सुशासन अभियानमा अग्रणी अभियन्ताका रुपमा क्रियाशिल रहँदै आउनु भएका गोविन्द गिरी नेपाल सुशासन पार्टीको संस्थापक महासचिव रहनु भएको थियो । नेपालवादका भाष्यकार गिरी प्रखर राष्ट्रवादी व्यक्तित्व हुनु हुन्छ । भाषणकलामा निपूर्ण उहाँले थुप्रैसंघ संस्थाको कुशलता पूर्वक नेतृत्व संहालि सक्नु भएको छ । साहित्य, संगीतमा विशेष रुचि राख्ने गिरी गितकारको रुपमा समेत स्थापित हुनुहुन्छ । प्रतिभाशाली युवा नेता गिरी नवगठित ‘राष्ट्रिय मातृभूमि पार्टी’ को महासचिव बन्नु भएको छ । प्रस्तुत छ समसामयिक राजनीति र नयाँ पार्टी गठनको औचित्यबारे ग्रेटर नेपालका सम्पादक तेजेन्द्र प्रसाईले उहाँसँग गरेको संक्षिप्त भेटवार्ता । 

 जनता एउटा ठूलो विद्रोहको प्रतिक्षामा रहेका छन् 

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई तपाईले कसरी निहालिरहनु भएको छ ?

– अहिलेको व्यवस्था र राजनीतिक अवस्थाले मुलुकलाई कहाँ पुर्‍याएको छ त्यो कुरा सामान्य मानिसको आँखाले पनि स्पष्ट देखिरहेको छ । वर्तमान संसदीय व्यवस्था र आलोपालो प्रणालीले पटक पटक दोहोरिदै आएका अदुरदर्शी, असक्षम, भ्रष्टाचार र सामाजिक विकृतिमा चुर्लुमम दुबेका नेतृत्वका कारण देश अस्तव्यस्त र द्वन्द्वको भूँवरी तर्फ उन्मुख छ । अहिलेकै व्यवस्था र मौजुदा निर्वाचन प्रणाली कायमै रहने हो भने मुलुकको अवस्था अझ भयावह बन्दै जाने छ । मुलुक आर्थिक रुपमा टाट पल्टिनै लागेको अवस्थामा पुगि सकेको र थेग्नै नसक्ने ऋणको बोझ देश र जनतालाई बोकाएर शासन सत्तामा मोजमस्ती गर्ने नेतृत्व र यो पद्धतिबाट आशा गर्ने ठाउँ देखिदैन । 

मुलकमा दर्जनौ राजनीतिक पार्टीहरु विद्यमान रहेको अवस्थामा “राष्ट्रिय मातृभूमि पार्टी” दर्ता गर्नु भयो नयाँ पार्टीको खाँचो किन पर्‍यो ?

– हामीले नयाँ दल दर्ता गर्‍यौं भन्नुभन्दा पनि यसको पृष्टभूमिमा थोरै जानु पर्ने हुन्छ । चौतर्फी मौलाएको भ्रष्टाचारको विरुद्धमा शुरु भएको सुशासन अभियानबाट नेपाल सुशासन पार्टी जन्मिएको थियो । यसै गरी आत्मानिर्भरता र भान्सा औषधालयको अभियानबाट नेपाल आमा पार्टी, ग्रेटर नेपाल अभियान, अग्र्यानिक कृषि अभियानबाट नयाँ पार्टी नेपाल स्थापना भएको थियो । हामीहरुलाई विभिन्न राजनीतिक अभियानमा भएका भेटघाट र विचार विनिमयबाट नजिकिने र एक अर्कालाई बुझ्ने मौका मिल्यो । चरणबद्ध रुपमा भएका छलफल, सम्वादले हामीले एकै ठाउँमा उभिदा एउटा सवल र मुलुकको राजनीतिलाई विकल्प दिन सक्ने पार्टी बन्न सक्ने निष्कर्ष निकाल्यौं । 

हाम्रो दृष्टिकोणमा सहमति जनाउँदै केही स्वतन्त्र नागरिक अभियन्ता, बुद्धिजिवी, कानुन व्यावसायी र अन्य पार्टी परित्याग गरेका साथीहरु पनि हामीसँग जोडिन आउनु भयो । यहि पृष्टभूमिमा नेपाली राष्ट्रियताको रक्षा, मातृभूमिको सेवा गरेर नेपाल आमाको मुहार जनाउने, हँसाउने उद्देश्यका साथ ‘राष्ट्रिय मातृभूमि पार्टी’ दर्ता गरि अघि बढ्ने संकल्प ग¥यौं । दल दलमा फसेको मुलुक र जनताको उज्जवल भविष्यको मार्ग चित्र कोर्ने इच्छा शक्ति र यथास्थितिको अवस्था परिवर्तन गर्ने गहन र जिम्मेवारपुर्ण दायित्व बोकेर ‘राष्ट्रिय मातृभूमि पार्टी’ को उदय भएको छ । हामी अन्य पार्टीहरु भन्दा विल्कुलै फरक ढंगको सोच, कार्यशैली, योजना र विचार लिएर राजनीतिको मैदानमा आएका छौ । 

राष्ट्रिय मातृभूमि पार्टीले लिएका मुख्य सिद्धान्तहरु कस्ता रहेका छन् ?

– ‘राष्ट्रिय मातृभूमि पार्टी’ को मुख्य पाँचवटा आर्दश र सिद्धान्त रहेका छन् जसमा राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवाद हुन् । सत्ताको स्वार्थपूर्ति गर्न विदेशी हस्तक्षेप निम्त्याएका कारण हाम्रो देश विदेशीको क्रिडाभूमि बन्दै गएर राष्ट्रियता प्रति गंम्भीर आँच पुगि रहेको छ । अस्थिर ढँगको परराष्ट्र नीति अवलम्बन गरेका कारण सत्ता परिवर्तन भएनै पिच्छे विभिन्न विदेशी शक्ति पृष्ठभूमिमा रहेको झल्को स्पष्ट देखिन्छ । त्यसैले सवल सृदृढ र वैदेशिक हस्तक्षेप मुक्त राष्ट्रियताको पक्षमा राष्ट्रिय मातृभूमि पार्टीको अहम भूमिका रहने छ । 

हामी जनतन्त्र अर्थात् जनताको प्रत्यक्ष शासनमा विश्वास गर्छौ । मुलुकको विकास र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र विधायिकाबाट निर्वाचित आलंकारिक राष्ट्रपतिको पक्षमा हामी छौं । जनताले जवसम्म प्रत्यक्ष निर्वाचनद्वारा आफ्नो मुलुकको कार्यकारी चयन गर्न सक्दैनन् तबसम्म लोकतन्त्र मजबुत बन्दैन । जनताको प्रत्यक्ष मत अभिव्यक्ति गर्ने स्वतन्त्रता नै जनतन्त्र हो । 

मातृभूमि पार्टीको अर्को आदर्श सुशासन हो । भ्रष्टाचारका दर्जनौं काण्डहरुले मुलुकको खर्वौ रकम नोक्सानी पु¥याइएको छ । गरिव जनताको भाग खोसेर सत्ता र सत्ता निकट रहेका मुट्ठीभर व्यक्तिहरुले मोज मस्ती गरिरहेका छन् । तल्लो तह वडा देखि मन्त्री परिषदसम्म मौलाएको भ्रष्टाचार र तस्करीको जालोले मुलुकको पहिचान विश्वको भ्रष्ट मुलुकका रुपमा स्थापित भएको छ । सिंगो प्रशासन यन्त्र अति राजनीतिकरण र भ्रष्टाचारको रोगले ग्रसित भएका कारण जनताले सहज ढंगले सेवा पाउन सकेका छैनन् । शिक्षा, स्वास्थ्यमा व्यापारिकरण मौलाएका कारण सर्वसाधारणको पहुँचबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य धेरै टाढा रहेको छ । मुलुकको ६५ प्रतिशत जनता काम गर्न सक्ने क्षमताका भए पनि वेरोजगार बनेका छन् । युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य पारिएको छ । त्यसैले राष्ट्रिय मातृभूमि पार्टी वास्ताविक सुशासन, पारदर्शिता मुलुकमा स्थापित गरेर सवैखाले विकृति विसंगतिको अन्त्य गर्न चाहन्छ । 

त्यसैगरी समृद्धि र नेपालवाद सँगै जोडेर मुलुकलाई सामाजिक, आर्थिक, साँस्कृतिक सबै पक्षबाट समृद्ध बनाउने लक्ष्य हामीले लिएका छौं । नेपाल आमासँग भएका अपार प्राकृतिक सम्पदा धार्मिक र साँस्कृतिक सम्पदाको सहि सदुपयोग गरी समृद्धिको मार्ग चित्र कोर्नु नै नेपालवाद हो । जल, जमिन, जंगल र जडिबुटीको उत्पादन र उपभोगमा जोडदिने, नेपाली कच्चा पदार्थमा आधारित उद्योग धन्धाको स्थापना गरेर ‘मेड इन नेपाल’ लाई स्थापित नगरेसम्म परनिर्भरताको अन्त्य हुँदैन । आफ्नो खुट्टामा आफै उभिने क्षमता विकास गर्नु नै नेपालवाद र समृद्धिको मूल मन्त्र हो । 

राष्ट्रिय मातृभूमि पार्टीलाई जनता माझ कसरी स्थापित गराउने सोच बनाउनु भएको छ ?

– हामी अत्यन्तै आशावादी छौं । जनताले हाम्रा विगत देखिकै क्रियाकलाप नियाली रहेका छन् । जनतासँग जाने मुख्य औजार भनेको हाम्रो एजेण्डा र हाम्रो टीमको कार्यशैली नै हो । युवादेखि विभिन्न ठाउँको अनुभव संगालेको अनुभवि र सक्षम नेतृत्व हाम्रो टीममा रहेको छ । नागरिकसँग कसरी निकट सम्बन्ध बनाउने भन्ने ज्ञान हामीसँग छ । अहिलेसम्म सत्तामा बसेर मुलुकलाई चुसेर खोक्रो बनाउनेहरुले हामीलाई जनतामाझ जान असहज बनाउन खोजे उनीहरुको राष्ट्र र जनविरोधी शासनशैलीले पनि हामीलाई जनता माझ जान सजिलो बनाएको छ । उनीहरुले राम्रो काम गरेका भए हामीले दल खोल्न आवश्यक नै पर्ने थिएन् । त्यसैले अब जनताले मत परिवर्तन गर्नु पर्छ । मतदाताले अहिलेसम्म आफ्नो मत खेर गएको राम्रो बुझेका छन् । हामी सुशासन, समृद्धि, नेपालबाद र देशको सीमा रक्षाको फरक अभियान लिएर आएका हुनाले हाम्रा एजेण्डा स्थापित गर्न आन्दोलनको मोर्चा होस या चुनावी मोर्चा जनताको साथ रहने विश्वास हामीले लिएका छौ । 

ठूला राजनीतिक दलहरु भ्रष्टाचार र विकृतिको आहालमा चुर्लुम्म डुवे पनि जनताले मत परिवर्तन गर्न नसक्नुको कारण के होला ?

– जनताले मत परिवर्तन गर्नै नखोजेको पनि होइन गरेका छन्, खासगरी ठूला पार्टीहरुले विभिन्न आश र त्रासमा पारेर लाखौं जनतालाई संगठित कार्यकर्ता बनाएका छन् । राज्यकोषबाट तलब खाने निजामती सेवादेखि शिक्षक, प्राध्यापक, विभिन्न पेशा व्यावसायका व्यक्तिहरुलाई पार्टीको संगठित सदस्य बनाएर गैर कानूनी, गैर संवैधानिक कार्य ठूला दलले गरेका छन् । मतदानको समयमा औंलामा मसी लगाउने देखि विजयको प्रमाणपत्र वितरण गर्ने अधिकांश व्यक्तिहरु अहिलेका ठूला दलको दाशका रुपमा रहेका छन् । त्यसैले सर्व साधारण जनतामा जतिसुकै ठूलो आक्रोस भएपनि उनिहरु (ठूला दल) आफ्नो पक्षमा मत पार्न सफल बनिरहेका छन् । अर्को तर्फ बर्तमान संविधान लागू भएसँगै गठबन्धनको नाममा मौलाएको ठगबन्धनको प्रभाव पनि चुनावमा देखिएको छ । जसले गर्दा आफुले चाहेको दललाई भोट दिने अधिकारबाट समेत जनता बञ्चित हुँदै आएका छन् । देशलाई माया गर्ने युवा शक्ति बाहिरिएको फाइदा समेत ठूला दलले लिएका छन् । आफ्नो सोच र विवेक प्रदान गर्न सक्ने परिवर्तनका संवाहक युवाहरु मतदानको अधिकारबाट वञ्चित छन् । त्यसैले ठूला दलहरु विभिन्न जाल, झेल  षड्यन्त्र गरेर भए पनि आफ्नो पक्षमा मत पार्न सफल बन्दै आएका छन् । राज्य शक्तिको श्रोत साधन र कालोधनको भरपुर उपयोगले पनि ठूला दलले मतदान प्रभावित बनाएका छन् । अत्यन्तै खर्चिलो र भड्किलो भएको निर्वाचन प्रणालीमा परिवर्तन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु नगरेसम्म जनताले सहि ढंगले मतदान गर्न सक्तैनन् ।

विधायिकाको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । राष्ट्रिय मातृभूमि पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक ढंगले चुनिने १५४ जना विधायक र स्थानीय तहमा दलीय चिन्हमा नभई स्वतन्त्र ढंगले जनप्रतिनिधि चुनिनु पर्छ भन्ने मान्यता राख्छ निर्वाचन प्रणालीमा आमुल परिवर्तन नगरेसम्म जनताले सही ढंगको जनतन्त्रको अनुभूति गर्न सक्तैनन् । 

नेपालको बौद्धिक जनशक्ति र युवा पलायनको गम्भीर समस्याबारे तपाई के भन्नु हुन्छ ?

– तपाईले वास्तवमा सोध्नै पर्ने प्रश्न गर्नु भयो । अहिलेको मुलुकको गम्भीर समस्या नै युवा शक्तिको पलायन हो । राष्ट्र निर्माणको काममा खटिने उर्जावान मानव श्रोत बाहिरिनु मुलुकको लागि ठूलो घाटा हो । भ्रष्टाचार र सुन तस्करीमा लिप्त बन्दै आएको सरकारको ध्यान मुलुकमा उद्योग धन्धाको स्थापना गरेर रोजगार प्रवद्र्धन गर्नु, कृषिमा आधुनिकीकरण गरेर उत्पादन बृद्धि गर्नु भन्दा पनि युवालाई १ घण्टा भित्रमा श्रम स्वीकृति र पासपोर्ट कसरी दिन सकिन्छ भन्नेमा तल्लीन छ । 

राष्ट्रिय मातृभूमि पार्टी हाम्रा जनशाक्तिलाई बाहिर पठाउने होइन मुलुकभित्रै श्रम गरेर हाम्रा अर्गानिक उत्पादन सगुनको रुपमा पठाएर विदेशी मुद्रा भित्र्याउन चाहन्छ । गाउँघर खाली गराएर भित्रिने रेमिटेन्समा सरकारको गिद्धे दृष्टि परेको छ । खाडी राष्ट्र, मलेसिया मात्र नभएर रुस–युक्रेन युद्धबाट बन्द वाकसमा भित्रिएका युवाको शव प्रति सरकार संवेदनशील देखिदैन । शहरलाई बृद्धाश्रम र गाउँघरलाई उजाड बनाएर भित्रिने रेमिटेन्स विकास होइन मुलुकको विनाश हो । नेपाललाई साच्चिकै मुटुबाटै माया गर्ने नेपालवादी नीति लिएर युवा शक्तिलाई स्वदेशमै काम, दाम र सम्मान दिनु पर्छ भन्ने मान्यता हामी राख्छौ । भएका उद्योग धन्धा, गार्मेन्ट, गलैंचा बन्द गराउने ठूला उद्योगहरु, संस्थान, चियावारी बेचेर पैसा कुम्ल्याउने राष्ट्रघाती तत्वका विरुद्ध हाम्रा विरोधका अभियानहरु केन्द्रित हुने छन् । युवामाथि भइरहेको भम्भीर अपराधको हिसाव किताव अव देश भक्त जनताले लिएर छाड्ने छन् । हाम्रो ध्यान युवा शक्तिको समस्या हल गर्ने दिशामा केन्द्रित हुने छ । ठूला राजनीतिक दलहरु युवा र नेपाली जनताका शत्रु हुन भन्ने कुरा स्प्रष्ट भएको छ । एउटा ठूलो जन विद्रोहको प्रतिक्षामा जनता रहेका छन् जुन विद्रोहले भ्रष्टाचारी, राष्ट्रघाती र जनताका शत्रुको कहिल्यै उठ्न नसक्ने गरी पत्ता साफ गर्ने छ । 

अन्त्यमा तपाई नेपाली जनतालाई हाम्रो मिडिया मार्फत के सन्देश दिनु हुन्छ ?

– सर्व प्रथम त म ग्रेटर नेपाल पत्रिकालाई हार्दिक धन्यबाद दिन चाहन्छु । जसले राष्ट्रियता र नेपाली जनताको पक्षमा लामो समयदेखि जोडदार आवाज उठाउँदै आएको छ । त्यसैगरी म आदरणीय नेपाली दाजुभाई दिदीबहिनीलाई आउँदै गरेको नेपाली नयाँबर्ष २०८१ को मंगलमय शुभकामना व्यक्त गर्दै सत्य र न्यायको पक्षमा उभिन आग्रह गर्दछु । हामी सवै एक जुट बनेर देशलाई माया गरौं । मुलुकमा सुशासन स्थापना गर्ने साझा संकल्प बोकी नेपालबादको पक्षपोषण गर्न नेपालबादी भएर अग्रसर बनौं । मुलुकको विकास जनताको एकताबाट नै सम्भव छ । हृदय देखि नै देशलाई माया गरौं । धन्यवाद जयमातृभूमि ।।