सगरमाथा आधारशिविर जाने कुरा “डाइरेक्ट नेपाल“का सुवर्ण श्रेष्ठबाट सुनेपछि मन मन्दिर बन्यो । बासस्थानबाट झोलिगुण्टा बोकेर उठेका पाइला त्रिभुवन विमानस्थल पुगे बिहान ९ः३० बजे । प्रायः बिदेशी पर्यटकले खचाखच भरिएको छ, आन्तरिक भवनका भित्री कक्ष । 

 छोटो समयको लामो सम्झना ः तेङ्बुचेसम्मको पदयात्रा

मौसम प्रतिकुलताको कारण दुई दिन अघिदेखि कुनै चिलगाडी उड्न सकेको रहेनछ लुक्लाको । ब्यग्रताकासाथ बस्नेहरूको हुलमा म पनि मिसिएको छु, चिनियाँ पाहुना लिएर । तर मौसम खुल्नु र लुक्ला उडान भर्नु भनेको एक हिसाबले संयोगको साइत जुर्नु जस्तै भैदिन्छ कहिलेकाही । यसपटक पनि काठमाडौं एअरपोर्टमा दिक्दार लाग्दो १ दिनको पर्खाइले मात्र पुगेन । राम्रो मौसमको कारण लुक्ला उड्ने सम्भावना बढी हुने रामेछाप एअरपोर्ट पुगियो रातारात । लुक्लाको मौसम नसुध्रिएकोले रामेछापमा अर्को थप १ दिन गुजार्नु पर्यो । लडाइ हारेको सिपाहीको जस्तो अनुहार ओइलाएका देखिन्थे, आम लुक्ला उड्ने यात्रुहरू । 

बल्ल तेस्रो दिनमा साइत जुर्यो लुक्ला उडानको । त्यो दिब्य दिन थियो– २०८० असोज ९ गते । तदनुसार सन् २०२३, २६ सेप्टेम्बर । चिलगाडीले बिहान ९ः२२ मा उड्यो हामीलाई बोकेर । बत्तिदै २२ मिनेटमा लुक्ला उतार्यो ।

लुक्ला एअरपोर्ट  (२८४० मिटर) उतार्दाको तापक्रम १३ डिग्रीको छ । पूर्वतिर कोङ्दे रि हिमाल र कोङ्दे पिक (चुली)ले प्रेमपूर्वक हेरिरहेका छन् हामीलाई । रामेछापको ३२÷३३ डिग्रीको तातोबाट आएकोले पनि होला ! यहाँको घाम आनन्द दिने खालको न्यानो छ । प्रिय र रुचिकर छ,  प्रेमिकासंगको साथ जस्तो । तर एकै ठाउँमा बसिरहन कहाँ पाउनु ! कहाँ आतुर मनले खुट्टाहरूलाई बसिरहन दिनु ! आजको गन्तव्य छ, फाक्दिङसम्मको । 

एअरपोर्ट उत्रेपछि अगाडि बढ्ने क्रममा सर्वप्रथम लालीगुराँस, ठिङ्रे सल्ला, धुपी सल्ला, खस्रु, उत्तिस लगायतका हराभरा जङ्गलले स्वागत गर्दछ । चलिरहेको छ, चिसो चिसो प्रदूषणरहित हावा । ओरालो झरेको १० मिनेट मै जङ्गलको घाचमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको मुहार अङ्कित अर्धकदको प्रतिमा सहितको प्रवेशद्वार भेटिन्छ । यसैको तल सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको कार्यलय भवन छ । जहाँ तोकिएको शुल्क भुक्तान गर्नु पर्छ सबैले । आआफ्नो गन्तव्यनुसारको । यहाँबाट बाहिरिएपछि संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण÷आधारशिविरलगायत थ्री पासको गन्तव्य शुरु हुन्छ । 

महान चाड बडादशै आगमन हुदैछ । घुमन्तेहरूको लागि प्रकृति खुलेर हाँस्ने सबैभन्दा उत्तम शरद यामको मादक मौसम । समय र सम्पत्तिको अनुकुल मिलाएर खुम्बु क्षेत्रको पदयात्रामा देखिएका छन् बिदेशी÷स्वदेशी पर्यटकहरूको लामो लस्कर । एक प्रकारको उल्लास, रोमान्स र रौनक हुर्किरहेको छ– यो   विश्वविख्यात हिमाली बाटैभरि । 

तोपडाडा पुगियो । पहिलोपटक शिखरहरूको सम्राट सगरमाथा देखियो । हर्षले खुसीको सगरमाथा नै नाघ्यो । झन्डै साढे ३ घण्टाको पदयात्रापछि ढुङ्गाका छपनी लगाइएका बाटा भेटिन्छ । डिरिदै अघि बढ्दा नीलो र रातो रङको जस्ताले छाइएका चिटिक्कका घरबस्ती आइपुग्यो । घर सफा र चिटिक्कका छन् । वरपर फक्रदैका सुन्दर सयपत्रीका फूल झुलिरहेका छन् । घरैपिच्छे होटल, लज र रेष्टुराले भएका यो गाउँ त फाक्दिङ (२६१० मिटर) रहेछ । जुन सुबिधाजनक गाउँ पदयात्राको पहिलो बासस्थान बन्यो ।

दुधजस्तो सेतो कन्चन पानी लिएर लडाकु जस्तो उधो दौडिरहेको छ दुधकोशी नदी । हामी भने उभो उक्लदै छौ । मानव जीवनको लयजस्तै नफर्कने गरि गुनगुनाउदै  अटुट लहरमा बौद्ध दर्शनका पवित्र भाव छङ्छङाइरहेका छन् । सगरमाथा स्रोत भएर आएको यो सुकिलो नदीलाई पहिलोपटक जंकाभेट भयो । फाक्दिङको होटल छोड्नासाथ झोलुङ्गे पुल तर्दा । अब हाम्रो दायातिरबाट बगेको छ दुधकोशी । यसपछि बैंकर, जोर्सले, लार्चे दोभान, तेङ्बुचे, डिङ्बुचे... र अन्तमा थुक्लाका झोलुङ्गे पुलहरूमा पुनर्मिलन हुनेछ ।  

फाक्दिङ् काटेर उभो लाग्दा छोटाछोटा उकालो, ओरालो र तेर्सो बाटो तय गर्नु पर्छ । वरपरका दृश्य नियाल्दै टोकटोक भन्ने गाउँमा पाइला टेक्न पुगिन्छ । जहाँ पहरा छिचोलेर निस्केको झरनाले लठ्याउछ, नसाले जसरी । यहीँबाट पहिलोपटक उत्तरतिर थामसेर्कु हिमाल र कुसुम खाङ्गारु हिमाल देखा पर्यो । थामसेर्कु हिमाल त मन्जु गाउँसम्म नै देखिन्छ । मन्जुबाट पहिलोपटक देखिएको खुम्बिला हिमालले मनमा खुसीको तरङ्ग पैदा गर्छ । आधी घण्टाको पदयात्रा नगर्दै बैंकरको अर्को छङ्छङ् झर्दैको आकर्षक झरना आँखा तान्छ । मन्जु गाउँ शुरु हुनासाथ संसारको सबैभन्दा अग्लो ठाउँमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार आउछ । करीब ११४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले ८८४८ मिटर उचाइ नापेको छ । जसले दुर्लभ जंगली जीवजन्तु र रंगीन चराचुरुङ्गीलाई संरक्षण दिएको छ ।

यहाँ लेखिएको सूचना÷सुझाव बोर्डबाट पनि निकुञ्ज बारे धेरै जानकारी दिदो हो । हेर्ने फुर्सद र धैर्य कसैमा देखिदैन । हरेक पर्यटक आआफ्ना प्रेवेश टिकट देखाउदै गन्तव्य तर्फ बढ्न आतुर छन् । यसपछिको गाउँ हो लार्चा दोभान । जोडले हावा चलेको छ । सधै बिहान १०÷११ बजेपछि यस्तै हावा चल्छ यहाँ । एक हातले टोपी समाउदै यस भेगको सबैभन्दा अग्लो अनि डरमर्दो लार्चे दोभान हिलारी पुल लगभग जगिङ्को जोश र गतीमा तर्दैछु ।  तर एकाएक रोकिन्छन् पाइलाहरू । परपर डाडामा सुरिला सल्लालगायत रुखविरुवाका गाढा हरियाली छ । छ दृष्टिभरि फैलिएको जीवनसादृश्य ल्याण्डस्केप । पुलभन्दा धेरै मुन्तिर जहाँ पहाडको घाचबाट सेतो धर्सोमा थकान बगाउँदै बगिरहेको छ, सम्मोहनकारी दुधकोशीको सङ्लो पानी । यिनैको जोडबलले केही समय अडिए मेरा पाइलालाई ।

फाक्दिङ्बाट १२ किलोमीटर हिडेपछि झकिझकाउ बस्ती नाम्चे बजार (३४४० मिटर) भेटिन्छ ।  भिरालो भूमिमा बनेका होटलहरू छन् । तर केवरा फूलको झुप्पा जस्ता नजरमा बस्ने खालको आकर्षक छ त्यसमा । नाम्चेबजार प्रवेशद्वार छिरेपछिको ढुङ्गाका छपनी बिच्छ्याएर सर्लक्क बनाइएको फराकिलो बाटो भेटियो । जसलाई टेकेर उक्लेपछिको मुख्य बजार उत्तिकै भब्य र सुबिधाजनक छ । स्थानीय उत्पादन तथा बजारिया समाग्री बेचबिखन गर्ने प्रशस्त दोकान छन्  । पर्यटक लक्षित समाग्रीहरू लगायत रेष्टुरा, क्याफे बाहेक बौद्ध धर्मसंग जोडिएका समाग्रीहरू समेत उपलब्ध छन् यहाँ । खुम्बु क्षेत्रका फरकफरक गन्तव्यको लागि निस्केका प्रायः पर्यटक बास बस्न रुचाउने लोकप्रिय थलो पनि हो यो । 

निलो आकाश पृष्ठभुमिमा राखेर पहिलोपटक मोहनी रूप छर्दै हिमाल÷पिक मुस्कुराउदै छन् । उत्तरतिर लोसासा हिमाल । पूर्वतिर खाङ्लेमु हिमाल र आमाडब्लम हिमाल । दक्षिणतिर  खाङ्तेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खाङ्गेरु हिमाल, कोङ्दे रि हिमाल, कोङ्दे पिक, सुन्दर हिमाल, खुम्बिला हिमाल । पश्चिमतिर चोलाक्छे पिक तबुचे पिक । शरीरलाई स्थानीय तापक्रमसंग अनुकुलित पार्नको लागि यो ऐतिहासिक बस्तीमा २ रात बास बस्ने गर्छन् धेरै पर्यटकहरू ।

तेङ्बुचे नपुग्दै हाम्रो स्वागतसत्कारमा कोङ्दे रि हिमाल नजिकिन्छ । संगसंगै पाहुनाको स्वागतमा फुलमाला लिएर पन्चकन्या उभिए जसरी   सगरमाथा, थामसेर्कु, ल्होत्से र आमाडब्लम  हिमालहरू  लाइनबद्ध छन् । जो हिजोसम्म हामीसंग लजाएर नाकमुख छोपिकन ओझेलिएका थिए ।
प्रकृतिवाणी सुनिने आनन्ददायी बाक्लो जङ्गलको ठाडो उकालो  चढ्दै छौ, तेङ्बुचे (३८६० मिटर) गाउँ चुम्नको लागि । कोलाहल वर्जित निर्जन प्रकृति बोल्ने जङ्गलको बाटो छ । ठिङ्रे सल्ला, धुपी सल्ला, खस्रु, उत्तिस, ताक्पा, चरुवा आदिका बोटविरुवा बेपत्तैसँग बाक्लिएका छ्न् यता ।
जंगलले बाघ, भालु, कस्तुरी, रेड पाण्डा, घडाल जस्ता जीवजन्तूहरूलाई बास दिएको छ । बादर भने नाम्चेसम्म मात्र पाइन्छ । यता पाइदैन । कालिज डाफे, मुनाल लगायतका चराचुरुङ्गीको चिर्बिर लेकाली बतासको ध्वनि र अनेक थरी बनस्पति बास्ना फैलिएको छ बाटोभरि । जसको निकटताले तन र मनलाई एकत्वमा बाधेको छ ।

खासमा तेङ्बुचे गाउँलाई खुम्बु क्षेत्रको सबैभन्दा ठूलो ’तेङ्बुचे गुम्बा(मोनास्ट्री)’ले बढी चिनाएको छ । यसैको प्रसिद्धिबाट गौरवान्वित बनेका छन् वरपरका गाउँ पनि । सन् १९१६ देखि नै शेर्पाहरूको प्रमुख सांस्कृतिक चाडबाड र पर्वहरूको मूल थलो मानिदै आएको गुम्बा साच्चिकै सुन्दर, सानदार र अद्भुत छ ।  

गुम्बाभित्रको भव्य उज्यालो र चहकिलो संसारमा अनेक भावभङ्गिमका बुद्धका विशाल प्रतिमाहरू देदीप्यमानसाथ ध्यानमग्न छन् । त्रिपिटक र बौद्ध सभ्यताका चित्र ज्यादै कलात्मक ढङ्गले कुँदिएका छन् । गुम्बा भित्रको मात्र के कुरा ! गुम्बा परिसर÷बाहिर समेत असाध्यै कलात्मक कलाकारिताबाट भरिपूर्ण रहेछ । अति उत्कृष्ट लाग्छन्– गुम्बाका द्वारमा खोपिएका कालीगढी होस या अनेकौँ भाव जोडिएका रङ्गीचङ्गी बुट्टा र चित्र । प्रमुख गुम्बाको अघिल्तिर, ठुलो चोकको चार कुनामा फर्फताइरहने छोर्तेन र वरिपरिका माने अनि ससाना गुम्बाहरूले मन तानिरहेकै छन् । शोभा थपेकै छन् ।

बाहिर उत्तरपट्टि एउटा खैरो रङको ढुङ्गामा तीन पाइला हिडेको छाप छ । जुन लामा साङबा दोर्जेले टेकेका पाइलाहरू मानिन्छ । जनविश्वासको पौराणिक कथा यस्तो छ– पहिला जङ्गल र ढुङ्गै ढुङ्गाले घेरिएको यो ठाउँमा दोर्जेले तपस्या गरेका रहेछन् । आफ्ना गोडा चिप्लेर उनले तीन ठाउँमा टेक्न पुगेछन् । पछि यही ठाउँमा गुम्बा बनेको हो । यी तीन पाइलालाई भूत, वर्तमान र भविष्य कालका रूपमा व्याख्या गर्ने र बुझ्ने पनि गरिएको छ । शुरुमा “तीङ बिजे“ यो ठाउँको पुरानो नाम थियो । “तीङ बिजे“ भनेको तीन वटा पाइला । तीङ बिजेलाई मान्छेले बिगारेर तेङ्बुचे बनएका हुन् ।

पाँच सयको नोटमा फोटो छापिएको तेङ्बुचे गुम्बा प्राचीन बौद्ध , धर्म, चाडपर्व, इतिहास, सभ्यता, संस्कृतिको कहानी बोकेको छ यसले । साथसाथै शैक्षिक तथ्यसमेत जोडिएका छन् यो गुम्बासँग । धेरैका लागि सगरमाथा यो पवित्र ठाउँबाट देख्न पाउनु चुली चढ्न सकिने आधार मान्छ्न् र सम्झन्छन् यसलाई आशीर्वाद । धेरै आरोहीले तेङ्बुचेको दर्शन र अवलोकनपछि मात्रै सगरमाथातिर पाइला बढाउने गर्छन् ।

अग्लो डाँडामा अवस्थित तेङ्बुचे गाउँ चारैतिरबाट चम्किला हिउँचुली र हरिया पहाडद्वारा घेरिएको छ । पूर्वबाट खाङ्तेका, थामसेर्कु हिमाल । दक्षिणबाट कोङ्दे रि हिमाल, कोङ्दे पिक, थामे पिक, सुन्दर हिमाल । पश्चिमबाट खुम्बिला हिमाल, चोलाक्छे पिक, तबुचे पिक । उत्तरबाट नुप्चे पिक, सर्बोच्च शिखर सगरमाथा, ल्होत्से पिक र आमाडब्लम हिमाल आँखामा हमेसा उज्याला बनेर बास बस्ने हिमालहरू हुन् । सगरमाथा आधारशिविरसम्मका पदमार्गबाट देखिने अधिकाश हिमालहरू यहीबाट स्पष्ट देखिन्छन् । अगाडिको पदयात्रामा पूरा गर्न नसक्ने (शारीरिक र समयाभावको कारणबाट)हरू यिनै गहनारुपी मनमोहक हिमालहरू हेरेर फर्कन्छन् । जीवनभरि नमेटिने लामो सम्झनाको सुखद अनुभूति बटुलेर । ०००