परीक्षा कोइराला, काठमाडौँ

हालै लेखिका शोभा ज्ञवालीको संघर्ष कृति एक समारोह बीच विमोचन गरियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, समाजसेवी तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, डा. ज्ञानु पाण्डे, डा. नवराज लम्साल र डा. माला खरेलले संयुक्त रुपमा किताब विमोचन गरेका छन्।

उक्त समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज पनि नेपाली महिला त्यतिकै शोषित र पीडित छन् भन्दै लेखिका शोभा ज्ञवालीको कृति “संघर्ष “ले महिला जागरण लागि महत्वपूर्ण चेतना जगाउने छभन्ने कुरा बताए। उनले संविधानमा लिपिबद्ध महिलाको शैक्षिक, आर्थिक र राजनीतिक अधिकार कार्यन्वयन हुनु पर्ने कुरामा जोड दिए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिला सशक्तिकरण आजको आवश्यकता हो भन्दै महिलाको शारीरिक र मानसिक शोषण र घरेलु हिंसा भएको बताइन्। उनले यसको अन्त्य गर्न सर्वप्रथम महिलालाई सरकारले निशुल्क शिक्षा प्रदान गरि आत्मनिर्भर बनाउनु पर्ने र सीप मूलक तालिम दिनु पर्ने कुरामा जोड दिनु भयो। उनले सरकारले महिला जन्य अपराध रोक्न कडा कानुन बनाउनु पर्ने समेत बताइन्।

समालोचक नवराज लम्सालले कृतिले नेपालको महिलाले भोग्नु परेको समस्यालाई यथार्थ चित्रण गरेको भन्दै महिलाहरुले आर्थिक र सामाजिक पक्षमा खरो उत्रिनु पर्ने कुरामा जोड दिनु भयो। कथामा समस्या मात्र नभई समाधानका बाटाहरु छन्। उनी भन्छन् “यो कथा महिलाहरुका लागि टर्निङ्ग पोइन्ट हो”।

समालोचक डा. ज्ञानु पाण्डेले नारी र पुरुषको समाज निर्माणमा उतिकै महत्व छ। नारी मुक्ति आन्दोलन पुरुषको सहयोग विना सफल हुदैन। समाजले पुरुषलाई पीडकको रुपमा हेर्छ। पुरुष पीडक हुनुको कारण उत्खनन गर्नु जरुरी छ। यसले नारीको समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताइन्।

समालोचक डा. माया खरेलले कथामा नेपाली नारीहरुको दुख, व्यथा , रोदन, कुण्ठा दर्शाउदै, यसबाट मुक्ति पाउन स्वयम् नारी उद्यमशील बन्न प्रयत्न गर्नु पर्छ भन्ने संदेश दिएको बताइन्। यस कथामा नारी सम्पूर्ण हुन् - प्रेम , आस्था , बिश्वास, उर्जा भन्ने धारणा भएको बताइन्।

नेपाल रिपब्लिक मिडियाकी प्रमुख समृद्धि ज्ञवालीले आमाले पारिवारिक कर्तव्य वहनका अतिरिक्त कृति प्रकाशन गर्नुले सबै महिलाका लागि प्रेरणा बढेको बताइन्।

लेखिका शोभा ज्ञवालीले अन्तरक्रियाको सन्दर्भमा आफुले समाजका जीवन्त पत्रहरुलाई कथाका रुपमा ल्याई समाजका उत्पीडित महिलाहरुको समस्या समाधान गर्नका लागि कथा मार्फत मार्ग देखाएको जनाएकी छिन्। उनले महिला सशक्तिकरण शहरमा मात्र नभई नेपालको विकट गाउ घरमा पुराउने आफ्नो दृढ संकल्प रहेको बताइन्।