गाँजामा नशा लगाउने र औषधिको रुपमा उपयोग हुने दुइ प्रमुख तत्व हुन्छन् । गाँजामा हुने ८० रसायनमध्ये फूलमा हुने क्यान्ना बिडियोल (सीबीडी) ट्रेटा हाइड्रो क्यान्नबिनोल (टीएचसी) मात्रको आधारमा अमेरिकामा २ बर्गमा छुट्याइएको छ । गाँजामा टीएचसी ०.३ प्रतिशतभन्दा बढी भए म्यारुवाना र सो भन्दा कम भए हेम्प भनिन्छ । टीएचसीमा औषधीय गुण भएता पनि यसले नशा लगाउने कार्य गर्छ तर मदिराको नशाले जस्तो मानिसलाई झैझगडा गर्न प्रोत्साहन गर्दैन । हार्वड विश्वविद्यालयका मेडिकल विषयका प्रोफेसर पिटर ग्रिन्सपोन भन्छन्– क्यान्नविसमा हुने रसायन सीबीडीले दुःखाई (पेन) चिन्ता (एन्जाइटी), अनिद्रा (इन्सोमेनिया) मिर्गी (इपिलेप्सी), मनोविकृत (साइकोसिस), अटिजम जस्ता सबै मानसिक रोगमा सबैभन्दा प्रभावकारी औषधीको काम गर्छ । अर्थराइट्स (जोर्नीखिइने) रोगमा गाँजाको तेल सबैभन्दा प्रभावकारी पाइएको छ । सीबीडीले कलेजोलाई बलियो पार्ने रिसर्चबाट देखिएको छ । केही रोगमा सीबीडीको प्रयोगको मात्रा अझै यकिन गर्न बाँकी छ । जनवारहरुमा यसको परिक्षणमा पूर्ण सफलता मिलेको छ । यसको कुनै साइड इफेक्ट हुँदैन । 

 गाँजाका औषधीय गुण

अमेरिकामा गाँजाको जीन आलुको विउमा हालेर आलुमा सीबीडी उत्पादन गरिएको छ । अमेरिकामा टीएचसी कम सीबीडी ज्यादा उत्पादन हुनेगरी बीउ बनाएर खेती गरिएको छ । त्यसबाहेक गाँजा (हेप्म) बाट बनेका मलम, तेल, चक्की र गैरऔषधीय बस्तु समेत गरी २५ भन्दा बढी प्रडक्ट बजारमा छन् । नियन्त्रित रुपमा उत्पादन गरिएको र अनुसन्धानमा लागत परेको कारण हाल औषधी र अन्य प्रडक्ट महँगा छन् । भविष्यमा गाँजाखेती बढेपछि मूल्य घट्ने नै छ । अमेरिकामा सन् २०१४ मा गाँजाबारे रिसर्च गर्न विश्वविद्यालय र राज्यहरुलाई खुला गरियो । सन् २०१८ मा किसानहरुले राज्य सरकारमा दर्ता भएर मापदण्ड पुरा गरेर सिफारिस गरिएका गाँजाका प्रजाति खेती गर्न खुला गरियो । गाँजा खेती ४६ वटा राज्यले खुला गरिसकेका छन् भने ४ वटा राज्यले खुला गर्ने मापदण्ड तयार गरेका छन् । तर धान, मकै गहुँ, तरकारीजस्तो खेती गर्न र विक्री वितरण गर्न भने खुला गरिएको होइन । 
नगदेबालीका रुपमा कपास खेतीलाई प्रवद्र्धन गर्दै आएको अमेरिकी सरकारले अब गाँजालाई प्रबद्र्धन गर्न लागेको छ । गाँजा खेतीबाट किसानको आम्दानी चारगुणा बढ्ने प्रक्षेपण अमेरिकामा गरिएका छन् । अमेरिकामा कपास खेतीबाट किसानले गर्ने आम्दानी गाँजाको फाइबरबाट मात्र हुने अनुमान गरिएको छ । गाँजाको फाइबर निकै बलियो हुने हुँदा कपडा बनाउन उपयोगी हुन्छ । कतै कतै यसको दाना भुटेर त्यसको छोप वा आचार खाने पनि गरिन्छ । बैज्ञानिकले गाँजामा हुने विभिन्न यौगिकहरुको अनुसन्धान गरेर क्यान्सर एवं अरु रोगमा उपचार गर्ने औषधि बनाएका छन् । नेपालले पहिलो विश्वयुद्धताका गाँजाबाटै बनाइएका झाडापखालाको औषधि निर्यात गरेको सिंहदरबार बैधखानाको इतिहास छ । 

नेदरल्याण्डको बाली संरक्षण अनुसन्धान केन्द्रले पत्ता लगाए अनुसार गाँजाको जराले माटोमा हुने हानिकारक जीवाणु र व्याक्टेरियालाई नष्ट गर्छ । एक सिजनमा गाँजा खेती गरेको खेतमा अर्को सिजनमा अरु बाली लगाउँदा त्यो बाली समेत रोगमुक्त हुनसक्छ । अथर्व बेदका अनुसार पाँच आधारभूत बनस्पतीमा गाँजा पर्छ । बेदका अनुसार यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विषले मुर्छित व्यक्तिलाई गाँजाको उपचारले बचाउन सकिने हिन्दु कथामा उल्लेख छ । विभिन्न रोगलाग्दा मानिस र पशुपन्छिलाई गाँजाको पात फुल र फल (दाना) खुवाउने चलन पनि छ । मानव सभ्यताको इतिहासमा उच्च महत्व दिइएको गाँजा बनस्पती प्रतिबन्धले गुमेको यसको सम्मान फिर्ता गर्न नेपाल सरकारले गाँजा माथिको प्रतिबन्ध ढिलो नगरी खुला गर्नुपर्छ । अमेरिकी सरकारले अहिले उच्च प्राथमिकता दिएर गाँजामा अनुसन्धान, उत्पादन उपभोग र निर्यातको नीति लागु गरिसक्दा समेत नेपाल भने किन अलमलमा छ ?