पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मिटर ब्याज पीडितहरु झण्डै एक महिनासम्मको निरन्तर पैदल यात्रा पछि काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । मिटर ब्याज पीडितको समस्या हल गर्न पटक–पटक प्रवास नभएको होइन तर ती प्रयास निरर्थक भएका छन् । साहु माहाजनहरुले घर व्यवहार चलाउन गाह्रो पर्नेलाई चलन चल्तिको ब्याज भन्दा कैयौं गुणा महङ्गो व्याज लिएर ऋण लगानी गर्ने प्रचलनलाई मिटर ब्याज भन्ने गरेको पाइन्छ । एक बर्षमै साँवाको डवल हुने गरी यस्ता मिटरब्याजी साहुले पैसा लगानी गरेका हुन्छन् भने धितो वापत घरजग्गा लेखेर पूर्जा जफत गरेर राखेका हुन्छन् । कतिपय साहुहरुले मालपोत कार्यालयबाट रजिष्ट्रेसन पास गरेरै जग्गा लिएर मिटर ब्याजमा लगानी गरेका हुन्छन् ।

यसरी मिटर ब्याजको धन्धा विशेष गरी तराई मधेशका सबैजसो जिल्लामा फस्टाएको देखिन्छ । एकातिर मिटर ब्याजले पिडित परेका जनतालाई अर्कोतिर सहकारी र लघुवत्तहरुले पनि चक्रबृत्ति ब्याजको चंगुलमा पारेर घरवार विहीन बनाए भन्ने आरोप लागि रहेको छ । यस्तै मिटर व्याज र वित्तीय संघ, संस्थाबाट पिडितहरुलाई न्याय दिने भनेर दुर्गा प्रसाईको समूहले पनि मुलुकभर प्रचार प्रसार र आन्दोलन गरिरहेको छ । प्रसाई समूहको आन्दोलनका कारण ग्रामिण भेगमा शाखा रहेका वित्तिय संस्थाहरु अप्ठ्यारो अवस्थामा पुगेका छन् । एन आईसी एशिया बैङ्क समेत अहिले पटक पटक सूचना प्रवाह गर्दै आफ्नो अवस्था राम्रो रहेको जानकारी दिईरहेको छ । 

यसैबीच दुर्गा प्रसाई समूहको राजधानी केन्द्रित प्रर्दशन सकिएको अर्को सातामै लामो मार्च पास गर्दै पीडितहरु राजधानी भित्रिएर प्रर्दशन गरिरहेका छन् । उनीहरुले सरकारसँग गरेको वाटो सफल हुन सकेको छैन भने संसद भवन परिसरमा समेत प्रर्दशन गरेका कारण संसद भवन बानेश्वरको पेटी र आसपास जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घाषणा गरेको छ । पीडितहरुले प्रधानमन्त्री प्रचण्डका विरुद्ध बालुवाटार स्थित प्रधानमन्त्री निवास छेउमै पुगर नारावाजी गरेका छन् । उनीहरुले कालोसूची खारेज हुनपर्छ भन्दै राष्ट्रबैकको समेत ध्यानाकर्षण गराएका छन् । 

हजारौको संख्यामा बढिजसो महिलाहरु पीडितको रुपमा राजधानी आएका छन् । मिटर व्याज पीडितहरुले साहुको तमसुक खारेज गरी आफ्नो घर जग्गा फिर्ता हुनु पर्ने माग राखेका छन् । साँवा रकम र कैयौं गुणा बढी व्याज बुझाउँदा पनि ऋण मुक्त नभई उल्टै साहुले धाक धम्कि दिएर घर वास विहीन बनाएको पीडितहरु बताउँछन् ।

मिटरव्याज पिडितहरु कतिपयले ऋणको बोझ र साहुको त्रासले आत्महत्या पनि गरेका छन् । भए भरको सम्पत्ति साहुलाई बुझाई सक्दा पनि ऋणमुक्त नभएपछि पीडितहरु ठूलो संकट झेलेर राजधानी आएका छन् । पटक पटकको राजधानी यात्राले पनि समस्या हल नभएपछि अहिले अन्तिम संघर्षको रुपमा राजधानी आउनु परेको पीडितहरु बताउँछन् । मिटर ब्याजको धन्धा चलाउनेमा राजनीतिज्ञ, पत्रकार जस्ता समाजका अगुवा व्यक्तिहरु नै संलग्न हुने गरेका छन् । १ लाख लिएर ५ लाखको तमसुक गर्ने मिटर ब्याजीहरुले गरीवको चरम शोषण गरेकाले सरकारले तत्काल मिटर ब्याजको समस्या हल गरी पिडितलाई न्याय दिन आवश्यक छ ।