सुदुरउत्तरी फ्रान्स स्थित मेट्च शहर र त्यस शहरको वगैंचा अवलोकन गरेपछि हामी हाम्रो गन्तब्य तिर हानिने क्रममा फ्रान्सको कालेए तटमा आइपुग्यौ । त्यतिखेर फ्रान्स र बेलायतलाई जोड्ने इंगलिस च्यानलमा समुद्रमुनी वनाइन लागेको टनेल निर्माणाधीन अवस्थामा भएको हुँदा हामी समुद्री वारपार गर्ने जहाज फेर्री चढेर कालेए बाट बेलायतको डोभर पुग्यो । त्यतिखेर विहानको दश वजेको थियो । डोभरमा चिया पिएर हामी त्यहाबाट लण्डन तर्फ हानियौं । लण्डन पुग्दा दिउसोको १ः३० वजेको थियो । एउटा रेष्टुरामा फिस र चिप्स खाएर हामी बेलायतको र संसारकै सबैभन्दा ठूलो चर्च वेष्ट मिन्ष्टर एब्बि हेर्न गयौ ।

 मैले देखेको एकचालिसौं विश्व सम्पदा ः लण्डनको वेष्ट मिनिष्टर एब्बि र पार्लामेन्ट भवन

वेष्ट मिन्ष्टर एब्बि 

बेलायतको राजधानी लण्डनको मुटु वेष्ट मिन्ष्टरमा रहेका रोमन गोथिक शैलिमा निर्माण भएको यो चर्च बेलायतकै सबैभन्दा ठूलो धार्मिक भवन भित्र पर्दछ । यही चर्चमा बेलायतका राजाहरुको राज्याभिषेक, विवाह जस्ता कार्य हुने गर्दा रहेछन भने उनीहरुको चिहान पनि त्यही चर्च भित्र रहेछ । ७औं शताब्दिमानै मेल्लिटस भन्ने लण्डनको पादरी विशपको सक्रियतामा सानो धार्मिक भवनको रुपमा यो चर्चको निर्माण आरंम्भ भएको रहेछ । पछि सन् १०४२ मा राजा एडवार्डले शाही चिहानको रुपमा १० वर्ष लगाएर यो चर्चलाई एंग्लोफ्रेन्च गोथिक शैलीमा विस्तार गरेका रहेछन् ।  यस चर्चमा सन् १०६६ मा पहिलो पटक तत्कालिन राजा विलियम महानको राज्याभिषेक भएको र तत्पश्चात् हालसम्म त्यस चर्च भित्र १६ वटा शाही विवाह महोत्सव सम्पन्न भएको रहेछ ।

चर्चको अहिलेको अवस्थाको निर्माण कार्य सन् १२४५ मा राजा हेनरी द्धितियले आदेश जारी गरी शुरु गरेका रहेछन् र १२६९ मा यसचर्चको वास्तुपुजा भएको रहेछ । पछि हेनरी द्धितियको चिहान पनि त्यही राख्न लगाइएको रहेछ । राजा हेनरी सातौको पालामा सन् १५०३ मा यस चर्च भित्र गजुरको निर्माण भएको रहेछ जुन भर्जिन मेरी प्रति समर्पित रहेछ । सन्  १५३९ सम्म पादरीहरुको निवाशको रुपमा रहेको यो चर्चले सन् १५४० मा क्याथेड्रलको हैसियत पाएको रहेछ र १५६० देखि वेलायती राजपरिवारको चर्चको रुपमा यो स्थापित वन्न पुगेछ ।

यो चर्चको मुख्य हल जस्लाई नेभ भनिन्छ यो बेलायतकै सबैभन्दा अग्लो हल मानिन्छ । यस चर्चले सकलन गरेको दक्षिणानै सन १५३५ मा वार्षिक २८०० पाउण्ड रहेछ त्यो भनेको बेलायतका चर्चहरुले त्यतिवेला संकलन गर्ने दक्षिणा दोश्रो ठूलो राशी रहेछ । त्यतिखेरको यो २८०० पाउण्ड हालको मूल्यमा भन्ने १७ लाख पाउण्ड हुन आउछ । रानी एलिजावेथ प्रथमको राज्यकालमा सन १५६० जिणोद्धार गरी यस चर्चको नाम रोयल चर्च अफ इंगलैण्ड राखिएको रहेछ । एब्बिको पश्चिमका दुई टावरहरु २३ वर्ष लगाएर गोथिक शैलीमा सन १७४५ मा निर्माण सम्पन्न गरिएको रहेछ । पछि १९औ शताब्दिमा सर जर्ज गिलबर्ट यस चर्चको पुनरनिर्माण र जिणाद्धार गर्न लगाएका रहेछन् । यस एब्बिको शिशामा गरिएका कलाकृतिहरु पनि ज्यादै सुन्दर देखिदों रहेछ । यस चर्चमा वार्षिक १८ लाख पर्यटकहरु पुग्दा रहेछन् । 

वेष्टमिन्ष्टर पार्लामेन्ट 

एब्बि भित्र करिव एक घण्टा विताइ सबै कुरा अवलोकन गरेपछि हामी नजिकै रहेको बेलायती संसद भवन वेष्टमिन्ष्टर हेर्न तर्फ लाग्यौं । थेम्स नदिको उत्तरी किनार अवस्थित यस भवनको नाम पनि वेष्ट मिन्ष्टर राख्नुको कारण नजिकैको एब्बि र बेलायती राजाको दरवार वेष्ट मिन्ष्टर इलाकामा भएको कारण रहेछ । त्यतिमात्रै होइन यही कारण राजतन्त्रात्मक बहुदलिय संसदीय ब्यवस्थाको नामनै वेष्ट मिन्ष्टर प्रणाली वन्न पुगेको रहेछ ।

आर्किटेक्ट चाल्र्स बेर्रिले गोथिक शैलीमा डिजाइन गरेको यो भवनको निर्माणक्रम १४औ शताब्दिमा शुरु भएर १६औं शताब्दिसम्म पुगेको रहेछ । यसो गर्दा पुरानो भवनको भग्नावशेषलाई पनि जिणोध्दार गरी नयाँ भवनको अंश जस्तै वनाइएको रहेछ । ३ दशमलव २४ हेक्टरमा फैलिएको यस भवनको मोहोडामात्रै ३०० मिटर लामो रहेछ । यस भवनको आधुनिकभागको निर्माण भने १८४० मा शुरु भएको र निर्माणमा ब्यापक ढिलाई भएको कारण २०औ शताब्दिमा गएर पूर्ण भएको रहेछ ।

लण्डनको वायुप्रदुषण र दोश्रो विश्व युध्दताका भएको क्षतिको कारण पनि यस भवनको मर्मत संभार नियमित कार्य भित्र पर्दो रहेछ । सन १९७१ मा यस भवनलाई यूनेस्कोको विश्व सम्पदा सूचीमा राख्न प्रयास गरेको भएता पनि सन १९८७ मा उक्त सूचीमा पर्न गएको रहेछ ।

मध्यकालमा यो भवन राजाको निवाशको रुपमा रहेको भएतापनि राज्यपरिषदको बैठक राजाले आफनै निवाशमा वोलाउने कारण पछि गएर दरवारलाई अन्यत्र सारी यसलाई संसद भवनको रुपमा प्रयोग गर्न थालिएको रहेछ र सन १७०७ देखि निरन्तररुपमा बेलायतको दुबै सदनको बैठक यही वस्ने गर्दो रहेछ । मौलिकरुपमा दरवार भएको कारण यस दरवारमा महारानीको शयनकक्ष, राजकुमार राजकुमारीहरुको कक्ष आदि अद्यावधी रहेका छन् ।

सन् १८३४ को अक्टोबर १६ का दिन चुलोको आगो फैलिएर भएको आगलागीको कारण दरवार यहाँबाट सरेर नया दरवार वकिंगघममा पुगेको रहेछ । दोश्रो विश्वयुद्धताका १४ पटक भएको बमवर्षाको कारण यो भवनमा नराम्ररी क्षति पुगेको रहेछ पछि १९५० मा यस भवनको जिणोद्धार गर्न शुरु भई सन् १९५१ देखि यस भवनमा पुन संसदको बैठक वस्न शुरु भएको रहेछ । हामीले भने यस भवनलाई वाहिरबाट हेर्यौं र लण्डनको अरु सम्पदा हेर्न तिर लाग्यौं ।