यसै हप्ता नेपालका तथाकथित कम्यूनिष्ट भनाउदाहरुले नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष भन्दै हीरक जयन्ती मनाएको मेडिया मार्फत सुन्नमा आयो । आफुपनि विद्यार्थीकाल देखिनै वामपन्थि झुकाव भएको, मदन भण्डारीले वहुदलीय जनवाद प्रतिपादन गर्दा इटालियन वहुदलीय जनवादी नेता आन्तोनियो ग्राम्सीका वहुदलीय जनवादी विचारधारात्मक लेखहरु इटालियन भाषाबाट नेपालीमा अनुवाद गरी भण्डारीलाइ उपलब्ध गराएको र तत्पश्चात् केहि समय एमालेको विदेश विभागमा वसेर काम गरी पार्टीको न्यू एरा भन्ने अंग्रजी पत्रिका सम्पादन गरेको, वहुदलीय जनवाद तयार भएपछि त्यस्लाई अंग्रेजीमा अनुवाद गरी मेरै नामबाट एमाले विदेश विभागले प्रकाशित गरेको र मदन भण्डारीको सबैभन्दा पहिलो अग्रेजीमा लिइएको अन्तवार्ता सम्पादकको नाताले इन्टरनेशनल फोरममा छपाइ भण्डारीलाई अन्तराष्ट्रिय रुपमा चिनाउने कार्य गरेको, मदनको हत्या पश्चात राष्ट्रवादबाट विचलित भई एमालेले राष्ट्रघाती महाकाली सन्धीलाइ अनुमोदन गरेको कारण उक्त पार्टीलाई भकुण्डो खेलेर आफनै अध्यक्षतामा देशभक्त पर्यावरणीय सामाजिक मोर्चा नामक दल गठन गरी संविधानसभाको चुनाव लडेको र पछि निर्वाचन आयोगले सानादलहरुलाई स्थायी चुनाव चिन्ह नदिने निर्णय गरेपश्चात सि पी मैनाली नेतृत्वमा रहेको नेकपा मालेसंग पार्टी एकता गरी पोलिट ब्यूरो सदस्य हुदै स्थायी कमिटि सदस्य तथा विदेश विभागको सचिव र सुदुर पश्चिमको इन्चार्ज  भइ काम गरी नेपालका कम्यूनिष्टहरुलाई नजिकबाट चिन्ने मौका प्राप्त गरी अन्त्यमा यिनीहरु कुनै पनि साच्चैका आदर्शवादी कम्यूनिष्ट रहेनछन भन्ने वुझे पश्चात् यिनीहरुसंगको संगतबाट आफूलाई अलग्याउदै यस पंक्तिका लेखकले विशाल नेपाल महाअभियानको राष्ट्रिय संयोजकको रुपमा अहिले राष्ट्रवादी क्रान्तीको अगुवाइ गरिरहेको छ । यिनीहरु कोहि पनि आदर्शवादी कम्यूनिष्ट होइनन भन्ने प्रमाणहरु यस प्रकार छन् । 

 भुत्रोका कम्यूनिष्ट तिमीहरु !!!

१) माक्र्सवादी विचारधारालाई यूरोपमा लागु गर्ने क्रममा सर्बप्रथम दुइ धारहरु देखा परे । एउटा धार लेनिनले नेतृत्व गरेको एकदलीय जनवादी धार हो, जुन धारको वर्चश्व विशेष गरी तत्कालिन सोभियत संघ र पूर्वि यूरोपेली देशहरुमा रह्यो । अर्को धार वहुदलीय जनवादी धार इटालियन नेता आन्तोनियो् ग्राम्सीको नेतृत्वमा पश्चिम यूरोपमा विकाश भयो जस्को वर्चश्व विशेष गरी इटली, स्पेन, फ्रान्स र पोर्तुगलमा रह्यो । इटलीमा भन्ने हो भने त त्यहाको संसदमा भएको कम्यूनिष्टहरुको उपस्थितिको कारण इटालीयन वहुदलीय कम्यूनिष्ट पार्टी (Partito Comunista Italiano (PCI ) पश्चिम यूरोपकै सबैभन्दा ठूलो कम्यूनिष्ट पार्टी वन्यो । सन १९८५।८७ को दुइ वर्ष इटलीमा उच्च अध्ययन गर्ने क्रममा  इटालियन कम्यूनिष्टहरुसंग मेरो राम्रै उठवस भएको हुदा उनीहरुको सादगीपनबाट मैले धेरै कुरा सिकी आफूलाई परिवर्तन गर्दै सकेसम्म सादगी वनाउन अहिले सम्म पनि लागि परिरहेकै छु । अहिले नेपालमा मैले जति कम्यूनिष्ट भनाउदा नेताहरु देखे त्यसमध्ये जति सत्तामा आए तिनीहरुलाई हेर्नेहो भने मनमोहन अधिकारी वाहेक कम्यूनिष्ट भन्न सुहाउने सादगी कम्यूनिष्ट नेता मैले कोहि देखेको छैन, वल्की भ्रष्टाचार र कमिसन खाई सबै नवसभ्रान्त वनेका छन । हिजो चप्पल पडकाउदै काठमाण्डु छिरेका यी दरिद्रहरु अहिले अकूत संपत्तिको मालिक वनेका छन् । सकिन्छ पत्याउन यिनीहरु कम्यूनिष्ट हुन भनेर ?  

२ं) सिध्दान्तकै कुरा गरौ अव । जव संसदीय राजनीति र त्यस्का आवधिक चुनावमा भाग लिई राजनीति गर्छन भने तिनीहरु एकदलीय लेनिनवादी दल कदापि होइनन । चुनावमा भागलिने सबै ब्यवहारिक रुपमा वहुदलीय जनवादी  हुन् । त्यसकारण जजस्ले आफुलाई नौलो जनवादी वा अन्य नामले पुकार्छन तिनीहरु पदको वाडफाड नमिलेको कारणमात्र माउ दल फुटाउदै विभिन्न नामधारी कम्यूनिष्ट दल वनाउदै जनतालाई झुक्याउने ठगहरुको जमात हो भन्दा हुन्छ । जव वहुदलीय जनवाद आफनो सिध्दान्त हो भने एमालेले के आधारमा आफुलाई लेनिनवादी भन्ने हो जवाफ दिनु पर्देन ? मैले त्यहि वेलानै मदन भण्डारीलाई एमालेले आफूलाई एमाले होइन वहुदलीय जनवादी कम्यूनिष्ट पार्टी नेपाल भन्ने नाम राख्न सुझाव दिएको थिए । तर आफुलाइ लेनिनवादी भन्दै देश र जनतालाई भ्रममा पार्न पल्केकाहरु नव उदारवादी अर्थतन्त्रको पक्षपोषण गरी सक्दा पनि अझै्र आफुलाई लेनिनवादी भएको डंका पिटाउदै जनतालाई भ्रममा पारी राजनीति गरिरहेकाछन् । यिनीहरुको न सिध्दान्त, न ब्यवहार न आचरण न क्षमता केही पनि लेनिनवादी छैन ।

३) संसदीय राजनीतिबाट जनवाद स्थापना गर्न सकिदैन भन्दै देश र जनता ठग्न माहिर अर्को समूहले आफुलाई माओवादी भन्दै जनयुध्द शुरु गर्यो । १७ हजार नेपाली नागरिकको हत्या र खर्वौको विकाशका संरचनाहरु ध्वस्त गरेपछि यस्ले संविधान सभाको चुनाव आफनो लक्ष्य भन्दै हतियार विसायो मात्रै होइन आफना जनसेनालाई शाही सेनामा लगेर मिसायो । के माओत्से तुंगले मचुवंशको शाही सेनामा लगेर आफना लाल सेनालाई मिसाएका थिए ? के आमूल परिवर्तन गर्ने भन्दै चियांगकाइ सेकको कोमिन्तांग पार्टीसंग कहिले संझौता गरेका थिए ? कदापि थिएनन । माओको लाल सेनाले त मचुवंशको शाही सेना, कोमिन्तांगको सेना मात्रै नभै कोरियाली  र भियतनाम युध्दमा अमेरिकी सेनालाई समेत परास्त गरेर लालसेनाकै वलमा चीनमा एकदलीय जनवाद स्थापना गरेको हो । संसदीय ब्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु वेच्ने ब्यवस्था हो भन्ने तिमी नेपाली माओवादीहरु अहिले खुरुखरु कुकुरको मासु घिचिरहेका छौ भने आफुलाई माओवादी भन्न सरम लाग्दैन तिमीहरुलाई ? 

४) वृहत वाम एकता गर्ने भन्दै माओवादी र एमाले मिले, डवल नेकपा वनाए । लेनिनले वोलसेभिक र मोनसेभिक दललाई मिलाई रसियन राजा  (जार) को संसद डुमामा वहुमत पुर्याई त्यही बहुमतको आधारमा एकदलीय जनवादी संविधान वनाइ लागु गरी जारशाहीको अन्त्य गरी माक्र्सवादलाई ब्यवहारमा उतारेका थिए । नेपालमा पनि यिनीहरु साच्चैका लेनिनवादी हुन्थे भने त्यही मोडेलमा नेपालको संसदमा प्रचण्ड बहुमत भएको वेला नेपालको संविधान संसोधन गरी एकदलीय जनवाद स्थापना गर्न पर्ने होइन ? यिनीहरु त ठीक त्यस्को विपरित अमेरिकाले नेतृत्व गरेको डेमोक्रटिक एलाएन्स, हिन्द प्रशान्त रणनीति र स्टेट पार्टनरसीप प्रोग्राममा सहि ठोकी आफैहरुले साम्राज्यवादी भनेको अमेरिकी खेमामा नेपाललाई उभ्याएका छन् । यी हिन्द पश्चिमी दलालहरुलाई के आधारमा कम्यूनिष्ट भन्ने ? भुत्रोको कम्यूनिष्ट तिमीहरु ।