काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि पत्राचार गरेको छ।  

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गर्नु अगाडि नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेका हुन्।  

नेसपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर पार्टी एकताका लागि भदौ ३० गतेको मिति राखेर नेकपा माओवादी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका अध्यक्ष यादवलाई पत्र पठाएको हो। माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका यादव हाल खानेपानी मन्त्री रहेका छन्। डा. भट्टराईले गत निर्वाचनमा आफ्नो क्षेत्रमा प्रचण्डलाई उम्मेदवार बनाएका थिए।

यस अगाडि पार्टी एकताका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। 

पार्टी एकताकाबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी पत्राचार गरिएको छ। 

प्रचण्ड यतिबेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन् भने भट्टराई यतिबेला भारतमा पुगेका छन्।