काठमाडौं - महानगरीय ट्राफिक महाशाखाले मेसिनमा सिधै नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी सञ्चालनमा ल्याएको छ । 

पहिले ट्राफिक नियमको उल्लंघन गरे जरिवाना तिर्न बैंक नै पुग्नु पथ्र्यो। मोबाइल बैंकिङ तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे। तर, महाशाखाले यसलाई सहज बनाउन प्रभु पे को किओस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने बनाएको छ। 

महाशाखाले आइतबारबाट उक्त मेसिन सञ्चालनमा ल्याएको हो। सुरुवाती चरणमा ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा जरिवाना तिर्न सकिने व्यवस्था थियो। पछिल्लो समय मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट पनि ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा छन्। 

हाल सञ्चालनमा ल्याइएको किओस्क मेसिनमा सिधै नगद हालेर जरिवाना तिर्न सकिन्छ। यसले गर्दा बैंकमा गएर लामो समय लाइन बस्नुपर्ने झन्झट सकिएको छ। ट्राफिक महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार उपत्यकामा ३ सय ९ स्थानमा प्रभु पे को किअस्ट मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिनेछ।