काठमाडौं - नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडादशैँ आजबाट सुरु भएको छ। यो पर्व १५ दिन धूमधामका साथ मनाइन्छ। पहिलो दिन घरका पूजाकोठा र दशैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ।

पूजाकोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दशैँघर लिपपोत गरिन्छ। त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ।   

जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएपनी कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसँगै रोप्ने गरेका छन्। विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यहीमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।   

घटस्थापनाको साइत बिहान १०:२३ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले यस दिनलाई घटस्थापना भनी निर्णय गरेको हो।   

घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाको दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ। यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले जनाएको छ।