काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान हृदयघातका कारण निधन भएको छ । 

आफ्नै निवासमा हृदयघातपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो। नेम्वाङलाई त्रिवि शिक्षण अस्पतालका चिकित्सकले आज बिहान १ बजेर ४० मिनेटमा मृत घोषणा गरेका हुन्। 

निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

उनको निधनप्रती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पुर्व राष्ट्रपती विध्यादेवी भण्डारी लगायत शिर्ष नेताहरुले दुःख व्यक्त गरेका छन् । 

सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उनका छोराहरु विदेशमा रहेकाले अन्त्येष्टिको टुंगो नलागेकापनि जुन दिन अन्त्येष्टि हुन्छ सोही दिन सार्वजनिक बिदा दिने सरकारले  निर्णय गरेको छ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट ल्याएर एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ। 

७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका हुन्। उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए। जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।

उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने। त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए। २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए।

उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने। त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले। २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए। २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने। उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते। २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे। नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए।

बीए र बीएल पढाइ पूरा गरेका उनी पार्टीको कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष बनेका थिए। उनी २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत चयन भएका थिए। उनी राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) मा थिए।

पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए। नेम्बाङ राजकाज मुद्दामा सात महिना जेल परे। उनी प्राध्यापक संघमा पनि सक्रिय थिए। नेम्बाङ नेपाल बार एसोसिएसनका महासचिव पनि भए। राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ।