आमियन्स क्याथेड्रल र वगैचा हेरी फ्रेन्च एटलाण्टिक महासागरको किनारमा केही समय विताई  सकेपछि हामी मोसेल र सेइल नदीको दोभानमा रहेको मेट्च शहर अवलोकन गर्न त्यतातिर हानियौ । पूर्वोत्तर फ्रान्समा अवस्थित यो शहर फ्रान्स जर्मनी र लक्जेम्वर्गका सीमामा अवस्थित रहेछ । ३००० वर्षको इतिहास वोकेको यो शहर स्वतन्त्र राष्ट्र रहेको वेलामा यूरोपकै सबैभन्दा पुरानो गणतन्त्र रहेछ । पहिले जर्मनीको लोरेन क्षेत्रमा परेको यस शहरको सस्कृति कला पूर्णरुपमा जर्मन प्रभावित रहेछ । प्राचीनकालमा मेडियोमाट्रिक जातहरु वसोवास गरेको यो ठाउँ इशापूर्व ५२ मानै जुलियस सिजरले जितेर रोमन साम्राज्यमा मिलाएका रहेछ ।

यद्यपि यो गणतन्त्र सन् १५५२ सम्म कायम रहेको र पछि सम्राट हेनरी द्धितियले मेट्चको गणतन्त्र विघटन गरी फ्रेन्च साम्राज्यमा मिलाएका रहेछन् । सन् १८७१ को फ्रान्को प्रसियन युद्धमा भएको जितसंगै मेट्च जर्मनीमा गाभिएको रहेछ । तर प्रथम विश्वयुद्धमा जर्मनीको हार भएपछि यो शहर पुन फ्रान्सको आधिपत्यमा गएको रहेछ । फेरी दोश्रो विश्वयुद्धको शुरुवातमै जर्मनले यस शहरमाथिको आफ्नो आधिपत्य कायम गरेको भएतापनि युद्धको अन्तमा जर्मनलाई हराइ अमेरिकी फौजले यस शहर कब्जा गरेपछि यसको आधिपत्य सधैको लागि फ्रान्सलाई सुम्पिएको रहेछ । मेट्चको हेर्न पर्ने कुरामा पम्पिडो म्यूजियम र अन्य धेरैकुरा भएतापनि हामीले त्यहा रहदाको छोटो समयमा त्यहाको सेन्ट स्टेफान क्याथेड्रल र शहर भित्रको एसप्लानाड नामक सुन्दर बगैचा अवलोकन गर्न भ्यायौं । 

सेन्ट स्टेफान क्याथेड्रल

यूनेस्कोको विश्व सम्पदा सुचीमा रहेको यस क्याथेड्रल भित्र संसारकै सबैभन्दा ठूलो कलाकृति पूर्ण शिशाको झ्याल रहेछ । यस क्याथेड्रलको प्राचीनरुप ५औं शताब्दिमानै खडा भएको रहेछ । तर गोथिक शैलीमा भने १३ औ शताब्दिमा शिशैशिशाको विशाल कलापूर्ण झ्यालहरुले बनेको यो क्याथेड्रल संसारभरी इश्वरको सुन्दर लालटिनको रुपमा चिनिदो रहेछ । यी झ्यालहरु विश्वख्यिात शिशाकलाकर्मी हेरमान फोन म्यून्स्टरले वनाएका रहेछन् । पहेलो चुन ढुंगाले वनेको यस क्याथेड्रललाई गजुरै गजुरले पूर्ण एक द्धारमात्र भएको क्याथेड्रल भनिदो रहेछ यस मानेमा यो क्याथेड्रल जर्मनी र फ्रान्स रहेका सबै गोथिक शैलीका क्याथेड्रल भन्दा भिन्न मानिदो रहेछ ।

क्याथेड्रल भित्रको प्रार्थना गर्ने विशाल हल जस्लाई नेभ र त्यो हललाई थेग्ने भीमकाय स्तंभहरु जस्लाई बट्रेस भनिन्छ ती ४२ मिटर अग्ला भएको कारण संसारको अग्ला स्तम्भ र चौडा हलमा पर्दा रहेछन् ।  क्याथेड्रल भित्रको नवशास्त्रिय र नवगोथिक साजसज्जा र सजावटको कारण पनि यो यूरोपका अरु क्याथेड्रल भन्दा विशेष मानिदो रहेछ । सन १७५५ मा यस क्याथेड्रलको पश्चिम मोहडामा ज्याक फ्रास्वांले वनाएको नवशास्त्रिय द्धारले रोयल एकेडेमिबाट विश्वप्रख्यात आकिटेक्ट पुरस्कार पाएको रहेछ । तर सन् १८७७ मा आतसवाजीको कारण हुन गएको आगलागीले यस क्याथेड्रलको पश्चिमी मोहडालाई नराम्ररी क्षति पुराएको रहेछ जस्को जिणोद्धार नव गोथिक शैलीमा सन् १८९८ मा शुरु गरी १९०३ मा सम्पन्न गरिएको रहेछ । 

एसप्लानाडा पार्क

क्याथेड्रल अवलोकन गर्ने कार्य सकिएपछि हामी वगैचा र प्राकृतिक पार्कको लागि अनुपम मानिने मेट्च शहरको एसप्लानाडा पार्क हेर्न तर्फ लाग्यौ । शहरिया प्रकृति र पर्यावरण संरक्षणको ज्यूदो उदाहरण रहेको यस पार्क हेर्न यूरोप र विश्व भरीकै पर्यटक यहाँ आउँदा रहेछन । नौ वर्ग किलोमिटरमा फैलिएको यस पार्कमा संसारभर पाइने फुल र वनस्पती तथा मेट्चका कला विद्यालयबाट वनाएका विभिन्न सालिक  र ग्रिक धार्मिक ग्रन्थमा उल्ल्ेखित जलपरी (निम्फ) हरुका मूर्तिहरु सहितका पानीका फोहरा पनि राखिएका रहेछन् ।

यस पार्कमा मनाइने चाड मध्य कार्नेभल पनि पर्दो रहेछ । जोन्स्टन भन्ने एक अंग्रेजले आफनो मृत्यु हुनु भन्दा ३ दिन अगाडि यस पार्कको विकाशको लागि भनेर १० हजार फ्रान्क चन्दा दिएका रहेछन सोही कारण मृत्यु पछि उनको सालिक त्यहाँ ठडाइएको रहेछ । त्यसै गरी क्रिस्टोफ फ्राटिन नामक पशुहरुको मूर्ति वनाउने कलाकारले सन् १८५० वनाएको नायाद नाम गरेको पित्तलको अरवी घोडाको मूर्ति आर्कषणको केन्दू विन्दु रहेछ ।