पारिजात फूलको महत्व

मदन वास्तोला,

हिन्दु धर्ममा भगवान्को आराधना, पूजा सत्कारमा फूलको विशेष स्थान रहन्छ । फूललाई पवित्रता, शुद्धता र प्रेमको प्रतीक पनि मानिन्छ । सृष्टिको अनुपम देन, सुन्दर र पवित्र रचना हो फूल । सुन्दर संसारमा अनेक खालका रङ्गीबिरङ्गी तथा फरक गुण भएका फूल पाइन्छन् । तीमध्ये एक फूल हो पारिजात ।

राति आउने यसको सुगन्धलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भनिन्छ । रातभरि ढकमक्क मनमोहक रूपमा फुलेर घर, टोल सुगन्धमय तुल्याउने अनि सूर्योदय अगावै भुइँभरि असरल्ल झरेर मन खिन्न बनाउने यस अद्भूत पुष्पवृक्ष बारेमा सबैलाई कौतुहलता हुन्छ । पारिजातको फूल देख्दा जसरी अलौकिक लाग्दछ त्यत्तिकैरहस्यमय छन् यो फूलसँग जोडिएका किंवदन्ती र धार्मिक वर्णनहरू । 

पारिजात वनस्पतिको प्रजातीय नाम निक्टान्थस आर्वोट्रिस्टिस हो । ग्रीक भाषाको शाब्दिक अर्थमा योरातमा फुल्ने दुखित वृक्ष हो भन्ने खुल्न आउँछ । यो फूललाई अंग्रेजीमा नाइट जेस्मिन, संस्कृतमा सेफालिका, नेपालीमा पारिजात र हिन्दीमा हरसिँगार भनिन्छ । यो दक्षिण एसियालगायत पूरै भारतीय उपमहाद्वीपमा यति प्रख्यात छ भने विभिन्न स्थानमा अनेक नामले एक दिव्यवृक्षका रूपमा चिनिन्छ । भारतको बङ्गाल राज्यमा हरसिँगारलाई राजकीय फूल मानिन्छ । 

यो फूललाई मराठीमा पारिजातक, गुजरातीमा हरशणगार, बङ्गालीमा सेफालिका, सिउली, असमियामा सेवाली, तेलुङ्गुमा पारिजातमु र पगडमल्लै, तमिलमा पवलमल्लिकैर मज्जपु, मलयालममा पारिजातकोय आदि । यो जाई परिवारको वनस्पति हो तर यसको पात भने कमलोर मुलायम नभई झन्डै खाक्सीजस्तै खस्रो हुन्छ । 

पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएकोर हिउँजस्तै कञ्चन सेतो हुन्छ । पारिजात फूल अनेक देवीदेवताकोप्रिय भनेर आस्था राख्नेहरू यो फूल बटुल्न साँझैदेखि बोटमुनि चोखो कपडा वा नाङ्लो ओछ्याएर बटुल्ने गर्छन् । पारिजात फूलको उत्पत्तिका बारेमा हरिवंश पुराणमा गरिएको धार्मिक वर्णन अनुसार यो पुष्प देवता र दानवबीच भएको समुद्र मन्थनबाट उत्पत्ति भएकोथियो । पछि भगवान् इन्द्रले यो वृक्षलाई इन्द्रलोक लिएर गए । 
स्वर्गमा मात्रै पाइने योदिव्यवृक्ष पृथ्वीमा कसरी आइपुग्यो भन्नेजिज्ञासा यसरी समाधान गरिएको छ– एक दिन नारदमुनि उपहारस्वरूप पारिजात फूल लिएर इन्द्रलोकबाट कृष्णलाई भेट्न पुगेछन् । भगवान् कृष्णलाई त्यो फूल अत्यन्त सुन्दर र मोहक लागे छ । उनले आफ्नो साथमा रहेकी प्रिय पत्नी रुक्मिणीलाई सो फूल दिएछन् । त्यसपछि नारदले फेरि कृष्णकी अर्की पत्नी सत्यभामा कहाँ पुगेर आफूले स्वर्गबाट ल्याएको अलौकिक पुष्प कृष्णले रुक्मिणीलाई मात्रै दिएकोर उनका लागि एउटा पनि नराखेको कुरा सुनाइदिएछन् । अनि रिस र इष्र्याले आगो भएकी सत्यभामाले कृष्णलाई पारिजातको वृक्ष नै ल्याइदिन ढिपी गरिछन् । 

उनको हठले वाक्क भएर कृष्णले सो वृक्ष स्वर्गलोकमा मात्र भएकोर इन्द्रसँग अनुरोध गरेर ल्याइदिने वाचा गरेछन् तर यता नारदमुनिले फेरि स्वर्गलोकमा पुगेर कृष्णले पारिजात वृक्ष लिन आउँदै गरेको तथा उक्त वृक्ष इन्द्रलोकको सम्मान र सम्पत्ति भएकाले कृष्णलाई सुम्पन नमिल्ने कुरा इन्द्रलाई सुनाए । 

जब कृष्णले आफ्ना एक जना दूतलाई पारिजातको वृक्ष लिन इन्द्रलोक पठाए इन्द्रले पारिजात दिन अस्वीकार गरे। कृष्णले आफ्ना दूत फूल नलिइकन खाली हात आएको देखेर क्रोधित भई इन्द्रलोकमा आक्रमण गरेर पारिजात आफ्नो कब्जामा लिन सफल भए तर देवराज इन्द्रले आवेगमा आएर श्राप दिएछन् यो पुष्प रातमा मात्र फुल्ने छ, दिनमा कसैले देख्न सक्ने छैन र यसमा कुनै फल लाग्ने छैन । 

कृष्णले पारिजातको वृक्षलाई धर्तीमा लिएर आए र पत्नी सत्यभामाको वाटिकामा रोपिदिए तर वृक्ष थियो सत्यभामाको बगैँचामा तर त्यसको फूल भने रुक्मिणीको बगैँचामा झथ्र्यो । यसरी अहिले पनि देखिन्छ यो फूल बोटको सीधै तल फेदमा या नजिकै नझरेर अलि टाढा झर्ने गर्दछ । 

पारिजातसँग जोडिएको अर्को कथामा द्वापरयुगमा जब पाँच पान्डव गुप्तवासमा थिए तब माता कुन्तीले सत्यगाभाको बगैँचामा पारिजात फूल देख्दा शिवजीको आराधनामा पारिजात फूल चढाउने इच्छा जाहेर गरेपछि कुन्तीपुत्र अर्जुनले द्वारका स्थित सत्यभामाको बगैँचाबाट पूरै वृक्ष नै उखेलेर गुप्तवास अवधिमा बसेको गाउँ किंतुर (हाल भारतका उत्तर प्रदेशको एक गाउँ)मा ल्याएको उल्लेख छ । 

उक्त पारिजात वृक्ष अहिलेसम्म पनि सो ठाउँमा पाइन्छ र त्यसलाई छोए मात्र पनि सारा रोग भाग्छ भन्ने जनविश्वासमा टाढाटाढाबाट मान्छे त्यहाँ आउने गरेका छन्। यसरी सम्पूर्ण भारतीय उपमहाद्वीपमा यसको धार्मिक महत्व र महिमा फैलियो । दक्षिण भारतमा यो फूल केश शृङ्गारमा महिलाले विशेष रूपमा प्रयोग गरेको पाइन्छ । 

यो फूलको उत्पत्ति सम्बन्धमा अर्को किंवदन्ती अनुसार पारिजातक एक राजपुत्री थिइन् । तिनको सूर्यसँग गहिरो प्रेम पर्छ । पछि गएर सूर्यलेतिनलाई तिरस्कार गर्छन् र टाढिन्छन् । अनि प्रेमवियोग खप्न नसकेर पारिजातले आत्महत्या गर्छिन्र उनको दाहसंस्कार गरिन्छ । उनको चिताको खरानीबाट एउटा वनस्पति उत्पन्न हुन्छ त्यही हो, पारिजात । यसैले होला सूर्यलेतिरस्कार गरेकै कारण सूर्योदय हुनुअगावै पारिजातका सबै फूल झरी पनि हाल्छन्  । 

यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा मात्र मोहित भएका होइनन् देवी लक्ष्मीको पनि विशेष मन पर्ने फूल हो यो । किनभने यी दुवै समुद्र मन्थनको क्रममा जलबाट उत्पत्ति भएका मानिन्छन् । अर्को एक शास्त्रोक्ति अनुसार स्वर्गकी अप्सरा उर्वशीलाई मात्र पारिजात फूल छुने अधिकार दिइएकोथियोर उनी यो फूललाई छोएर आफ्नो थकान मेटाउने गर्थिन् । 

यसर्थ यसको धार्मिक महत्व के छ भने जसले यो फूल एकचोटि छुन्छ तब सारा थकान मेटिएर उसको शरीरले स्फूर्ति प्राप्त गर्छ । घरमा लगाउँदा मात्रै पनि यसले मानसिक तनाव कम गर्छ तथा घरमा भएका वास्तु, देव या पितृदोष नाश भएर जान्छन्। यसले अन्य नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा भरिदिन्छ भन्ने भनाइ छ । 

त्यसैले पारिजात घरमा रोप्नु अत्यन्त शुभ मानिन्छ । धार्मिक महत्व त आफ्नो ठाउँमा छँदैछ त्योबाहेक स्वास्थ्यका दृष्टिले पनि यो त्यत्तिकै बहुऔषधीय गुणले भरिपूर्ण छ । यसको फूल, पात र बोक्रा तीनै भाग उत्तिकै उपयोगी छन् । यसमा एन्टिएलर्जिक, एन्टिभाइरल, एन्टिब्याक्टेरियल क्षमता हुन्छ । ज्वरो, औलो, डेङ्गुलगायत मुटुरोग, हाडजोर्नीको समस्या, छालासम्बन्धी रोग, खोकी, दम, दुःखाई र तनाव कम गर्न यसले औषधीय काम गर्छ भन्ने मान्यता रहिआएको छ । 

यसको पातमा रहेको टेनिक एसिड, मिथायल सिलसिलेट, ग्लुकोसाइड र एन्टिअक्सिडेन्ट जस्ता तत्वले शरीरका कोषलाई बचाइराख्न, बुढ्यौली ढिलो गराउन, स्त्रीरोग र क्यान्सर रोकथामका लागि त्यत्तिकै लाभकारी हुन्छन् । यसर्थ यति लाभकारी वनस्पतिका बारेमा जनमानसमा यसको महत्व बुझाइ जगेर्ना र वृक्षरोपणका लागि प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।