चीसो मौसममा विहानै ‘मर्निङ वाक’ घातक

हरि चौधरी,

कचौरा अकारमा रहेको काठमाडौ खाल्डोमा हावा चल्ने दिशा पुर्व पश्चिम मात्र हो भन्छन् जानकारहरु । अवस्थिति र भूबनोटका कारण हुरीबतासकै गतिमा हावा चल्यो भने मात्रै यहाँको प्रदुषित हावा उपत्यकाबाट हुत्तिएर बाहिरिन सक्छ, अन्यथा यहाँ रुमल्लिरहन्छ भन्छन् यसका अध्येताहरु । त्यही प्रदुषित हावामै हामी सबै आ–आफ्नो फोक्सो ‘सफा’ गरिरहेका हुन्छौ विहानी हिडाईसँगै । अर्थात् प्रदुषित हावा फेर्दै बाँच्न उपत्यकाबासी अभिशप्त छन् अहिले । तर सरकारी पक्षभने यसमा बेखबर भएको हो कि भन्ने भान भइरहेको छ सबैलाई । समाचारका हेडलाईन र सम्पादकीय त्यसैतर्फ सुझेका देखिन्छन् आज भोली ।

उपलब्ध तथ्याँक अनुसार बायुप्रदुषणको तहलाई नियाल्दा दैनिक जसो बर्षा हुने समयमा बिहानीहरु तुलनात्मक हिसाबले हिउँदको भन्दा स्वच्छ हुने गरेका देखिन्छन् । गर्मीयाममा तापक्रम पनि ज्यादा हुने हुनाले सखारै मर्निङ वाकमा निस्कने सबैलाई बिहानी शीतलताको स्पर्श लाभदायक नै हुन्छ होला सायद । तर हिउँदे याममा उपत्यकाको धुलो, सवारी साधानबाट निस्कने धुवा लगायत ईटाभट्टाको उत्सर्जनको अतिरिक्त यदाकदा फोहोर मैला सहितको घरायसी घुरान खुला रुपमा जलाउने प्रबृत्तिका कारण निस्कने कार्बनमनोक्साइड समेतका विसाक्त कणहरु उपत्यकाको बायुमण्डल बिगार्ने प्रमुख कारक तत्व भएकाले यी र यस्तै तत्वहरु बायुमण्डलमा रही रहदा उपत्यका बासीले बाध्य भएर सोहि बिसाक्त कणसहितको धुमिल मौसमी हावामा दैनिक श्वासप्रश्वास गर्नु परिरहेको छ । 

हामी जो कोहीले स्कुले जीवनमा विज्ञान विषयको अध्यन गर्दा हासिल गरेको ज्ञान र तथ्य के हो भने प्रकाश सश्लेषण (फोटोसिन्थेसिस) को सिद्धान्त अनुसार प्रत्येक बोटविरुवाले आफुलाई आबश्यक पर्ने खान (ग्लुकोज) बनाउँछ । बोटविरुवाका लागि अत्याबश्यक रसद पानीको कच्चा पदार्थ, घामको उज्यालो, जमिनमुनीको खनिजयुक्त पानी हावामा तैरेको कार्बनडाईअक्साइड नै हो । यिनकै साहारा लिएर बोटविरुवाले आफ्नो क्लोरोफिलयुक्त पात मार्फत आफुलाई चाहिने ग्लुकोज बनाउछन् । यो समयमा बोटबिरुवाले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड लिएर अक्सिजन फ्याँक्छन् । त्यसैले जति धेरै बोटविरुवा हाम्रो वरपर हुर्काउन सक्यो, त्यतिनै स्वाच्छ बायु प्राप्त हुन्छ भनिएको हो । उक्त अक्सिजन हामी सबैको प्राणवायु हो भन्ने तथ्य पनि हामी सबैलाई धेरै पहिले देखि नै थाहा भएको सत्य हो ।

विज्ञानले प्रमाणित गरेको अर्को सत्य के पनि हो भने केहि अपबात बाहेक बोटविरुवाले पनि रातमा हामीले जस्तै अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याक्ने गर्छन् आफ्नो श्वासप्रश्वासका लागि । अध्यन अनुसन्धानका ठेली पल्टाउँदा पिपल, तुलसी, एलोबेरा जस्ता केही सिमित बोटविरुवाले मात्रै २४ सै घण्टा बायुमण्डलमा अक्सिजन फाल्ने क्षमता राख्छन् । यद्यपि यिनले पनि दिउँसोको तुलनामा राती न्यून मात्रामा अक्सिजन फाल्ने तथ्य अभिलेखहरुमा भेटिन्छ । त्यस्ता बोटबिरुवाका प्रचुरता उपत्यकामा सायदै होला । भएका पिपलका बोट पनि बाटो विस्तारका बाधक मानी काटिएका छन् कैयन स्थानमा । क्रमसः साँघुरिदै गएको र पर्याप्त स्थान अभावका कारण गाउँ घरमा जस्तो मठ सहितको तुलसीको बोट सबैका घर आँगनमा पक्कै छैनन्, उपत्यकामा । कहि कतै नर्सरी वा घरका छट वा कौसीमा रहेका गमलामा सजिएका हुन सक्छन् । यदाकदा तुलसी र एलोभेराका केही बोट सौखका रुपमा । 

जाडोको पारो चढेसँगै रातको चौथो प्रहार अर्थात् विहानी पख उपत्यकाको बाताबरण कठ्याङग्रिदो चिसोमा रुपान्तरित हुन्छ । यहिबेला देखि उपत्यका बासीको दौडधुप सुरुहुन थाल्छ केहि काममा (प्रायः स्कुल कलेज, पत्रपत्रिका वितरक, तरकारी व्यवसाय लगायत, दुध ढुवानी आदी) त कोही विहानको ताजा हावामा टहलिन । यस्तो समयमा अघिल्लो साँझ दिउँसो भरिको तापक्रमले गर्दा जमिनबाट उडेर सम्भवतः वायुमण्डलको माथिल्लो तहमा पुगेको धुलो–धुवाका कणयुक्त विषाक्त वायु पुनः रात छिपिदै जाँदा वायुमण्डल चिसिदै जाने क्रममा आकार र ओजन अनुसारका विभिन्न तौलका कणहरु थर्मल इन्भर्सन एवं गुरुत्वाकर्षणका कारण क्रमशः जमिन तर्फ झरेको, झर्दै गरेको वा झर्ने तर्खरमा हुन्छन् ।

एका विहानै मर्निङ वाकमा निस्कदा विग्रदो मौसमसँगै घुरमैलो बायुमण्डलमा अन्तरघुलित अवस्थामा लुटपुटिलिएररहेको विषाक्त सोही कणसहितको वायु घुम्दैफिर्दै हाम्रो नजिकको वायुमण्डलमा आइ पुगेको हुन सक्छ । त्यसैले बिहानीपख वायु मण्डलको तल्लो तहमा फोक्सोसम्मै पुग्न सक्ने खालका सुक्ष्मकणयुक्त हावा चलिरहेको हुन सक्छ । सखारै मर्निङ वाकमा निस्कदा सोहि वायु लिनु पर्ने वाध्यताको विकल्प हामीसँग हुदैन । त्यसका अतिरिक्त माथि भनिएझै सुर्योदयको लालिमा अर्थात् उज्यालो जमिनमा नझरुन्जेल हाम्रो वरपरका प्रायः सबै बोटविरुवाले खाना बनाउन सक्दैनन् तर अक्सिजन लिएर वायुमण्डलमा कार्वनडाइअक्साइडको घनत्व भने बढाईरहेका हुन्छन्, श्वासप्रश्वासकाक्रममा । त्यसैले वायुमण्डलमा अक्सिजनको मात्र न्युन र कार्वनडाइअक्साइडको मात्र बढी हुन सक्छ विहानी पख । उपत्यकाको भौगोलिक बनौट र स्वरुप हेर्दा सखारै मर्निङ वाकमा निस्केर आफ्नो फोक्सो ‘रिचार्ज गर्न’ खोज्ने जोकोही डुलुवा धुलोका कणमिश्रित कार्वनडाइअक्साइयुक्त वायुको सिकार हुनपुग्ने हो कि ? भन्ने चिन्तालाई मत्थर गर्न एक अध्ययन नै गर्नु पर्ने अवस्था आएको छ भन्दा अतिशयोक्ति नहोला । 

सबै उमेर समूहकाले नभए पनि ४० बर्ष उमेर काटेपछि चिकित्सकले प्रायः सबैलाई आधादेखि एक घण्टासम्म पसिना आउने गरि मर्निङ वाक (विहानी हिडाई) का लागि सुझाव दिने गरेको भए पनि जाडोयाम सुरु भएसँगै मुटु, दम र उच्च रक्तचाप भएका मानिसहरुले खालीपेटमा ननिस्कने, कठ्याग्रिने समस्या (हाइपोथर्मिया) बाट बच्न सखारै हिड्डुल गर्न नहुने राय सुझाव दिने गरेका छन् विगत केहि बर्ष यतादेखि । उसो त जाडोयाममा यसैपनि जोकोहिको रक्तचाप बढ्ने बताउँछन् चिकित्सकहरु त्यसैले उपत्यकाको जाडोमा सखारै मर्निङवाकमा निस्केर घर फर्कदै गर्दा बाटोमै ढलेका, कोही घर पुगेपछि पनि बौरिन नसकि मृत्युवरण गरेका घटनाहरु पनि समाचारमा यदाकदा आउने गरेका र त्यस्ता घटनापश्चात एकाएक चिकित्सक कहाँ जचाउन धाउनेको लर्को (सिन्ड्रोम) पनि विगतदेखि तपाई हामी सबैले देख्दै आएका छौ । 

विहानदेखि बेलुकासम्मै नाकमुख छोप्न मास्क लगाएर हिड्नु पर्ने अवस्था भएकैले होला सायद आजकाल काठमाडौ, स्वच्छ काठमाडौ नभएर मास्कमाण्डौंमा रुपान्तरित भएको छ भन्छन् प्रायः सबै । दिनको लागभग ८ देखि १२ घण्टा मास्क लागएर हिड्डुल गर्नु समान्य नै भैसकेको छ र यसमा उपत्यकाबासी पनि अभ्यस्त भैसकेका छन् । 

जुनसुकै बेला मास्क लगाउनै पर्ने भएपछि विहान घामलागेपछि नै किन नहिड्ने ? सखारै हिड्नुको सट्टा घाम लागेपछि हिड्नका लागि समयले साथ दिनेहरुलाई अक्सिजनको प्रचुर्ता मात्र नभई बिहानीपखको भिटामिन ‘डी’ युक्त घाम पनि सहजै र सितैमा प्राप्त भैरहेको हुन्छ, चिकित्सकहरुका अनुसार । भिटामिन ‘डी’ को कमीले हुने रोगहरुबाट मुक्ति पाउन कैयनले आजभोलि भिटामिन ‘डी’ का क्याप्सुल र सप्लिमेन्टका रुपमा खाइरहेका भेटिन्छन् । त्यसैले तँछाड–मछाड गर्दै अरुभन्दा पहिले घाम नलाग्दै ताजा अक्सिजनले आफ्नो दैनिकी फुर्तिलो बनाउँन हिडेको ब्यक्ति यमलोकको यात्रामा पो पुग्ने हो कि भन्ने खतरा उपत्यकाको बढ्दो रफ्तारमारहेको वायु प्रदुषण, यसको कचौरे बनौट र कर्मथलो यही भएकाले यही बस्ने र रमाउने हाम्रो छनौट नै कतै घातक हुने हो कि भन्ने तर्फ पनि हामी सबैले सोच्नै पर्ने बेला आएको छ । यसलाई समय नभड्किदै नसोच्ने हो भने हिउँदयामको उपत्यका विषाक्त ग्याँसरुपी च्याम्बरमा पो रुपान्तरीत हुदै जाने हो कि (?) समयक्रमसँगै । यसतर्फ सबैले सोच्नै पर्ने बेला आएको छ ।