परीक्षा कोइराला, काठमाण्डौ - शोभा ज्ञवाली नेपाली साहित्य जगतमा निकै अधि देखि नै सक्रिय लेखकको रुपमा आफ्नै पहिचान बनाउन अग्रसर छिन् । उनको पत्रकारिता , समाजसेवा र उद्योगमा संलग्नता छ। उनले नेपाली समाजलाई चेतनशील बनाउन साहित्यलाई माध्यम बनाएकी छिन्। उनको कथाले विशेषत नेपाली नारी समाजलाई उन्मुक्ति तर्फ लैजान बाटो मोडेको देखिन्छ।
लेखिका शोभा ज्ञवालीको कृति “संघर्ष” उत्पीडित ,अन्याय र थिचोमिचोमा परेका सम्पूर्ण नारीलाई पथ प्रदर्शन गर्ने कथा संग्रह हो। २०७७, फागुन २ गते प्रकाशित यो कृतिमा २६ वटा कथाहरु छन्। प्रसिद्ध लेखक तथा पत्रकार जोन डिडियन भन्छन् - “हामी वाच्नको लागि कथा सुनाउछौ।“ यस कथामा पात्रको नाम र परिवेश जे भए पनि पीडाबाट गुज्रिरहेका नारीलाई सशक्त तुल्याउन आर्थिक आर्जन आवश्यक छ भन्ने मूल संदेश हो। लेखिकाको २०७७ कार्तिकमा “सम्पूर्ण आकाश” पश्चात दोस्रो कृति हो।
शोभाको एक कथा आमाले नेपालमा समाज आज कस्तो छ ? एकातिर समाज पश्चिमासँग प्रभावित छ भने अर्कातिर अशिक्षा र चेतना विहीनता व्याप्त। देखावटी समाज, समाजमा नारी उत्थानका लागि केहि प्रयास भएको छ तर अपर्याप्त।
शोभाले साहित्यको माध्यमबाट महिलाको चेतना फैलाउन अग्रसर छिन्। उनी संघर्ष कथामा भन्छिन् – “जहाँ आफन्त भानिएकाबाट चेलिमाथी गिद्दे दृस्टि लगाइन्छ भने त्यस्तो घरलाई कसरी आफ्नु भनेर बस्न सकिन्छ ? आखिर यस्तै पीडितहरु हतोत्साहित नहोउन् , गलत बाटो नरोजून र समाजमा उदाहरणीय बनेर देखाउन् भन्नका लागि त हो यो संस्था खुलेको।“ (पृ १)
त्यस्तै प्रणय कथामा लेखिकाले किशोरीहरु गाउबाट शहरमा संघर्ष गरि कसरी सफल हुन सक्छन् दर्शाइएको छ। कथामा महिलालाई आफ्नो सुरक्षा आफै गर भन्ने संदेश छ। अधिकांश महिलाले जीवनमा धेरै दुख दर्द सहनु पर्छ ,कतिले धरेलु हिंसा, चौतर्फी बन्धन, न्याय माग्दा ज्यान नै गुमाउनु पर्ने अवास्थाबाट गुर्जिनु पर्छ।
कथा पुष्पित नबनुन् पुष्पाहरुमा शोभा भन्छिन् - "उनी त गइन ,त्यसपछि मन अशान्त हुने पालो मेरो पो बन्यो। पुष्पाले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रस्न उपस्थित भयो। एउटा मनले भन्यो- कति कायर रहिछन्। जाबो एउटा केटाले छाडेर गयो त के भयो। मान्छेले साठी वर्षमा डिभोर्स गरेर त विवाह गर्छ। कसैले त चारचोटि डिभोर्स गरेर विवाह गरेका छन्। "(पृ २३ )
अनवरत अभिभारा कथामा महिलाले आफ्नो जिम्मेवारी र वाध्यताले आफुले चाहेको जीवनसाथी समेत रोज्न सक्दैनन् देखाउछ। त्यसमा पात्र घरेलु हिंसाको शिकार भएको दर्दनाक प्रस्तुति छ -च्यातिएका लुगा , शरीरमा निलडाम , मुखमा लागेका चोट। कथा क्षणीक सामिप्यतामा चेतनशील महिलाले समाजका गतिविधिहरु लेखेर अरुलाई सतर्क समेत बनाउछन् भन्ने प्रस्तुत छ। कथामा महिलालाई जीवन जिउने कला समेत सिकाइन्छ-"तपाई आफुलाई कसरी खुशी हुने भनेर सोच्नुहोस्। साथीहरु बनाउनु होस्। उनीहरुसँग कुराकानीमा संलग्न हुनुस्। आफ्नो स्वास्थ्यको हेरविचार गर्नुस्। जीवनमा अरुलाई धेरै गर्नुभयो अब आफ्नै लागि बच्नुहोस्। बरु जीवन भोगाइको बारेका लेख्न थाल्नुहोस्। "(पृ ५६ ) शोभाले प्रत्येक कथामा नारी लै आट, हौसला प्रदान गरी सशक्त बनाउन सिकाउछिन्। उनले त्यस्तै महिलाहरुको पनि कमजोरी औल्याएकी छिन्।
लेखिका शोभाले महिलालाई परेका समस्या मात्र न दर्शाइ समाधानको बाटो समेत खोलिदिएकी छिन्। कथा नया मोडमा महिला सबै एकै नासका हुदैनन् प्रस्तुत छ। महिलाको टुहुरी बालिका प्रति गरेको निष्ठुर व्यवहार गर्छिन्। भनिन्छ आमाको मृत्यु भएमा बाल बच्चा टुहुरो हुन्छन्। यसले बालबालिकाको जीवनमा आमाको कति महत्व हुन्छ भन्ने बुझिन्छ। उनी चरित्र चित्रण गर्नमा खप्पिस छिन् -"किन म टुहुरो भए ? किन म आफ्नै बाबाका लागि घाडो भए ? मेरो बाबाले खर्च पठाए अनुसार म खुसी भए , नभएको , मेरो पढाई भए , नभएको उहाले कसरी थाहा पाउने ? यो थाहा पाउनु उहाको कर्तव्य होइन ? (पृ ६५ )
कथा उपहार जिन्दगीमा महिलाले आफ्नो सन्तानका लागि लोग्नेको हिंसा सहेर बच्नु पर्ने बाध्यता छ -"रात दिन श्रीमान् को पिटाइ खाने पनि गालीहरु सहनु पर्ने , गर्मीमा तातो पानी र जाडोमा चिसो पानी जिउमा खन्याइदिनु जस्ता मेरो लागि सामान्य भइसकेको थियो। " ( पृ ७५)
शोभाका हरेक कथाले समाज सुधार र महिला प्रति हेर्ने दृष्टिकोण उच्च होस् भन्ने चाहन्छिन्। उनी परिवारबाट नै महिलाको रुपान्तरण हुनसक्छ भन्ने मान्यता राख्छिन्। नारीहरु कोमल हृदयक हुन्छन् र उनीहरु अरुलाई छिट्टै माफ दिन्छन् र माग्छन् पनि। कथा संकल्पमा शिक्षित बुहारीलाई कति चुनौती र बाध्यता छ देखिएको छ। उनी भन्छिन् -"बिहे त भयो तर सासु आमा कडा। मैले कलेज पढाएको उहालाई चित्त बुझेन। ऋषि आफ्नै व्यवसायमा व्यस्त। मैले घरका काम सकेर पढाउन जादा पनि किन उहाको टाउको रन्थनिनु पर्ने हो ?"(पृ ९५ ) कथामा बुहारीले आफ्नो जन्मदिनमा आफैसँग अत्याचारविरुद्ध लड्ने र आफ्नो जीवनलाई सुन्दर र स्वास्थ्य बनाउने संकल्प गरिन्।
शोभाका कथा महिलाले जीवन , समाज , परिस्थिति बुझ्न बाहिर काम गर्न जरुरी छ औल्याउछिन्। कैयौ सासु बुहारीलाई छोरि र बुहारी आमा जत्तिकै प्यारो गर्छन् भन्नेपनि देखिन्छ। कथामा विधवा बुहारीलाई फेरी विवाह गर्दिएर आफ्नै आमा बाबु जस्तो कर्तव्य निर्वाह गरेका छन्। उनको कथा सान्निध्यमा आध्यात्मिक चेत पनि छ -"शान्त अनि खुशी भएर पशुपतिको आरती हेरिरहेका थिए। पुर्णिमाको आरती विशेष हुने नै भयो। " पृ (१२१) कथामा जीवन दर्शन पनि छ - " जीवन भन्नु नै संझौता हो। " लिभिङ्ग टुगेदर कथामा आज समाजमा पश्चिमी प्रभाव परेको छ। बिहे गर्नुपर्छ भन्ने छैन। तर , सम्बन्ध टुटेमा महिलाको इज्जत जाने ,के पुरुषको जादैन ? उनको प्राकृतिक वर्णनले आनन्द प्रदान गर्छ - असार महिना , बाहिर झमझम दर्किरहेको छ। (पृ १४३) घटना परिघटना निकट कै लिन्छिन्। दृढ संकल्प कथामा -"उसैको अगाडि दृढ संकल्प गरे कि आजबाट कोरोना भाइरस पीडित असहाय विरामीको सेवामा तल्लिन हुनेछु (पृ १४९ ) शोभाले समस्टिमा महिलाले संघर्ष गरेपछि असम्भव पनि सम्भव हुन्छ दर्शाएकि छिन्। उनी एक सच्चा नारी अभियन्ता हुन् जसले महिलाले आफ्नो समेत वास्ता नगरी घर परिवार ,समाजको सेवा गर्छिन् देखिएको छ।
कथाकार शोभाका यी कथाहरुबाट बिभिन्न पक्षमा मुल्यांकन गर्न सकिन्छ नै तर यो छोटो लेखाईमा यति मात्र भनु उनका आगामी कृतिले नेपाल , नेपाली समाज लाई अग्र दिशा दिने काममा निरन्तरता अओस्। अत्यन्त सुसज्जित ढंगबाट प्रकाशित यो कृतिका बारे मेरो मन्तव्य टुङ्गाउनु पूर्व तलका वाक्य अगाडी बढाउछु -
देवकोटाले भनेको संझौ "कथा किस्सा एउटा सानो आखीझ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ। थोरैमा मीठो र भरिलो हुने छोटो किस्साको बानी हो। " यस अर्थमा शोभाले हरेक कथामा संदेश दिएकी छिन्। शोभा ज्ञवाली बधाईकी पात्र त छैन् नै र उनलाई कलम अझ अग्रसर हुन सकोस् भन्ने प्रतिक्षाका साथ।
लेखिका : परिक्षा कोइराला