मार्क्सवादका प्रणेता कार्ल मार्क्स जन्मेको गत मे ५ मा दुई सय ६ वर्ष पुगेको छ । विश्वभरका उत्पीडित मुक्तिकामी जनताले विभिन्न समारोहको आयोजना गरी मार्क्सलाई सम्झिए । नेपालमा पनि अलग अलग अस्तित्वमा रहेका कम्युनिस्ट घटकहरुले मार्क्स जन्मेको दुई शताब्दी पुगेको अवसरमा मार्क्सवादी विचारलाई व्यापकता दिने प्रण गरे । 

 कसरी बुझ्ने कार्ल मार्क्सलाई ? 

माक्र्स १८१८ मे ५ मा एक शिक्षित परिवारमा जर्मनीको राइन प्रान्तको ट्रिर सहरमा जन्मिएका थिए । मार्क्स वकिल परिवारका सदस्य थिए । पढालेखा परिवारमा जन्मिएकाले उनी सानैदेखि सौन्दर्यशास्त्र, इतिहास र कलामा गहिरो रुचि राख्थे । मार्क्सले २३ वर्षको उमेरमै पीएचडी गरेका थिए । मार्क्स जन्मेको कालखण्डमा युरोपको विकसित दार्शनिक पद्धति ‘हेगेलवाद’ थियो । हेगेलवादमाथि उनले गहिरो चिन्तन, मनन र अध्ययन गरे, जसले उनी आफैंलाई एक दार्शनिक बनाइदियो । 

मार्क्स एक कविका साथै एक कुशल पत्रकार समेत थिए । जतिबेला उनले अ रथलेस क्रिटिसिज्म टु एभ्रिथिङ एकिजस्टिड लेख पत्रिकामा छपाए जर्मनी सत्तामा भूकम्प गयो । सो लेखमा मार्क्सले जे जे चिज अस्तित्वमा छन्, तिनका विरुद्ध लड्नुपर्छ भने । धर्म र सत्ताका नाममा भइरहेका गतिविधिविरुद्ध लड्नैपर्छ भन्ने लेखको मुख्य सन्देश थियो । मार्क्सले श्रमजीवी जनताका पक्षमा कलम चलाउन थाले । सत्तासँग उनको टकराव सुरु भयो । २५ वर्षकै उमेरमा उनी निर्वासित भएर पेरिस गए । त्यही वर्ष उनले आफूभन्दा चार वर्ष जेठी प्रेमिका जेनीफोन वेस्टफालनसँग विवाह गरे ।

मार्क्सको जीवन सुखमय कहिल्यै रहेन । उनी सर्वहारा वर्गका थिएनन् । यद्यपि पारिवारिक जीवन अत्यन्त कष्टप्रद रह्यो । कयौं रात आलु र पाउरोटी मात्र खाएर पनि उनले गुजार्नु प¥यो । गरिबीका कारण उनले रेल्वे स्टेशनमा जागिर खाने समेत विचार गरे । आफ्नो हस्तलिपि नराम्रो भएकाले मैले यो जागिर पाउन सकिनँ । उनले कुगेल्मानलाई लेखेको पत्रमा उल्लेख छ । मार्क्सका सात सन्तान थिए । तीमध्ये चार सन्तान उनले गुमाउनुप¥यो । सन् १८५२ मा आफ्ना एक सन्तानको मृत्यु हुँदा उनीसँग कात्रो किन्ने पैसा समेत थिएन भनिन्छ । मार्क्स आफ्नी धर्मपत्नी जेनीप्रति भने सधैं अनुगृहित थिए । संसारमा थुप्रै आइमाई छन् कति त निकै सुन्दर पनि छन्, तर म अरुमा कहाँ त्यस्तो चीज भेट्न सक्छु जसका प्रत्येक रेखाले अनुहारको चाहुरीले समेत मेरो जीवनका उत्कृष्ट दिनहरुको सम्झना गराउँछन् । 

प्रिय जेनी, म तिम्रो प्यारो अनुहारमा चुम्बनको वर्षा गर्छु र सबै कस्टहरु बिर्सन्छु ।’ पत्नीबारे माक्र्सले एक प्रसंगमा यसरी लेखेका छन् । जब माक्र्सले लाडप्यार खन्याएका एक छोरा बिते उनी अत्यन्त विह्वल बने । उनले लेखेका छन्– मुटुबाट रगतको धारा बग्न थाले जस्तो लाग्छ, आगो दन्किए जस्तो टाउकोराँकिन्छ । यस्तो अवस्थामा पनि मार्क्सले जीवनबाट हरेस खाएनन् । पेरिसमा निर्वासित जीवन बिताइरहेका माक्र्सलाई पेरिसबाट खेदाउन जर्मन सरकारले फ्रान्स सरकारलाई दबाब दियो । मार्क्स पेरिस छोडेर ब्रसेल्स गए । १८४८ मा ब्रसेल्सबाट पनि उनलाई हटाइयो । मार्क्स त्यसपछि जर्मन पुगे । त्यहाँका क्रान्तिकारी गतिविधिमा उनी लागेपछि जर्मन सरकारले फेरि उनलाई देश निकाला गर्‍यो । १८४९ मा उनी लण्डन गए । लण्डन जानुपूर्व नै मार्क्सले कम्युनिस्ट घोषणापत्र लेखिसकेका थिए । 

जर्मन सरकारले लखेटेपछि उनले जर्मनी नागरिकता त्यागिदिए । मार्क्सको नागरिकता राज्यविहीन मान्नुपर्छ । १८६७ मा मार्क्सको ‘पुँजी’ प्रकाशित भयो । मार्क्स एक महान दार्शनिक, समाजवादी, राजनीतिक चिन्तक र समाजशास्त्रीका रुपमा विश्वविख्यात बने । मान्छेको जीवन भौतिक छ, भौतिक जीवनको उत्पादन आफैंले गर्छ । परिस्थितिहरु मान्छे आफैंले जन्माउँदै जान्छ । मुक्ति, मोक्ष, दुःखसुख सबै कुरा अलौकिक होइनन् । भौतिक जीवनमा पाइने सुख नै सुख हो । मोक्ष मानवीय समाजमै पाइन्छ । मुक्तिका लागि मान्छेले नै प्रयत्न गर्छ । 

ईश्वरले अह्राएको खटाएको रुपमा ‘मान्छे’ को अस्तित्व रहने होइन, भनेका छन् मार्क्सले । उनले मानवले आवश्यकता पूरा गर्न जे कर्म गरे त्यही आधारमा भाषा विज्ञान प्रविधि लगायतका सबै कुरा सृष्टि भएको भने न कि कुनै धर्म वा ईश्वरले । एउटाले कमाइ गर्ने अर्कोले फल दिने यथार्थतालाई उनले अतिरिक्त मूल्यको सिद्धान्तमा व्याख्या गरेका छन् । श्रमको मूल्य मालिकल पूरा दिँदैन थोरैदिएर शोषण गर्छ भनेर व्याख्या गरे । पुँजीवादको चरित्र स्वामित्व केन्द्रित शोषण केन्द्रित हुँदै जानेतर्फ उनले औंल्याएका छन् । श्रमिकलाई शोषण गरेको मूल्य थुपारेर पुँजीपतिहरु पुँजीपति बन्छन् भन्ने सिद्धान्त उनले प्रतिपादन गरे । मान्छेले आफूले उत्पादन गरेको आफूले उपभोग गर्न पाउँदैन, अन्याय त्यहीबाट सुरु हुन्छ । 

धनी र गरिबबीच टकराज सुरु हुन्छ । हुनेहरु विरुद्ध नहुनेहरुले संघर्ष गर्नुपर्छ र आफ्नो जीवनको समस्या आफैंले समाधान गर्नुपर्छ भनेर मार्क्सलेसिकाए । महिलाले पुरुषसरह ज्याला पाउनुपर्छ भनेर पहिले आवाज उठाउने मार्क्स नैथिए । कार्ल मार्क्सकोविचार पद्धति र उनका विचारहरुको समष्टिगत सार नै मार्क्सवाद हो । मार्क्सवादको प्रतिपादन मार्क्स र एंगेल्सबाट भएको थियो । मार्क्सवाद भनेकै यी दुईको विचारहरुको प्रणाली हो । आईएसएम शब्दको नेपाली अनुवाद हो वाद । सामाजिक आर्थिक व्यवस्था र विचार पद्धति, वैचारिक व्यवस्था जनाउने अर्थमा ‘वाद’ को प्रयोग गरिन्छ । 

मार्क्सवादको उत्पत्ति र विकासमा एंगेल्सको महत्वपूर्ण योगदानहरु रहेका छन् । मार्क्सवाद एउटा विज्ञान हो । दर्शन, आर्थिक सिद्धान्त र समाजवादी सिद्धान्त यसका प्रमुख विषयवस्तु हुन् । मार्क्सवादकोविचार धारात्मक स्रोतहरु दर्शनको क्षेत्रमा जर्मन शास्त्रीय दर्शन, आर्थिक सिद्धान्तको क्षेत्रमा शास्त्रीय पुँजीवादी, राजनीतिक अर्थशास्त्र र समाजवादको क्षेत्रमा उन्नाइसौं शताब्दीको काल्पनिक समाजवाद । पहिलेका सिद्धान्तहरुमा रहेका सकारात्मक पक्षहरुलाई नयाँ आधारमा विकसित गरी प्रतिपादन गरिएकोविश्वदृष्टिकोण हो मार्क्सवाद । यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । हामी जसलाई ऐतिहासिक भौतिकवाद भन्छौं, त्यो इतिहासको क्षेत्रमा, मानव जातिको ऐतिहासिक विकासमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको प्रयोग होर यो एक मार्क्सवादी समाजशास्त्र पनि हो । मार्क्सवाद एउटा अर्थशास्त्र र आर्थिक सिद्धान्त हो, यस सिद्धान्तको आधारशिला अतिरिक्त मूल्यकोसिद्धान्त हो । मार्क्सवाद समाजवादसम्बन्धी एउटा सिद्धान्त हो, जसलाई वैज्ञानिक समाजवाद भनिन्छ । 

मार्क्सवाद एक राजनीतिक सिद्धान्त हो जसको मुख्य तत्व हो वर्गसंघर्षको सिद्धान्त । दर्शन, अर्थशास्त्र र समाजवाद मार्क्सवादका तीन प्रमुख घटक हुन् । त्यसका अभिन्न अंग हुन् । समाजवादलाई एउटा कल्पनाबाट विज्ञानमा फेर्ने काम जुन मार्क्स र एंगेल्सले गरे त्यो वास्तवमा मानव जातिप्रतिको उनीहरुको महानतम योगदान थियो । १९ औं शताब्दीको पाँचौं दशकमा प्रतिपादित यस सिद्धान्तले अहिलेसम्म अनेकौं चरण पार गरिसकेको छ । मार्क्सवादलाई सर्वप्रथम प्रयोगमा उतार्ने व्यक्ति लेनिन हुन् । उनीपछि माओ, होचिमिन्ह, फिडेल क्यास्ट्रो, ह्युगो चाभेज लगायत धेरैले माक्र्सवादलाई व्यवहारमा उतारे । सोभियत संघको पतनपछि मार्क्सवादको उपयोगिता सकियो भनेर प्रचार गरियो जुन गलत छ । 

संसारको क्रान्तिकारी रुपान्तरण गर्ने अर्थात् शोषण व्यवस्थाको लासमा वर्गहीन कम्युनिस्ट शासनको निर्माण गर्ने विश्व सर्वहारा वर्गको महान् लक्ष्यका लागि चलाइने संघर्षको अचुक हतियारका रुपमा यसकोस्थितिको प्रमाणीकरण भइसकेको छ । भइरहेको छ । मार्च १८, १८८३ मा मार्क्सको देहान्त भयो । मार्क्स अझै आन्दोलनमा, आलेखमा विचार र बहसमा बाँचिरहेकै छन् । मार्क्सले वर्ग र राज्यको ‘विलोप’ हुन्छ भनेका छन् । यसमा भने सबै मार्क्सवादीहरु सहमत छैनन् । स्वयं मार्क्सले भने आफू मार्क्सवादी नभएको बताएका छन् ।