काठमाडौं - नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड (सामूहिक लगानी कोष) हरूमाथि कडाइ गरेको छ। 

 म्युचुअल फन्डहरूमाथि बोर्डको कडाइ

आईपीओ निष्कासनमा पाउँदै आएको ५ प्रतिशत कोटा सेयर तत्कालै बेचेर बाहिरिन थालेपछि म्युचुअल फन्डमाथि बोर्डले कडाइ गरेको हो।

बोर्डको निर्देशनअनुसार अबदेखि म्युचुअल फन्डहरूले आईपीओ निष्कासन गरेको ६ महिनासम्म सर्वसाधारणलाई सेयर बेच्न पाउने छैनन्। बोर्डले एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो। ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तीमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्ट्याउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्थाबमोजिम सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन्,’ बोर्डले जारी गरेको निर्देशनमा भनिएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम उक्त व्यवस्था गरेको बोर्डले जनाएको छ। धितोपत्र बोर्ड सोहीअनुसारको व्यवस्था गर्न र गराउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरूलाई निर्देशन दिएको छ। तर, यसरी खरिद गरेको धितोपत्र निर्धारित समयावधि समाप्त हुने अवधिभित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री  गर्न सकिनेछ।