काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ।

त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेट जाँदा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

घटस्थापनाको शुभ साइत १० गते बिहान १०:२३ मा 

समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको जनाएको छ। असोज ११ गते झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान १० बजेर ०५ मिनेटमा तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ बजेर ३५ मिनेटको छ। 

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ। राति भने कालरात्रि पर्व मनाइन्छ। असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ। 

असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ। नेपालीको महान् पर्व बडादसैंको यो मुख्य दिन हो। यस दिन बिहान ७ बजेर ३५ मिनेटमा तुलजा भवानी यात्राको साइत छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ बजेर ४७ मिनेटमा रहेको समितिले जनाएको छ। खड्गयात्रा पनि यसै दिन परेको छ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ। असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ।

- रासस