विषय प्रवेश,

नेपालमा अहिले समाजवादको वहस निकै चलेको छ । संविधानले पनि समाजवाद उन्मुख राष्ट्रको कल्पना गरेको छ । तर समाजवाद सबै राजनीतिक दलको एजेन्डा भएपनि यसलाई प्रप्त गर्ने दिशामा भने कुनैपनि दलहरुले मार्ग पहिल्याएका छैनन् । समाजवादलाई सप्तरी वरमझियाको बुढो बाजेको पेडा बनाएर दलहरुले राजनीतिकको बजारमा बेचिरहेका छन् । कांग्रेस, एमाले, माओवादी सवै प्रमुख दलहरुले लामो समयदेखि समाजवादको गायत्रीमन्त्र जप्दै आएका छन् ।

नेपाली कांग्रेसको त मार्ग निर्देशक सिद्धान्त नै लोकतान्त्रिक समाजवाद हो । माओवादीले पनि महाधिवेशनबाट एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो शिर्षक दस्तावेज पारित गरेर समाजवादलाई आफ्नो एजेण्डामा समावेश गरेको छ । माधव नेपाल, डा. वावुराम भट्टराई र उपेन्द्र यादवको त पार्टीको नाम नै समाजवादी छ । विप्लव नेतृत्वको नेकपाले, वैज्ञानिक समाजवादको रटान लगाईरहेको छ । 

कम्युनिष्टहरुको आदर्श नै समाजवाद हो । माक्र्सवादी दर्शनको सैद्धान्तिक प्रस्तावन अनुसार समाजवादको सिद्धान्त र उद्देश्य राज्य नियन्त्रित अर्थतन्त्रबाट समानतामा आधारित आर्थिक विकास हो । समाजबादलाई अस्विकार गर्ने पार्टी कम्युनिष्ट हुन सक्दैन । 

कम्युनिष्ट समाजबाद पुर्णरुपमा कार्लमाक्र्स, कम्युनिष्ट मेनिफेस्टो र दास क्यापिटल द्वारा निःसृत र अभिप्रेरित देखिन्छ । माक्र्स र ऐगेल्सद्वारा लिखित तथा सन् १८४८ मा प्रकाशित कम्युनिष्ट मेनिफेस्टोमा समाजवाद चालिस पटक उल्लेख हुनुले कम्युनिष्ट व्यवस्थामा समाजवाद कति महत्वपूर्ण रहेछ भन्ने छर्लङ्ग हुन्छ । त्यसैले संसारका सवै कम्युनिष्ट पार्टीहरुले जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने व्यापार गर्दै आइरहेका छन् । नेपालका कम्युनिष्ट पार्टीहरु पनि जनवाद प्राप्त भइसकेकाले अव समाजवादमा छलाङ्ग मार्ने भनिरहेका छन् ।

समाजवादी मोर्चा नै बनाइएको छ तर समाजवादको गन्तव्यबाट भने मोर्चा विमुख देखिन्छ । समाजवादी मोर्चा मूलतः सत्ताको लेनदेनमै केन्द्रित हुनुले समाजवाद ‘मृगतृष्णा’ सावित भइरहेको छ । समाजवाद नेपालको आवश्यकता हो की प्रोपोगाण्डा मात्र हो ? यो प्रश्न हालसम्म अनुत्तरीत अवस्थामा छ ।  नेपालमा समाजवाद अन्जुपन्तको चर्चित गीत ‘नपाएँ तिमीलाई नविर्सिए तिमीलाई, विना अर्थ दिलमा सजाएँ तिमीलाई’  जस्तै भएको छ । राजनीतिक दलहरु समाजवादलाई नविर्सि सक्छन्, न प्राप्त गर्ने बाटो नै तय गर्न इच्छुक देखिन्छन् ।

समाजवादको साईनो

नेपालका राजनीतिक दलहरुले बोकेको समाजवदको साईनो २३०० बर्ष अघिको रोमसम्म पुग्छ । अर्थशास्त्रका रचयिता एव्म मौर्य साम्राज्यका चर्चित रणनीतिकार आचार्य विष्णु गुप्त चाणक्क्य कौटिल्यको निधन भएको तीनबर्ष पछि इसापूर्व २०० मा फेविअस नाम गरेका एक व्यक्ति जन्मिए जो पछि रोम राज्यका चर्चित जर्नेल भए आफुभन्दा शक्तिशाली दुश्मन पक्षलाई युद्धमा हराएर उनले विजय हासिल गरे । उनले कतिपनि हरेश नखाई शत्रुपक्षलाई थकाएर गुरिल्ला युद्ध गरेर फेविअसले रोम राज्यको बचाउ गरे ।

१९ औं शताब्दीको अन्त्यतिर बेलायतमा फेविअसकै प्रेरणामा फेविअवी समाजको जन्म भयो । फेविअन समाजको लक्ष्य लोकतान्त्रिक व्यवस्था भित्रै प्रगातिशील ऐन कानुनको श्रृंखला मार्फत समाजमा क्रमिक रुपमा आर्थिक सुधार गरिनु पर्छ भन्ने थियो । हिंसाको आडमा समाजमा ध्वंस, क्षति र उथलपुथल पैदा हुने तथा कथित क्रान्ति वा सत्तापलटबाट होइन शान्तिपूर्ण तवरले विधिको शासनमा आवद्ध रहेर समाजवादी गन्तव्यमा पुग्नुपर्छ भन्ने धारणा फेवियन समाजको थियो । निजी सम्पत्ति र निर्वाचित संसद सहितको धार वर्ग संघर्ष होइन, निजी उद्यमलाई कजाउने हो, सखाप पार्ने होइन, धनी वर्गमाथि कर लगाउने हो, सफाय गर्ने होइन, उनीहरुको भनाई थियो । 

बेलायतको लेवर पार्टी, लण्डन स्कूल अफ इकोनोमिक्स र आधुनिक लोककल्याणकारी राज्यको विस्तारीत स्वरुप पछाडी फेविअन समाजकै देन छ । यसको नेतृत्व नारीवादी विदुषी वियटरिस वेल, उनका पति सिड्नी वेव र प्रख्यात साहित्यकार जर्ज वनीर्ड साले गरेका थिए । वेव दम्पत्तिले ‘ट्रेड युनिज्मको इतिहास’ र ‘औद्योगिक लोकतन्त्र’ किताव नै समाजवादको आरम्भिक पाठ्यक्रम मानिन्छ । 

गोरखामा शाहवंशको शासन सुरु हुनु अघि नै बेलायतमा गरिवहरुको पक्षमा ‘पुअर ल’ कार्यान्वयनमा आइसकेको थियो । तर विटरिस वेवले भने ‘पुअर ल’ ले विपन्नलाई छोएन भनेर तर्क गरिन् । सन् १८८० को दशकमै जर्मनीका शक्तिशाली दक्षिणपन्थी नेता विस्मार्कले बृद्ध भत्ता र विरामी विमा सुरु गरे । तर कोक्रादेखि चिहानसम्मको सामाजिक सुरक्षा प्याकेजको वियटरिसले वकालत गरेकी हुन् । श्रमिकहरुको न्युनतम ज्याला र जीवनस्तर तोकिनु पर्छ भन्ने विचार पनि उनकै हो । विस्टन चर्चिल सन् १९०८ मा मन्त्री भएपछि जनजीविकाका सवालमा न्युनतम आधारभूत मापदण्डको प्रस्ताव क्याविनेटमा पुर्‍याएर बेरोजगार विमा, अपांग बिमा, अनिवार्य माध्यामिक शिक्षा, सडक निर्माण मार्फत रोजगारी सिर्जना र रेल्वे संचालनको राष्ट्रियकरण चीर्चलले प्रस्ताव गरेका थिए । वेलायती लोककल्याणकारी व्यवस्था मौलिक रचनाकार सन् १९४२ को वेभरिज प्रतिबेदनका लेखक विलयम बेभरिज, वियटरिस, सिडनी वेवहरु नै हुन् । 

बेलायतमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुमा बेलायती लोककल्याणकारी व्यवस्थाको प्रभाव पर्‍यो । क्यम्ब्रिज विश्वविद्यालयमा पढेका नेहरु र लण्डन स्कुल अफ इकोमिक्समा पढेका कृष्ण मेनन बेलायतको लेवर पार्टीकै अनुशरणमा उत्रिए । सन् १९४७ मा भारतबाट अग्रेजहरु बेलायत फर्किए पछि स्वतन्त्र भारतका प्रथम  प्रधानमन्त्री नेहरुले बेलायती मोडलकै शासन प्रणाली अवलम्वन गरे । नेपाली कांग्रेसले पनि भारतकै शासन प्रणालीको नक्कल गर्‍यो । २०१५ सालमा सत्तामा आएपछि वीपी कोइरालाले अख्तियार गरेको समाजवाद बेलायतको लेवर पार्टी र भारतीय राष्ट्रिय कांग्रेसले बोकेको समाजवादकै फोटोकपि हो । कांग्रेसले समाजवादको नीति लिए पनि उसको हिडाई भने पुँजीवादकै लिकमा देखिन्छ ।