काठमाडौं - कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन्। 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतामा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउनसक्ने अवस्था नभएपछि राजनीतिक निकासका निम्ति उनले राजीनामा दिएका हुन्।

उनले भने, 'प्रदेश निर्वाचन अहिले जनताका माग होइन। कतिपय घटनाले पनि जनतामाझ निर्वाचनको माहोल छैन। के कस्तो गरेर गर्न सकिन्छ, त्यसको लागि एमाले तयार छ। अरु दल पनि आउनपर्‍यो। यहाँ सरकारको कुरा रहेन अब। हामी सच्चिएर नजाने हो भने हाम्रा अगाडि देखिएको मध्यावधिलाई नकार्न सकिँदैन। मध्यावधिमा जान एमाले डराउँदैन पनि।'

उनले भने, 'कतिपय साथीले एमालेले सहमति चाहेको छैन भन्ने पनि आयो। तर सहमतिका लागि एमालेले सबै विकल्प खुला छोडेको छ। सबैसँग सहमतिको प्रयास गरेको छ। मैले आधिकारिक पत्र पनि पठाएको छु।'

उनले कोसी प्रदेशमा संवैधानिक व्यवस्था मिच्ने काम भएको पनि स्मरण गरे। 

उनले भने, 'संवैधानिक व्यवस्था मिचेकै कारण हामी अदालत गयौं। कानुनको विद्यार्थी हुँ। संविधानका बारेमा मलाई थाहा छ। त्यसको व्यख्या गर्ने अधिकार सर्वोच्च अदालतको हो। अदालतले त्यसलाई व्यख्या गरेर सच्याएको पनि छ। अदालले मलाई मात्र होइन, सबैलाई सच्याएको जस्तो लाग्छ।'

उनले प्रदेश खारेजीको आवाज उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्रदेश खारेजीमतर्फ जाने भने हो २०७२ सालको संविधान पूर्ण रूपमा असफल हुने बताए। 

आज बिहान मात्रै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। ओलीले कोशी प्रदेश सरकार जोगाउनका लागि माओवादी केन्द्रबाट विश्वासको मत दिन प्रचण्डलाई आग्रह गरेका थिए।