सम्शेर क्षेत्री,

सिन्धुपाल्चोक – राहदानी फाँटका कर्मचारीहरुको लापरबाहीले सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । यस्तै सास्ती खेप्नेमा परेकीछिन् चौतारासाँगढी – ८ इखु निवासी रसिना सिलवाल । उनी गत चैत्र ४ मा पासपोर्ट बनाउन राहदानी विभाग पुगिन् । कर्मचारीले नेपाल बैंकमा रु. ५००० जम्मा गरी भौचर ल्याउन सुझाए ।

रसिना नेपाल बैंक पुगिन र ५००० जम्मा गरेर भौचर लिएर आइन् । राहदानी फाँटका कर्मचारीले पासपोर्ट बनाउने प्रक्रिया अघि बढाए । रसिनालाई पासपोर्ट बनाएर दिइयो । तर उनको नाम भौचरमा उल्लेख गरिएको नामभन्दा फरक लेखिएको रहेछ । पासपोर्टमा Raslina Silwal लेखिएको देखेपछि रसिनाले नाम गलत लेखिएको सो फाँटका कर्मचारीलाई बताउँदै भौचरमा उल्लेखित नाम लेखिदिन अनुरोध गरिन् । तर फाँटका कर्मचारीले उनलाई पुनः नेपाल बैंक गएर अर्को ५००० को भौचर ल्याउनु भन्दै गर्जिए ।

रसिनाको गल्ति भएको भए अर्को भौचर काटेर ल्याउनु भन्नु उचित नै सायद हुन्थ्यो । भौचरमा उल्लेख भएको नाम नराखी कर्मचारीले नाम फरक पारेर पासपोर्ट दिने अनि सजाय सेवाग्राहीले भोग्नुपर्ने ? एउटा पासपोर्ट बनाउन डवल डवल दस्तुर तिर्नु पर्ने ? सम्बन्धीत निकायले राहदानी फाँटका गल्ति गर्ने कर्मचारीलाई कारवाही गर्नु पर्छ कि पर्दैन ? नाम सच्याएर अर्को पासपोर्ट दिनु पर्ने होइन ? सेवा ग्राहीलाई उल्टै थर्काएर आफ्नो गम्भिर गल्ति छोप्न खोज्ने ती राहदानी फाँटका कर्मचारीको हर्कत देखेर सबै अचम्मित छन् ।