काठमाडौं – कोशी सरकार गठनमा राप्रपाले तत्काल कसैलाई समर्थन नगर्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले कोसी प्रदेश सरकारको गठन प्रक्रियामा कसैलाई समर्थन नदिने निर्णय गरेको हो ।

प्रदेश प्रमुखले कोसी सरकार गठनमा शुक्रबार साँझ पाँच बजेसम्मलाई समय दिएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पछिल्लो विकसित स्थितिलाई नियाल्ने र उपयुक्त समयमा निर्णय लिने जानकारी दिएका छन् ।

प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन् । कोसीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ । कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। संविधान र सर्वोच्चको फैसला अनुसार कार्की मुख्यमन्त्री बन्ने देखिन्छ । 
आङ्बाले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन् ।  

तर, कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यहरुले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर आफूहरुको हस्ताक्षर सनाखत गराएका छन्। उनीहरुले आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए। आफूहरुको समर्थन कार्कीलाई रहेको उनीहरुले स्पष्ट पारिसकेका छन् । 

कोसीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेसहित गठबन्धनबाट नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद छन्।