काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगरभित्र सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका छन्। 

साम्पाङले सामाजिक सञ्जालमार्फत भारतीय चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर धरानमा हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौम सत्तामा आँच आउने कुनैपनि अभिव्यक्ति हामीलाई सह्य छैन। आपत्तिजनक शब्द नसच्चिएसम्म धरानका सिनेमा हलहरुमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको जानकारी गराउँछु।’

यस अगाडि काठमाडौं महानगर र पोखरा महानगरपालिकाकाले सोमबारदेखि महानगरमा भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। 

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन पत्राचार गरेको थियो। त्यसैगरी बाग्लुङ नगरपालिकाले पनि  भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ।