नेपालको शासन प्रणालीमा अस्थिरता एउटा कहर बनिरहेको छ । यसले नत पाँचबर्ष निरन्तर सरकार संचालन गर्न दियो न विकास र समृद्धि । अस्थिर राजनीतिले सबैभन्दा खतरा राष्ट्रियता, सार्वभौमसत्ता र स्वाभिमानमा निम्त्याउने हो । प्रजातन्त्र/लोकतन्त्र पुनःस्थापना पछिका सरकार गठन, विघटन माओवादी हिंसा, राजाको हुकुमी शासन र बैदेशिक हस्तक्षेपले यही भन्छ । २०७२ मा नेपालले स्वतन्त्र निर्णय गरी नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले यसलाई थप प्रस्ट गर्छ ।

राजनीतिक अस्थिरता फैलिंदा देशमा अराजकताको अवस्था आउने, द्वन्द्व चर्कने, सत्ता स्वार्थका डरलाग्दा खेल खेलिने, घात–अन्तर्घातको दुश्चक्रमा राजनीतिक दलहरु फस्ने, देश भ्रष्टाचार र कमिशनको दलदलमा भासिने, तस्करीको संजाल मजबुत हुने अनि विकास र निर्माणका कामहरु सुस्ताउने देखिन्छ । यसले जनतामा चरम निराशा र कतिपय अवस्थामा आक्रोस र विद्रोह पैदा गर्छ । पूर्व राजा जहाँ पुग्छन्, त्यहाँ अपार जनसमुदायको भिड देखिनु र राजा आउ, देश बचाउको गगलभेदी नारा लाग्नु अनि एक्लो दुर्गा प्रसाईको पछि जनसागर उर्लिनुले  यसलाई थप पुस्टि गर्छ ।