काठमाडौं –  नेपाल कृषि प्रधान देश हो । यहाँका बहुसंख्यक नागरिकको मुख्य पेसा किसानी नै हो । तर कृषि नै प्रधान भएको मुलुक भने कृषि मै परनिर्भर बनेको छ । नेपालले पहिले धान चामल निर्यात गर्ने क्षमता राख्थ्यो । २०२६ सालमा आजको समृद्ध दक्षिण कोरियालाई नेपालले खाद्यान्न सहयोग गरेको अभिलेख पाईन्छ । आज त्यही दक्षिण कोरियामा नेपालले खाद्यान्न होइन हजारौंको संख्यामा युवा कामदारहरु निर्यात गरिरहेको छ । सालिन्दा नेपालले भारतबाट अरबौंको चामल किन्ने गरेको छ । 

 अनसनकारीका मागहरुमा राष्ट्रिय मातृभूमि पार्टीको ऐक्यबद्धता

चामल मात्र होइन कोदो, मकै, गहुँ, जौ जस्ता खाद्यान्न पनि भारतबाटै आयात भइरहेका छन् । दाल, गेडागुडी, सोया देखि कनिका समेत विदेशबाटै ल्याइने गरिएको छ । ब्राजिल, अर्जेन्टिना, युक्रेन, लगायतका मुलुकहरुबाट केराउ गहुँ आदि गेडागुडी ल्याइन्छ । मलेसिया इण्डोनेसिया जस्ता देशबाट ललितपुरको खोकनामा तोरी आइपुग्छ । दक्षिण अमेरिकी मुलुकहरुबाट सूर्यमुखी दाना ल्याएर यहाँ सूर्यमुखी तेल रिफाइन्ड गरिन्छ । अरु त कुरा छोडौं नेपालीहरुको मौलिक तरकारीका रुपमा चिनिने गुन्द्रुक समेत चीनबाट आयात भइरहेको छ । यी सव तथ्यले नेपालको कृषि प्रणाली थला पर्दै गएको र कृषिमा मानिसको आकर्षण घट्दै गएको पुष्टि गर्छ । 

खेती किसानी गर्नुभन्दा युवाहरु वैदेशिक रोजगारीमा जान इच्छुक देखिन्छन् । दैनिक दुइ हजार देखि तीन हजारसम्म युवाहरु विदेश पलायन भइरहेका छन् जनशक्तिको अभावले कृषि योग्य जमिन समेत बाँझो बनिरहेको वास्तविकता छ । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने प्रयास गरेको छैन । नेपालमा मल कारखाना नभएकाले युरिया, डिएफपी लगायतका मलहरु विदेशबाटै ल्याउने गरिन्छ । किसानले बाली लगाउने बेलामा जहिल्यै रासायनिक मलको हाहाकार हुने गरेको छ । सिँचाई सुविधा छैन । भ्रष्टाचारका कारण सिचाई योजनाहरु समयमा पुरा हुँदैनन् । आकासे पानीको भरमा खेती गर्नु नेपाली किसानहरुको नियति बनेको छ । सरकारले कृषि क्षेत्रका लागि सवभन्दा बढी बजेट विनियोजन गर्नु पर्ने हो । किसानहरुलाई सस्तो व्याजमा ऋण र अनुदानको व्यवस्था समेत सरकारले गरेको छैन । यस्ता विसंगति र विकृतिहरुको सुधारको माग गर्दै एक युवाले शान्ति बाटिकामा आमरण अनसन नै सुरु गरेका छन् । 

ककनी २ नुवाकोट स्थायी मुकाम भएका श्रीराम घिमिरेले कृषि क्षेत्रको सुधारका लागि विभिन्न मागहरु राखी अनशनमा बसेको साता पुग्न लागेको छ । उनले कूल बजेटमा १० प्रतिशत कृषिका लागि छुट्याइनु पर्ने पहिलो माग गरेका छन् । कृषि उत्पादनको समयमै समर्थन मूल्य निर्धारण गर्न र मल र वीउ, औजारहरुमा अनुदानको सुविधा हुनुपर्ने, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत व्याजमा ऋणको व्यवस्था गरिनु पर्ने, अनुदानलाई भूमि र भाडामा यातायातको सर्व सुलभ व्यवस्था किसान कार्डको आधारमा गरिदिन र पूर्व पश्चिम नहर निर्माण अविलम्व पुरा गरिनु पर्ने सामयिक मागहरु सरकार समक्ष राखेर भोक हड्तालमा बसेका छन् । 

उनको मागप्रति मुलुकका शिर्ष भनिने दलहरु बेखवर जस्तै बनेका छन् । सरकारले समेत माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन । तर भर्खरै मात्र नेपाली राजनीतिमा उदाएको राष्ट्रि मातृभूमि पार्टीले भने अनसनकारीको मागहरुमा ऐक्यबद्धता जनाएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरी, उपाध्यक्ष टुलराज वस्याल, सचिव तोप गुरुङ र बीरेन्द्र खत्री लगायतको टोलीले अनसन स्थल पुगेर घिमिरेको माग प्रति आफ्नो समर्थन प्रकट गरेको छ । पार्टीका अध्यक्ष पाण्डेले घिमिरेले उठाएका मागहरु सबै नेपाली किसानका साझा माग भएकाले सरकारले यथासिघ्र सम्बोधन गर्नुपर्ने बताउनु भयो । अनसनकारीको जिवनसँग मजाक गर्ने अधिकार सरकारलाई नरहेको भन्दै यदि वेवस्ता गरिए राष्ट्रिय मातृभूमि पार्टीले दबाव मूलक कार्यक्रमहरु छिट्टै सार्वजनिक गर्ने र सडक आन्दोलन गर्ने अनलाईन समाचारलाई जानकारी दिनुभयो ।