काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

हिन्दू अधिराज्य स्थापना, संवैधानिक राजतन्त्रको पुनर्स्थापना र संघीयताको खारेजीका लागि दबाब दिन भन्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंको भद्रकालीदेखि भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो।

राप्रपा नेपालले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हालः कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताए। उनले गौंहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्‍यालीको आयोजना गरिएको जिकिर गरे। प्रदर्शनमा सहभागीहरूले हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुनस्थापना गर लगाएतका नारा लगाएका थिए।