नेपाली जनताको प्रतिनिधिको प्रचण्ड वहुमतले संविधानसभाले वनाएको संविधान पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यस संविधानसंग विमति राख्नेहरुले संसदमा दुइ तिहाइ पुराई यसको संशोधन गर्न सक्ने ब्यवस्था भएको हुँदा अव विवाद गर्ने दिन गएको छ । अबको कार्य भनेको राष्ट्रघातीहरुलाई गिंडदै पर्यावरण मैत्री आर्थिक समृद्धि हासिल गर्नु हो । तसर्थ अव हुने क्रान्ती राजनीतिक हुनेवाला छैन वल्की राष्ट्रघात विरुद्ध लक्षित हुने छ । 

 अवको जनक्रान्ती ः राष्ट्रघात विरुद्ध 

२००७ सालमा राणाशाही विरुद्ध भनिएको क्रान्तीको सबैभन्दा ठूलो फाइदा भारत, राजा अनि कांग्रेसहरुले उठाए । यसले भारतसंग विशेष सम्वन्ध स्थापित गर्यो जस्को नाममा राजाको प्रमुख सल्लाहकार भारतीय रहने र नेपाल सरकारको क्याविनेटको बैठकमा भारतीय राजदुत रहने ब्यवस्था भयो ।

२०१७ सालमा कू गरेर राजा महेन्द्रले पंचायत ब्यवस्था लागु गरे । त्यसवेला दुबै छिमेकी भारत र चीन युद्धमा होमिएका थिए । राजा महेन्द्रको कदमको विरोध गर्दा चिनिया सेना नेपाल हुंदै भारत पस्ला भन्ने डरले पंचायत ब्यवस्थालाई भारतले मान्यो । राजा महेन्द्रले त्यही  मौकामा कोदारी राजमार्ग खोली चिनसँग प्रत्यक्ष यातायातको सम्वन्ध जोडेपछि त हो न हो राजा महेन्द्र साच्चैको राष्ट्रवादी रहेछन भन्ने पर्यो । तर पंचायतलाई स्थायीत्व दिन दीर्घकालीनरुपमै भारतसंग सम्वन्ध राम्रो हुनुपर्ने वुझेर होला उनले सन् १९६५ मा सरदार यदुनाथ खनाललाई सुटुक्क भारत पठाइ भारतसंग राष्ट्रघाती सैनिक सम्झौता गरेका रहेछन जसानुरुप नेपालले हातहतियार, सैनिक पोशाक टोपी, पेटी जुत्ता सबै चिज भारतबाट मात्रै किन्नपर्ने ब्यवस्था भई नेपालको हैसियतलाई भुटानको हैसियतमा झारेका रहेछन् । यही कारण पंचायत ३० वर्ष टिकेको रहेछ । भनाइको मतलव राजा महेन्द्रको १७ सालको कदमबाट पनि ठूलो फाइदा भारतले नै उठाएको रहेछ ।

पाकिस्तानलाई विखण्डन गरी स्वतन्त्र वाग्लादेश वनाउन र सिक्किमलाई भारतमा विलय गराउन इन्दिरा गान्धी सफल भएपछि सन् १९६५ को गोप्य सैनिक सम्वन्ध वारे अनभिज्ञ युवराज वीरेन्द्र राजा भएपछि उनले अन्तराष्ट्रिय जगतमा भारतलाई एक्लाउने उद्देश्यले नेपालको शान्तीक्षेत्र प्रस्ताव अघि सारे जस्लाई भारत र सोभियत संघ वाहेक विश्वका ११६ राष्ट्रहरुले समर्थन गरेपछि राजा वीरेन्द्र भारतको आखामा कसिंगर वन्न पुगे । जसको फलस्वरुप २०४६ मा भारतले नेपालमाथि आर्थिक नाकावन्दी लगायो । राजा वीरेन्द्र र उनका प्रधानमंत्री मरिचमान सिंहले त्यसको डटेर सामना गरेपछि भारत अत्तालियो र नेपालका प्रतिवन्धित राजनीतिक दलहरुलाई उचालेर उसले आन्दोलन गर्न लगायो । भारतका अगाडि घुडा नटेक्ने राजा वीरेन्द्रले शाही घोषणा गरी जनतालाई वहुदलिय ब्यवस्था दिए । यस परिवर्तनबाट पनि भारतले नै फाइदा उठायो । विश्वका ११६ राष्ट्रले मानेको शान्तीक्षेत्रको प्रस्ताव एकाएक गायव भयो भने आन्दोलन पछि प्रधानमंत्री वनेका कृष्ण प्रसाद भट्टराइले भारत गई नेपालका सबै नदीनालाहरु साझा हुन भन्दै त्यस्तो विज्ञप्तिमा हस्ताक्षर ठोकिदिए । 

२०४७ सालमा नेपालमा बहुदलीय ब्यवस्था कायम भई राजा संवैधानिक भएपछि भारतले नेपालमा रहेका १ करोड आप्रवाशी भारतीयहरुलाई नेपाली नागरिकता दिन दवाव दिन थाल्यो । भारतका कठपुतली  कांग्रेस एमाले जस्ता दलहरुले तिनीहरुलाई नागरिकता दिने विधेएक पास गरी लालमोहर लगाउन राजा समक्ष पुराए तर राजा वीरेन्द्रले नेपाललाई फिजी वनाउनसक्ने त्यस्तो विधेएकमा लालमोहर नलगाई रायको लागि भन्दै सर्वोच्च अदालत पठाइ दिन थालेपछि भारत राजा वीरेन्द्रसंग झनै चिढियो । अनि उस्ले नेपालबाट राजसंस्थालाई सदाको लागि विदा दिने उद्देश्य राखी नेपालको माओवादी आन्दोलनलाई मलजल गर्न थाल्यो । 

आफ्नै देशको माओवादी आन्दोलन दवाउन नसक्ने भारतले नेपालका माओवादीको उत्थान गर्न लाग्नुको पछाडि स्वार्थ भनेकै नेपालबाट राजतन्त्र खतम गर्नु थियो । माओवादी आन्दोलन उत्कर्षमा पुगेकै अवस्थामा भारतले षडयन्त्र गरी राजा वीरेन्द्रको वंश विनाश गरी नयाँ भएका राजा ज्ञानेन्द्रलाई पनि नागरिकता विधेएकमा लालमोहर लगाउन दवाव दिन थाल्यो । तर दाजुले जस्तै ज्ञानेन्द्रले पनि नागरिकता विधेएकमा हस्ताक्षर गर्न नमानी बरु ठीक त्यसको विपरित नेपालमा भएको दलाइ लामाको कार्यालय बन्द गराउने र चीनलाई सार्कमा ल्याउनुपर्ने अडान राख्न थालेपछि भारतले माओवादी लगायत सबैदलहरुलाई दिल्ली वोलाइ १२ वुदे सम्झौतामा हस्ताक्षर गर्न लगायो जसको फलस्वरुप नेपालमा राजतन्त्रको अन्त्य भयो र १२ वुदेमा हस्ताक्षर गर्ने माओवादी, एमाले र नेपाली कांग्रेसले नागरिकता विधेएक पाश गरी १ करोड मध्य ६३ लाख भारतीयहरुलाई पहिलो चरणमा नागरिकता दिन भ्याए । यसप्रकार २०६३ को आन्दोलनबाट पनि सबैभन्दा वढी भारतले फाइदा उठायो र यही कारण नेपाल अव फिजी हुने वा नेपालबाट तराइ विखण्डन हुने समस्याबाट गुज्रदै छ । 

नेपाली जनताले भने हरेक पटकको आन्दोलनमा सहभागिता जनाए तर हरेक आन्दोलनबाट एकलौटि रुपमा भारतले फाइदा लिएपछि अव नेपाल भने राष्ट्र रहने कि नरहने भन्ने दोसांधमा आइपुगेको छ । तसर्थ अव नेपाललाई जोगाउने हो भने विगतका आन्दोलनको विपरित शु्द्ध राष्ट्रवादी आन्दोलनको खांचो छ जसले नेपाललाई विखण्डन गर्दै भारतमा लगेर विलय गराउने कुत्सित भारतीय इरादालाई भण्डाफोर गर्न र नेपालको स्वतन्त्रतालाई अक्षुण राख्न सकोस । तसर्थ अवको जनक्रान्ती भनेकै राष्ट्रघात विरुद्धको हो जस्को शतप्रतिसत फाइदा नेपाल राष्ट्र र नेपाली जनताले पाउन ।