काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपल्ट उनी नेपाल आउन लागेका हुन्। दुई विशेष विमानमा आउने कतारी राजाको टोलीमा केही मन्त्री र सरकारी उच्च अधिकारी रहने छन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न ४ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 कतारका राजा नेपाल आउँदा सार्वजनिक विदा र उडान स्थगित गरिने

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । कतारी अमिर फिलिपिन्स र बंगलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् ।

कतारका राजा आउने भएपछि आज नेपाल सरकारले उनको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउने भएका हुन् । उनी बुधबार बेलुका नै कतार फर्कने तालिका छ। 

त्यसैगरी कतारी राजा अमिरको सवारीको समयमा दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि अन्य उडान स्थगित गरिएको छ।  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ। राजा निजी जहाजमा आउने भएकाले उनको जहाज राख्न पार्किङ बेसमेत खाली राखिने भएको छ। बुधबार राजा फिर्ता हुने समयमा सोही प्रक्रिया हुनेछ। यसअघि पनि राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका निमित्त भन्दै विमानस्थल बन्द गर्ने गरिन्थ्यो।