मदनकृष्ण सिलवाल

काठमाडौँ - अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । 

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छौँ, यात्रुहरूले खाली सिट हेरेर बुकिङ गर्न सक्नुहुनेछ ।’ 

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् । साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।