काठमाडौं - नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्। 

यो दिन दिदीबहिनीले दाजुभाइलाइ मेवा-मिष्ठान र दाजुभाइले दिदीबहिनीलाई दान-दक्षिणा तथा वस्त्र दिने परम्परा छ।  

यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ। पौराणिक कथा अनुसार परापूर्व कालमा मृत्युका राजा यमराज भाइटीकाको दिन आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन्। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो। बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ। 

यमपञ्चकभर यमराज यमुनाको घरमा बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरेर उपहार दिइन् अनि दाजुसँग आशिर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ। 

तिहारका यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि पाइन्छ। 

यस्तो छ पूजा विधि

दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको पान-सुपारी आदि दिएर भाइटीकाको निम्ता दिन्छन्। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, पर्शुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। 

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला चाहिन्छ। त्यसैगरि रोटी र मीठा-मीठा परिकार पनि तयार गरिन्छ।  

सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी र तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। 

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ। 

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। 

दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।