हेरचाह 

मेवा धेरै मल चाहिने वनस्पति हो । प्रसस्त मल जल पाएमा अत्यन्त चाँडै बढ्छ र रोपेको ८–९ महिनाबाटै फल दिन सुरु गर्छ । मेवालाई रासायनिक र प्राङ्गारिक दुवै किसिमको मल दिन सकिन्छ । रासायनिक मल दिँदा बोटलाइ नछुवाइकन बोटको वरिपरि माटोमा दिनु पर्दछ । माटोमा सधैँ प्रशस्त चिस्यान भएको अवस्थामा रासायनिक मलको प्रयोग गर्नुपर्छ । प्रत्येक वर्ष एउटा बोटले २५० ग्राम नाइट्रोजन, २५० ग्राम फस्फोरस र ४०० ग्राम पोटास पाउने गरि रासायनिक मल दिनु पर्छ । यो रासायनिक मलको डोज पटक–पटक गरेर दिएमा अझ बढि उपयिगि हुन्छ । बोट, पात, फूल, फलको अध्यान गरि सुक्ष्म कनिज तत्वहरो जस्तै बोरोन, म्याग्नेसियम, मेनगानिज र तामा वार्षिक एक पटक दिनुपर्दछ ।

हरेक वर्षको माघ फागुनमा प्रत्येक बोटमा करिब १५ किलोग्रामका राम्ररी कुहेको गोबर मल दिनु पर्दछ । मलको प्रयोगपछि सिँचाइ गर्नुपर्छ । हिउँदका सुख्खा महिनामा मेवाको बगैँचामा सिंचाई गर्नुपर्छ । पहिलो पटक फूल फुलेपछि मेवा बोटहरुको लिङ्ग छुट्याउन सकिँन्छ । त्यसैको आधारमा अनावश्यक भाले बोटहरूको संख्य घटाउन सकिन्छ । भाले र पोथी बोट छुट्टाछुट्टै हुने जातमा हरेक २० पोथी बोट बराबर एक भाले बोट राखेर अन्य भाले बोट हटाउनु पर्छ । प्रत्यक खाल्डोमा दुई तीनओटा बिरुवा रोपिएकामा लिङ्ग परिक्षण पछि पोथी बोट मात्र राखी अरु हटाउनु पर्दछ । एक खाल्डोका तीन बोटहरु मध्य उभयलिङ्गी बोट भए त्यसलाइ राखि अरु बोट हटाउनु पर्दछ । 

गोडमेल 

मेवा बारी तथा नर्सरी सधैँ झार पातबाट मुक्त राख्नु पर्दछ । झारपातमा रोग किराले लुक्ने वातावरण पाउँछन् । त्यसैले नियमित गोडमेल गर्नु पर्दछ । बोट अग्ला भएपछि बोटहरुको बिचको जग्गामा कोसेबाली रोप्न सकिन्छ। मेवाबारिमा फर्सीजातका लहरे बालि, आलु, ब्रासिका परिवारका तरकारि हरु रोप्नु हुन्न, रोग हीराको प्रकोप बढी हुन्छ । अनावस्यक झारपातसँग मेवाको प्रस्तिप्रधा घटाउन प्लास्टिकको मलचिङ्ग गर्ने बिधी प्रभावकारि बनेको छ ।