काठमाडौं - नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार’ गीतकार किरण खरेललाई प्रदान गरिएको छ। 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार पोखरामा खरेललाई उक्त पुरस्कार हस्तान्तरण गरे। 

पोखरेली युवा सांस्कृतिक परिवारले हङकङमा परिवारका संस्थापकमध्येका एक विक्रम गुरुङको अगुवाइमा आयोजित कार्यक्रमबाट संकलित रकमलाई कोष बनाई पुरस्कार सुरु गरेको हो। परिवारका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार ५ लाखबाट सुरु कोषमा अहिले १८ लाख रुपैयाँ जम्मा भइसकेको छ। 

नेपाली सांगीतिक क्षेत्रमा गायक, संगीतकार र रचनाकार रुपका त्रिवेणी अम्बर गुरुङको सम्मान र स्मृतिमा पुरस्कार स्थापना गरेको परिवारका संस्थापकमध्येका एक कवि तीर्थ श्रेष्ठले बताए। पहिलो पटक खरेललाई उक्त पुरस्कार प्रदान गरिएको हो। कवि श्रेष्ठले खरेलका गीतबाट नेपाली सुगम संगीतको नयाँ आयाम सुरु भएको र उनको लेखनी एउटा कोसेढुंगा भएको बताए। 

साहित्यकार सरुभक्तले परम्परागत गीत लेखनको मानक भत्काउने श्रेय किरण खरेललाई जाने विचार राखे। उनकै संयोजकत्वको प्रतिभा छनोट समितिले खरेललाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। 

पुरस्कृत खरेलले पुरस्कारलाई अम्बर गुरुङको सुकिलो योगदानको चम्किलो सम्मानको संज्ञा दिए। ७ सय हाराहारी गीत लेखेका ८५ वर्षे खरेलको ‘ए दूरका सितारा’ गीति संग्रह पनि शनिबारै पोखरामा लोकार्पण गरिएको थियो। 

चलचित्र माइतीघरका लागि खरेलले लेखेको ‘यो हो मेरो प्यारो माइतीघर...’ गीत निकै चर्चित छ। उक्त गीतको सुटिङ पोखरामै भएको थियो। खरेलका नमान लाज यसरी, वनमा फूल्यो फूल, मन्दिरमा छ कि मूर्तिमा माया लगायत गीत चर्चित छन्।