काठमाडौं - कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। एमालेका ३९ र कांग्रेसको संस्थापनइतरका ८ जनाको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका थिए। हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार बिहान मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका आङ्बोले भने बहुमत पुर्‍याउन सकेनन्।

केन्द्रीय गठबन्धनले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो। तर, कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार सपथ लिने भएका छन्।

उनले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको स्पष्ट पारेका छन्। उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे। उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे। सत्ता गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे। 

कार्कीले आइतबार नयाँ मन्त्रिमण्डल गठन गर्ने जानकारी दिए।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्। अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए भने पछिल्लो प्रदेश सभाको एक वर्षमा ५ औं मुख्यमन्त्री नियुक्त भएका छन्।