“आदिबिम्ब कथा संग्रहका लय अनि गतिहरू”

गोपिकृष्ण प्रसाई,

कथाकार रामकृष्ण आचार्य “बिशेष्य” नेपाली साहित्य जगतका एक ईमान्दार, सरल र उम्दा कोटीका भाषा मर्मज्ञ हुन भन्दा फरक नपर्ला । उनले गरेका भाषिक सम्पादन र व्याकरणका सिल्पगत टिपोटसंग म पनि राम्रैसंग परिचित छु, भाषागत निखार ल्याउन बिशेष्य त्यो कृतिको अन्तर सम्म पुगेर बल्झन्छन्, ब्युझिन्छन र परिपक्व निखार बोकेर निस्कन्छन्, उनले ल्याएको कृतिगत सुन्दरताले त्यस कृतिको प्रकास स्तम्भ दूर क्षितिज सम्म चम्किरहने हैसियत राख्छ, यो नै बिशेष्यको भाषिक परिष्कारको मौलिकपन पनि हो । यो भयो साहित्यकार बिशेष्यको सब्द चित्र । 

बिशेष्यले भरखरै राउटे बस्तीका कथालाई समेटेर आदिबिम्ब कथा संग्रह बाहिर ल्याएका छन् । यो संग्रह वास्तवमै राउटेहरूको जीवनचक्र, परंपरा,रहनसहन र मौलिकपन बुझ्ने गतिलो कडीको रूपमा लिएको छु मैले । मानव शास्त्री, समाज शास्री, विज्ञान र आधुनिक मानव सभ्यतालाई समेत चुनौती दिने राउटेहरूको जीवनशैलीले हामीलाई मध्ययुगीन  जीवन शैलीभन्दा अझ धेरै पछाडि फर्केर हेर्न बाध्य बनाउंछ । एउटै राष्ट्रमा एकातिर समाज पुरै उत्तर आधुनिक रेशमा छ भने अर्कातिर राउटे समाज जँगललाई आफ्नो जन्म थलो, कर्म थलो बनाएर त्यहाँको परिवेश भन्दा बाहिर निस्कनै मान्दैन, जंगललाई आफ्नो सबै थोक संझेर आदिकालदेखि त्यहीं रमाउने राउटेहरू आधुनिक सभ्यताका लागि चुनौती हुन् । 

सरकार र समग्र मानव समाजको प्रयासबाट पनि राउटे जंगलबाट बाहिर निस्कन नमान्नु एउटा अनौठो कुरा हुन सक्ला, तर जंगल भित्र आफ्नो स्वाभिमान देखिरहनु, रमाईरहनु चानचुने कुरा होईन । संसारमै भेटिएका सीमान्तकृत आदिम जाति मध्येका यी राउटेहरू नेपालमा  कुन कालखण्ड देखि विचरण गरिरहेका छन्, यो खोजीको बिषय पनि हो । यिनै राउटेका जीवनको सम्पूर्ण जीवन शैलीलाई मिहीन ढंगले केलाएर कथा मार्फत बिशेष्यले पाठक सामु राखेर खुला बहसको बिषय बनाईदिएका छन्, यस कुरामा बिशेष्य धेरै हद सम्म सफल पनि भएको पाएं मैले ।

बिशेष्य राउटे बस्तीलाई राम्रोसंग बुझेका स्रष्टा हुन् । नेपालको मध्य पश्चिमका जंगलमा रमाउने राउटेहरूका अनौठा र रमाईला व्यवहारहरू सयौंपल्ट देखेका लेखक राउटेका जीवन कथाहरू राम्ररी पर्गेलेर यो कथानक रूप दिन सफल भएका हुन भन्दा फरक नपर्ला । दैलेख निवासी लेखकले उहाँको बस्ती नजिकको जंगलमा व्यतित राउटेहरूको आरोह अवरोह पूर्ण जीवनको नाली बेलीमा बृहत दृष्टिगोचर लगाएर मात्र यति सुन्दर ग्रन्थ निर्माण गर्न सके, ग्रन्थ हेरे पछि बिशेष्यको पसीना र लगानीको मूल्य पाठकहरूले अवश्य बुझ्नेनै छन् ।

राउटे जातिको समाज कसरी चलेको छ ? राउटे समाजमा मुखियाको के भुमिका छ ?  राउटे मुखियासंग राउटे समुदाय कति बफादार हुन्छन ? मुखिया रिसायो अथवा मुखियाको कारबाहीमा पर्यो भने राउटेको हविगत के होला ? त्यो समुदायमा जिउन, रमाउन र खुसी हुन मुखियासंग पूर्ण रूपमा बफादार हुनुको बिकल्प राउटे समुदायमा देखिदैन । राउटे समुदायबाट अलग भएर स्थानीय अरू समुदायसंग घुलमिल भएर बस्न राउटेहरू सक्दैनन् त्यत्रो हिम्मत र आंट उनीहरूमा देखिदैन । हुन पनि सताब्दियौं देखिको त्यो कटु यथार्थ यो आधुनिक,साईबर दुनियांमा एकैचोटी घुलमेल भई सहजताका साथ रमाउनु त्यति सजिलो कहां छ र ? राउटे समाजमा मुखियाको सर्बोपरि भुमिकाको बारेमा कथाकार बिशेष्यले सांच्चैनै गतिलो चिरफार गरेका छन् ।

जन्म, मृत्यु र विवाह जस्ता सामाजिक संस्कारमा पनि मुखियाको निर्देशन, स्वीकृति र प्रमाणीकरणको अब्बल महत्व छ । बिशेष्यको बिष्लेषणले पनि देशको मुल कानुन भित्रका नेपाली राउटेको समाज संचालन गर्ने आफ्नै तौरतरिका र सीमाहरू छन्, जुन सर्बसाधरणको लागि अनौठा र खोजको बिषय हुन सक्छन् ।

राउटेका परंपरागत र संस्कारजन्य मनोवृतिलाई भित्री तहमा पुगेर विष्लेषण गर्न सफल विशेष्य त्यस समाजका प्रचलित मान्यताहरूलाई उजागर गर्न सफल देखिन्छन् । राउटे समाजमा दाजुको मृत्यु पछि भाउजु बेहोर्ने चलन, परिवारका एक जना सदस्यको मृत्यु भए पछि लासलाई त्यहीं गाडेर अर्का जंगलमा बसाइँ सर्ने राउटेहरूको चलन, गाउँले मान्छेलाई जंगलको राउटे बस्तीमा बास नदिएको प्रसंग,जंगलमा बाँदर गुनाको मासुमा हुरूक्क हुने राउटेहरूको प्रवृति, राउटे समाजमा भागेर बिहे गर्न हुंदैन भन्ने सामाजिक मान्यता, राउटे मुखियाको भीषण कारवाहीमा परेर सर्वसाधरण राउटेले भोगेका अत्यासलाग्दा व्यथाहरू, वन देवताहरूको पुजा गर्ने राउटेको चलन, राउटेहरूले आस्थाका केन्द्रनै बन देवतालाई मान्नु, राउटे मुखियाको अधिनायकत्वको विरूद्ध सल्बलाएका जनजागरणका लहरहरू,नेपाली राजनीति वृतमा राउटेको चर्चा, राजधानीमा राउटेको आगमन, सरकारबाट राउटेलाई सहयोग,जंगल बिनाससंग जोडिएको राउटेको जीवन प्रवृति, वन उपभोक्ता समितिको आक्रोस,संख्यामा गणना गर्नुको सट्टा परिवार संख्या गणना गर्ने राउटेको चलन जस्ता धेरैको लागि अनौठा खोजका बिषयहरूले भरिएका समाजका यी सीमान्तकृत जातिको आवाजलाई विशेष्यले आख्यान शील्पको सरल, सुन्दर कलेवरबाट सपाट रूपमा  पस्किने कठिन प्रयास गरेका छन्, जुन अत्यन्तै सर्हानीय पक्ष हो । 

राउटे बस्तीमा रजस्वला भएका स्त्रीलाई बस्ने छुट्टै छाप्रो हुनु, आधुनिकवाद र उत्तर आधुनिकवादका प्रसंगहरूमा राउटेको जीवनशैली जोडिनु,जाँड भनेपछि हुरूक्क हुने राउटेहरू, राउटे महिलाको अवस्थाको चित्रण, सुत्केरी आईमाई पनि चिसो भुईँमा सुत्न बाध्य हुनु पर्ने, आईमाईहरूलाई राउटे नाच नाच्ने, नाचेको हेर्ने, रमाईलो गर्ने छुट नहुनु, उनीहरूको रहर,रहरमा मात्र सीमित हुनु, पुरूष राउटेका तुलनामा स्वतन्त्रताहरू कैद गरेर बस्न बाध्य राउटे महिलाहरूको चित्रण लगायतका प्रसंगहरूबाट कथाका  फांटहरू तयार भएका छन् । यसरी  बिशेष्यले राउटेका जीवनका अनेकौं आरोह, अवरोह, घम्तीहरू, भंगालाहरूलाई बडो गहन ढंगले अनुसन्धान र खोज गरि जन समक्ष ल्याएका छन् । आदि बिम्ब कथा संग्रहले समाजबाट छुटेको, भौंतारिएको, मानव सभ्यताको क्रममा आफ्नो पनबाट टाढिन नमानेको अथवा परिवर्तनलाई आत्मसाथ गर्न नसकेको, अत्यन्तै मर्मस्पर्सी र कालखण्डका जीवन्त चरित्रहरू बोकेको जातिको सांगो, पांगोलाई उजागर गर्न सफल भएका छन्।विशेष्य एक सफल कथाकार हुन् ।

समग्रमा रामकृष्ण आचार्य बिशेष्यले एउटा युगबाट उछिट्टिएका मानवहरू आधुनिक युगमा पनि घुलनशील हुन नसकेको जीवन शैली, कथा, व्यथाको सजीव चित्रण गरेका छन्!हामी मध्ययुगीन अनेकौं कथा र ईतिहासको रोचक प्रसंगहरू सुन्न जिज्ञासु हुन्छौं, यता तिनै जीवित किवदन्तीहरू आफ्नै देशमा भएर पनि तिनीहरूको भावना र विचार हामीले बुझ्न नसकिरहेका रहेछौं, तिनै ऐतिहासिक रहनसहन र परंपरामा रमाएका पात्रहरू राष्ट्रको लागि खोज र अनुसन्धानको बिषय हुन सक्छन, बिशेष्यको पुस्तकले यस्तै गहन सवालहरू उठाएका छन्।

राउटेहरूको जीवनशैली र मनोविज्ञानलाई कथामा उतार्नु अघि उनले कति मेहनत गरे होलान ? कति बिषम परिस्थिति संग मुकाविला गरे होलान? यी सबै कुराको बाबजुद आफ्नो कठिन साधनाको प्रतिफल स्वरूप उनले नेपाली साहित्यलाई यो अनमोल रत्न दिएरै छोडे ।  देश र सरकारले पनि राउटेको उत्थानमा लाग्नु पर्नै यो समयमा बिशेष्यको यो पुस्तक राम्रो सन्दर्भ सामग्रीको रूपमा आउन सक्छ । यस्ता फरक धारका ज्वलन्त प्रसंगहरू समेटिएको खोजमुलक पुस्तकले नेपाली वांगमयलाई समृध्द बनाउने कुरामा कुनै शंका छैन् । विशेष्यको खोजमुलक लेखन यसरी नै निरन्तर अघि बढिरहोस्, हार्दिक शुभकामना !