भर्साइको विश्व प्रसिद्ध दरवार र बगैंचाको अवलोकन गरेपछि उत्तरी फ्रान्समा रहेका विश्व विख्यात कुराहरु अवलोकन गर्ने कार्य प्राय सकिदै थियो । फ्रान्सबाट बेलायत जाने क्रममा अमियन्सको क्याथेड्रल भोलीपल्ट हेर्ने निर्णय गरी हामी रात विताउन क्याम्पिंग साइट तिर लाग्यौ । भोलीपल्ट विहानको खाना खाई लाग्यौ हामी उत्तरी फ्रान्सको झण्डै एटालान्टिक महासागरको किनारमा रहेको शहर अमियन्स तर्फ । हामी अमियन्स आइपुग्दा विहानको ११ वजेको थियो । 

 मैले देखेको उनन्चालिसौं विश्व सम्पदा ः फ्रान्सको  अमियन्सको क्याथेड्रल 

अमियन्सको क्याथेड्रल 

अमियन्सको क्याथेड्रल पनि रोमन क्याथोलिक चर्चनै रहेछ । यही चर्चमानै अमियन्सको विशपको निवास पनि रहेछ । राजधानी पेरिशबाट करिव १२० किलोमिटर उत्तरमा रहेको यो क्याथेड्रल विश्वभरी रहेका ठूला क्याथोलिक क्याथेड्रल मध्ये १९औं ठूलो क्याथेड्रल भित्र पर्दो रहेछ । अग्लाईको दृस्टिकोणबाट भन्दा यो फ्रान्सको सबैभन्दा अग्लो क्याथेड्रल पर्दो रहेछ जस्को उचाइ ४२ दशमलव ३० मिटर रहेछ ।

सन् १९८१ मानै विश्व सम्पदामा सूचीकृत भएको यो क्याथेड्रल सन १२२० देखि १२७० विचमा वनेको रहेछ । आर्किटेक्ट रोवेर्तो दे लुच्जारकेशले डिजाइन गरेको १३ आंै शताब्दिको यो क्याथेड्रलको अग्रभाग र यसको मुख्यद्धार गोथिक शैलीका मूर्तिहरुले सजिएका रहेछन् । यस क्याथेड्रल भित्र रहेको टाउको मात्रको मूर्ति कन्साटान्टीनोपलबाट ल्याइएको जोन द वाप्टिस्ट हो भन्दा रहेछन् जस्ले पहिलो शताब्दि तिरै यहुदीको रुपमा क्रिश्चियन धर्मको प्रचार शुरु गरेका रहेछन् ।

सन १२८८ मा यस चर्चभित्र लेवेरिन्थ (प्रार्थना गर्दा घुम्नु वा घस्रनु पर्ने पथ) बनाइएको रहेछ । १३ आंै शताब्दिको यो क्याथेड्रल वेलावखतमा भएको आगलागिको कारण क्षतविक्षत भएतापनि फेन्च सम्राट नवौ लुइको लामो शान्तीपूर्ण शासनकालमा भएको आर्थिक समृध्दिको कारण यस चर्चले जिणोध्दार हुने मौका पाएको रहेछ ।

चर्चको पश्चिममा रहेको सिंगो द्धार क्रिश्चियन शन्तहरुको मूर्तिहरुले सजिएको रहेछ । ७७०० वर्गमिटरमा फैलिएको यो चर्चको क्षेत्रफल फ्रान्समा रहेका सबै क्याथेड्रलको भन्दा फराकिलो रहेछ । चर्चको पश्चिमी मोहडा वनाउदाको वेलामा विभिन्न रंगबाट पोतिएको भएतापनि पछि एकै रंग कायम गरिएको रहेछ । चर्चको भित्री भागलाई १२६ स्तम्भहरुले थामेको रहेछन जुन पश्चिम यूरोपमा भएका सबै चर्चहरुमा भन्दा वढी रहेछ ।

त्यसै गरी चर्चभित्र रहेको गान वजान गर्ने स्थल ज्यादै कलापूर्ण ढंगले वनाएको रहेछ र चर्चको ग्यालेरीमा निर्माण काल देखिकै कलाकृति लाई सजाइएको रहेछ र पछि सत्रौं शताब्दिमा गएर फ्रन्स द्धितिय र लाउरेन्टले वनाएका वारोक पेन्टिंगहरुलाई पनि त्यहा सजाइएको रहेछ । फ्रान्सको अरु चर्चहरुमा जस्तै यस चर्च भित्रको सिसाको झ्यालहरुमा पनि निकै मनमोहक ढंगबाट पेन्टिग गरिएका रहेछन् ।

यस चर्च भित्र आफना समयका प्रख्यात क्रिश्चियन पादरीहरुको चिहान पनि राखिएको रहेछ । क्याथेड्रलको अवलोकन पश्चात् हामी केहि घन्टा एटलान्टिक समुद्रको  किनारमा विताउने निर्णय गरी अमियन्स शहर नजिकै रहेको वेर्क भन्ने शहर तर्फ लाग्यौ र त्यहाँको समुद्र किनारको रमाइलो हेरी दिन बितायौ ।