काठमाडौं - कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोसीको राजनीतिक संकट समाधान भएको छन्। पद तथा शपथ लिएका छन्।  

एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जना सांसदहरुको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन्।

केन्द्रीय गठबन्धनले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो। तर, कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। 

पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले भने, 'प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने जनतामा चिन्ता र चासो थियो। राज्यको ढुकुकी बीचमै खर्च हुने पो हो कि भन्ने चिन्ता थियो त्यो हटेको छ। यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेका थिए। सहमतिको सरकार लागि ढोला खुला छ।'

मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिकलगायत विभिन्न विषयमा वार्ता, छलफल र सहमतिका आधारमा टुंगो लगाउने बताए। उनले प्रदेशको समृद्धिका लागि हातेमालो गर्दै अगाडि जाने बताए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकास पनि सरकारको प्राथमिताका रहने बताए।

मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका हुन् ।  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।