काठमाण्डौं – आज भोली बजारमा यस्तो पनि चश्मा पाईन्छ जुन लगाएर घरबाट बाहिर घाममा जाँदा कालो हँुदै जान्छ, फेरी घर भित्र पस्दा क्रमशः पारदर्शक सेतो हुन्छ । हिजो आज यसरी उज्यालो घाममा कालो हुने चश्मा निकै चलनमा आएको छ । यस्तो विशेष किसिमको काँचलाई फोटोक्रोमिक भनिन्छ । चश्मा बाहेक हिजोआज यसलाई घरका झ्याल, मोटरको ऐना आदिमा पनि प्रयोग गर्न थालिएको छ । 

बालुवा, सोडियम र क्याल्सियमको मिसवाटलाई एक हजार डिग्री सेन्टिग्रेड तापक्रममा तताएर गाल्दा काँच बन्दछ । अन्य विशेष प्रकारका काँचहरु बनाउँनु र सेलाउनु अगाडि केही थप वस्तु मिलाईन्छ । जस्तै ः एक प्रतिशत कोबाल्टले काँचलाई निलो बनाउँछ । कोबाल्टको प्रतिशत थपींदै गायो भने काँचको रङ्ग कालो हुन्छ । यस्तै क्याल्सियमले पहेंलो, नियोडियमले रातो र क्रोमियमले हरियो रङ्ग प्रदान गर्दछ । 

उज्यालो घाममा कालो हुने चश्माको फोटोक्रोमिक काँच भने अलि विषेश किसिमको काँच हो । यो काँचामा तस्विर बनाउँने नेगेटिभ फिल्मको जस्तो गुण हुन्छ । फोटोक्रोमिक काँचमा सिल्भर हेलाईड भन्ने यौगिक हुन्छ । हेलाईड भन्नाले क्लोरिन, ब्रोमिन वा आयोडिन जस्ता तत्व भन्ने बुझिन्छ । फोटोक्रोमिक काँच घाममा पर्दा चाँदी र हेलोजनका अणुहरु छुट्टीन पुग्छन् र काँच कालो हुन्छ । जब घामबाट अँध्यारोमा राखिन्छ छुट्टिएका हेलोजनका अणुहरु चाँदीका अणुसँग पुनः संयोजन हुन जान्छन् । यसले गर्दा काँच पुनः पारदर्शक हुन जान्छ । किनभने चाँदीका अणु र हेलोजनका अणुहरु संयुक्तरुपमा रहँदा यो रङ्गहीन हुन्छ ।