काठमाडौं - नेपालगन्जको भिजन आँखा अस्पतालले नेपालमै पहिलो पटक आँखा अप्रेशनका लागि मोडुलर अप्रेशन थियटर निर्माण गरेको छ। बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर फेको तथा जलविन्दु विशेषज्ञ डा.प्रचण्ड गौतमले आँखा अस्पतालमा पहिलो पटक मोडुलर अप्रेशन थियटर निर्माण गरेको जानकारी दिए।

उनले भने, ‘नयाँ खुलेका जनरल अस्पतालमा मोडुलर अप्रेशन थियटर निर्माण गरिएको छ। आँखा अस्पतालमा भने हामीले देशमै पहिलो पटक मोडुलर अप्रेशन थियटर निर्माण गरेका हौं। आँखा उपचारको सबैभन्दा पूरानो तिलगंगा आँखा अस्पतालमा पनि मोडुलर ओटी छैन। त्यहाँको टोलीले भर्खरै हाम्रो ओटी हेरेर गएको छ।’ अस्पतालले झन्डै ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमि मोडुलर गरी २ वटा अप्रेशन थियटर निर्माण गरेको छ। विगतको अप्रेशन थियटरमा दैनिक २० देखि २५ वटा आँखाको अप्रेशन गर्ने क्षमता रहेकोमा अब दुई वटा मोडुलर अप्रेशन थियटरबाट दैनिक एक सय जनाको अप्रेशन गर्ने गरी क्षमता विस्तार गरेको छ। मोडुलर अप्रेशन थियटर महंगो प्रविधि भएकाले सामान्य अप्रेशन थियटरबाट काम भइरहेको बताउँदै डा.गौतमले यो प्रविधिबाट अस्पतालमा हुने संक्रमणबाट जोगाउन सकिने डा.गौतमले बताए। 

२७ माघ २०७५ मा १५ शैयाको भिजन आँखा अस्पताल नेपालगन्जमा खुलेको हो। अस्पतालमा जनरल वार्डका बिरामीलाई शैया निःशुल्क छ। अस्पतालले ३ वटा स्पेशल क्याबिन बनाइरहेको छ। ‘आँखा सम्बन्धी कुनै पनि समस्या नेपालगन्जमै उपचार हुने गरी हामी काम गरिरहेका छौं। अबको एक वर्षभित्र आँखा उपचारको लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ’, डा.गौतमले दाबी गरे।