लहसाइ बैँसालु लालीगुराँससंगको पत्याइनसक्नु गरि लालीगुराँशको सौन्दर्यले वनपाखा उज्यालिएको छ ! साच्चै निरन्तर दौडिरहने बाहिरी बिचारको शृङ्खला ठ्याम्मै बन्द भएको छ । मन मोहित पारेको छ, एक से एक बैँसालु गुराँसको सौहाद्रता र सुरम्यताले । अन्नपूर्ण पदयात्राका रंगीबिरंगी गुराँसको संगतबाट रमाइलै रमाइलो, मिठासै मिठासको माहोल बनेको छ ।

पाँचै ज्ञानेन्द्रीयहरूको प्रभाव शरीरमा सिधा पर्छ । यतिबेला आखाको निम्ति पौष्टिक आहार रुपी थरीथरीका रंगमा सजिएका छन् आखाले नभ्याउने गुराँसे वन । जसको सौंन्दर्यपानमा रमाइरहेका छौँ । शरीरभरि हर्ष, उल्लास र उमंगको रंग भर्दै । मन विस्मृत भएका हरेक क्षण नयाँ, नौलो, र विविध लागिरहेछ । मानौं इच्छा, असन्टुष्टी र अभाव अलग भएपछि मनमा मात्र भाव छ । सायद यही मनको वास्तविक विश्रामलाई अर्को अर्थमा परम आनन्द, सुख र शान्ति भनिन्छ । सौर्न्दर्यको प्रतीक तथा हाम्रै गौरव र प्रतिष्ठा लालीगुराँससंग जत्ति लहसियो उत्ति आनन्द आउँछ ।

लालीगुराँस फुल्दा असली प्रकृति हास्छ । विपुल वैभव नाच्छ । वनमा फुल्ने गुराँसको बान्की गमला र बगैंचामा फुलाइएको फूलकोभन्दा बढी खुल्छ । अविदित बोल्ने गुराँस जस्तो बनफूलमा त चरी नै चिर्बिराउछ । त्यसै कहाँ भनिएको हो र ? बनेलु उध्यान भगवानको भवन हो । जहाँ ब्रह्मको बास हुन्छ । नेपाललाई चिनाउने बहुआयामिक महत्त्वको राष्ट्रिय फूल लालीगुराँसको फूलबाट अनेक थरिका औषधी बनाइन्छ । उच्च पहाडी तथा हिमाली भेग (४-१० हजार फिटसम्मको उचाइ)मा पाइने गुराँस सुकेपछिको धुलो मसला बनाउन पनि प्रयोग गरिन्छ ।

नेपालका अधिराज्यका अधिकाश स्थान (४३ जिल्ला) का ३२ थरी गुराँस वैशाख लागेपछि मात्र फुल्थे पहिले । तर अहिले भने विश्व तापमानको कारण चैतको शुरु मै फुलेर वैशाख पहिलो हप्तामा त लगभग निख्रन्छन् ।