जर्मन वस्ती भएको फ्रेन्च शहर स्ट्रास्सवुर्ग र कोलमार हेरेपछि हामी बेलायत जाने क्रममा उत्तरी फ्रान्स तर्फ हानिदै जादा हामी सेनलिस भन्ने शहरमा आइपुग्यौ । त्यहा हेर्न लायकको विश्व सम्पदा सूचीमा परेको भनेको एउटा क्याथेड्रल र म्यूजियमहरु रहेछन । हामीले चाही क्याथेड्रल हेर्ने विचार गरी सेनलिसमा केही घण्टा रोकियौ ।

 मैले देखेको छतीसौं विश्व सम्पदा ः फ्रान्सको  सेनलिसको क्याथेड्रल 

सेनलिसको क्याथेड्रल सन ११५३ मा निर्माण गर्न शुरु गरिएको रहेछ । निर्माण कार्यको नेतृत्व विसप पियरेले लिएका रहेछन् र त्यसकार्यमा उनलाई फ्रान्सको तत्कालिन सम्राटको पनि ठूलो नैतिक सहयोग भएको रहेछ  यद्यपि निर्माणको लागि खर्च भने विसप एक्लैले जुटाएका रहेछन् । निर्माण कार्य शुरु भएको सात बर्षमा वल्ल क्याथेड्रलको पश्चिमी मोहोडा र मुख्यद्धारको निर्माण कार्य सकिएको रहेछ । अनि त्यसको विस बर्षपछि क्याथेड्रल सम्पूर्ण निर्माण सकिएको रहेछ ।

विधिवत वास्तु पुजा गरी क्याथेड्रलको उदघाटन भने सन ११९१ को जुनमा राइम्सका आर्कविसप गिलाउमले गरेका रहेछन् । क्याथेड्रलको कूल निर्माण समय  भनेको ४० वर्ष हो भन्दा रहेछन् । पछि १३औं शताम्दिमा क्याथेड्रललाई अग्लाउने कार्य गरिएको रहेछ । यस क्रममा सन १२४० क्याथेड्रलको दक्षिण मोहडामा टावर वनाइएको रहेछ ।  चुच्चो आकाश तिर फर्केको यो टावरमा जम्मा दुइ तलामात्र राखिएको रहेछ । यो टावरले क्याथेड्रलको मध्यभागलाई स्थिर राख्न र क्याथेड्रलको भित्तामा टासिएका जवाहरातहरु प्रदर्शन गर्न मद्दत पुराएको रहेछ ।

१४औ शताब्दिको अन्त्यमा गएर क्याथेड्रलमा जोडेर नया च्याप्टर निर्माण गरिएको  रहेछ र १४६५ मा क्याथेड्रलमा गजुरको निर्माण कार्य सम्पन्न गरिएको रहेछ । यसै क्याथेड्रलमा सन १४७७ देखि ड्युक अफ सेन्ट साइमन र उनका उत्तराधिकारीहरुको चिहान राखिने चलन शुरु गरिएको रहेछ । सन १५०४ चट्यांगको कारण आगलागि हुँदा यस क्याथेड्रलका केही संरचना ध्वस्त भएका रहेछन् ।

यसलाई जिणोद्धार गरी जस्ताको तस्तै बनाउन सम्राट लुइ चौधौंले आर्थिक सहयोग गरेका रहेछन् । यसक्रममा क्याथेड्रलको माथिल्लो भागलाई पुन ६ मिटर अग्लो वनाइएको रहेछ । अनि क्याथेड्रल भित्रको दुइ स्तंभहरुको विचको स्थानलाई दुइ गुणा चौडा गरिएको रहेछ ।

यी भित्ताका मोहोडाहरुमा ज्यादै सुन्दर तरिकाले जवाहरात जडान गरिएका रहेछन् । पछि सन १५०६ मा यस क्याथेड्रल पुन जिणोद्धार गर्न शुरु गरिएको रहेछ र सन १५१५मा सम्पन्न भएको रहेछ । सन  १५२० मा फेरी दक्षिणी मोहोडाको निर्माण संगै दक्षिणीद्धारको निर्माण सम्पन्न गरिएको रहेछ  भने सन १५३८ मा उत्तरी ढोकाको निर्माण कार्य पनि सम्पन्न भएको रहेछ यही समयमा क्याथेड्रल भित्रको पूर्वि गजुरको निर्माण र सजावट गर्ने कार्य सम्पन्न भएको रहेछ ।

सन् १६७१ मा क्याथेड्रल भित्रको प्राचीन गाल्लो रोमन भित्तामा गजुर वनाइ त्यस्लाई पवित्र ह्रदय (Sacred Heart) भनी नामाकरण गरिएको रहेछ । सन् १७७७ मा क्याथेड्रल भित्र गानवजान गर्ने समूहको लागि भनेर कलात्मक ढंगबाट मंच वनाइएको रहेछ । सन् १७८९ ताकाको फ्रेन्च राज्यक्रान्तीको कारण केही फर्निचर, केही मूर्तिहरुको टाउको, ढोका अड्याउने स्तंभहरु ध्वस्त भएका रहेछन जुन कार्यको जिणोद्धार १९औं शताब्दिको मध्य तिर गएर गरिएको रहेछ । क्याथेड्रल भित्र रहेका कलात्मक शिशाका झ्यालहरु भित्रबाट हेर्दा ज्यादै सुन्दर देखिदा रहेछन् ।